प्रधानमन्त्री र गृहमन्त्रीको आफन्तमोहविरुद्ध ७ दिने अल्टिमेटम

काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई जेनजी आन्दोलनको भावनाअनुसार काम गर्न नसकेको भन्दै माग पूरा गर्न २१ जेनजी समूहले ७ दिने अल्टिमेटम दिएका छन् ।

जेनजी दबाबमा जेनजी सरकार

गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्ना काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीको संगठन संरचना तथा दरबन्दी संशोधनको निर्णय गराएको र प्रधानमन्त्री सुशीला कार्कीले सहमति दिएका विवादित नियुक्तिको विषय सतहमा आएपछि जेनजी अगुवाहरूले सरकारलाई अल्टिमेटम दिएका हुन् ।

उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको मात्र नभई विभिन्न मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्रीहरूका गतिविधिको रिपोर्ट र जनतामा उब्जिएका आशंकाहरूलाई समेत उठाएर सरकारको ध्यानाकर्षण र चेतावनी दिएका हुन् ।

६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेटसहित राष्ट्रपतिबाट नियुक्ति पाएका प्रधानमन्त्री तथा मन्त्रीहरूका काम कारबाही जेनजी आन्दोलनको भावना र नियुक्ति हुँदाका म्यान्डेटविपरीत गएको भन्दै आन्दोलनमा सहभागी भएका जेनजी प्रतिनिधिहरूले सामूहिक रूपमा ध्यानाकर्षण गराएका हुन् ।

जेनजीले वर्तमान सरकार पनि विगतका सरकारजस्तै आफन्त र आसेपासेलाई नियुक्ति दिने र सरुवा, बढुवा तथा नीतिगत निर्णयमा भ्रष्टाचार गर्ने कार्यशैलीतिर लागेको आरोप लगाएका छन् । उनीहरूले सुशासन कायम गर्ने र विगतका मन्त्री तथा राजनीतिक दलका नेताहरूको सम्पत्ति रोक्का तथा अनुसन्धानको प्रक्रिया सुरु गर्ने लगायतका न्यूनतम कामसमेत सुरु नगरेको भन्दै ७ दिने अल्टिमेटम दिने अवस्थामा पुगेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन गएका जेनजी प्रतिनिधिहरूले भेटसमेत नपाएपछि ढोकामा ज्ञापनपत्र टाँसेर फर्किएका छन् । जेनजी आन्दोलनको भावनाअनुसार काम गर्न गठन भएको सरकारले पूर्ववती सरकारमा सामेल दलहरूका विकृत गतिविधिलाई निरन्तरता दिएकाले आफूहरूले खबरदारी गरेको जेनजी आन्दोलनका प्रतिनिधिहरूले बताएका छन् ।

आफैंले बनाएको सरकारले आन्दोलनका मागको स्मरणपत्र बुझाउन जाँदा भित्र छिर्न नपाएपछि जेनजी अभियन्ताहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका हुन् । मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू मागपत्र लिएर सिंहदरबार पुगेका थिए ।

अलपत्र जेनजी एजेन्डा
आन्दोलनका क्रममा सामाजिक सञ्जाल र सडकमा सबैभन्दा बढी नारा लागेका जेनजीका मागहरू वर्तमान सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका दल, विघटित प्रतिनिधिसभाका सांसद तथा मन्त्रीहरूको चल–अचल सम्पत्ति रोक्का गर्न र हालसम्म उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन आन्दोलनका क्रममा सबैभन्दा ठूलो स्वरमा अगाडि लागेर नारा लगाउने सुशीला कार्की नै प्रधानमन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री छन् । नियोजित उपेक्षाका कारण काम हुन नसकेको जेनजीको आरोप छ ।

सुशासनको यथार्थ कार्यान्वयन, भ्रष्टाचार उन्मूलन, राजनीतिक पारदर्शिता, न्यायिक तथा प्रशासनिक जवाफदेहिता, अवसर र सम्मानमा समानता, भविष्य–उन्मुख राज्य निर्माणका मागहरूलाई जेनजीले बुँदागत र एकीकृत रूपमा उठाउँदै आएका छन् ।

जेनजी निष्कर्षः सरकार राजनीतिक ‘कू’को बाटोमा
जेनजी प्रतिनिधिले सरकार गठन प्रक्रियाको अस्पष्टता र समर्थनका आधारहरूको अस्थिरतालाई लिएर राजनीतिक ‘कू’को आरोप लागिरहेको यथार्थलाई स्विकारेका छन् । संवैधानिक स्वीकृतिसम्बन्धी विवाद र राजनीतिक सहमतिको अभावका बीचमा सरकारको कार्यशैली अहंकारपूर्ण र एकपक्षीय निर्णयको निरन्तरता भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

सरकारको अनियमिततामा जेनजीको ध्यान
जेनजी प्रतिनिधिले सरकारका विवादित कामहरूमा प्रस्ट चेतावनी दिँदै आफूहरूले यस प्रवृत्तिको विरोध गरेको सम्झाएका छन् । उनीहरूले भारतसँग कमिसनमुखी विद्युत् सम्झौता गर्दै राष्ट्रलाई ४३ करोड रुपैयाँको प्रत्यक्ष नोक्सानी हुनेगरी ऊर्जामन्त्री कुलमान घिसिङको सक्रियतामा भएको सम्झौतालाई उठाएका छन् ।

जेनजी अगुवाहरूले अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानुनी कर–छुट दिएकामा समेत अनियमितताको स्पष्ट संकेत भएको भन्दै चेतावनी दिएका छन् ।

महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नी छोरी संलग्न स्वास्थ्य संस्थाले मानव अधिकार र न्यूनतम स्वास्थ्य आचारसंहिताविपरीत छात्राहरूको डिम्ब तस्करी गरेको घटनामा मुद्दा नचलाउने निर्णय गरेको विषयलाई समेत सरकार संरक्षित अपराधका रूपमा जेनजी प्रतिनिधिले चित्रण गरेका छन् ।

गृहमन्त्री अर्यालले आफ्नै काकालाई डीआईजी बनाउन दरबन्दी थप गरिएको, सुरक्षा निकायमा मनपरी सरुवा–बढुवा गरेको, विरोध प्रदर्शन दमन गर्ने नाममा युवाहरूलाई लक्षित धम्कीपूर्ण भाषण गरेको विषयमा पनि जेनजी प्रतिनिधिको आक्रोश छ ।

जेनजी प्रतिनिधिहरूले कार्की नेतृत्वको अन्तरिम सरकारले संविधानिक नैतिकता गुमाइसकेको दाबी गर्दै सरकारभित्र संगठित दुराचार, सत्ता दुरुपयोग र प्रशासनिक अपराध अन्त्यका लागि राजीनामा मागिएको जेनजी अगुवा विकेश शाहले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

कालोपट्टी बाँधेर सिंहदरवार गेटअगाडि मिरज ढुंगाना समूहको प्रदर्शन