एघारौँ उद्योग दिवस: गुल्मीमा उत्कृष्ट उद्यमी सम्मानित

गुल्मी । कृषि र पशुपालनमार्फत आयआर्जन गर्ने गुल्मीका उत्कृष्ट उद्यमी सम्मानित भएका छन् । एघारौँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले मंगलबार उद्यमीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा प्रत्येक पालिकाबाट दुई–दुई कृषक रहेका जना रहेका छन् । सम्बन्धित पालिकाको सिफारिस, कार्यालयको अनुगमन एवं कार्यविधिअनुसार सम्मानित गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यालयले आठजना जिल्लाका उत्कृष्ट उद्यमी छनोट गरी नगदसहित सम्मान गरेको छ । कार्यालयले खुलाएको सूचनाअनुसार पुरस्कारका लागि १६ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट अनुगमन गरी उत्कृष्ट आठजना छनोट गरी पुरस्कृत गरेको उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए । जसमा रेसुङ्गा नगरपालिका–८ स्थित भलामी कृषि फर्म र मुसिकोट नगरपालिका–१ स्थित रचेबाजियाल ड्रायगन, प्ययासन फलफूल विकास परियोजना फर्म प्रथम, रेसुङ्गा नगरपालिका–६ स्थित समिर कृषि तथा पशुपंक्षी फर्म र रेसुङ्गा नगरपालिका–८ स्थित न्यू पोखरेल बेकरी तथा चाउमिन उद्योग द्धितिय भएका छन् ।

त्यसैगरी मुसिकोट नगरपालिका–४ को सालिमे किबी तथा पशुपक्षीं फर्म, रेसुङ्गा नगरपालिका–४ को शैलेस सिलाई कटाई प्रशिक्षण केन्द्र, मालिका गाउँपालिका–६ को पार्वता अर्गानिक कफी नर्सरी र रेसुङ्गा नगरपालिका–१२ को गोपाल तरकारी घुम्ती फर्म तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुने कृषि फर्महरुलाई क्रमशः २० हजार, १० हजार र पाँच हजारका साथै खादा र सम्मान पत्रले सम्मान गरिएको कार्यालय प्रमुख राजिव अर्यालले जानकारी दिए । जिल्लामा कृषि र पशुको माध्यमबाट आय आर्जन गर्ने एवं समाजका लागि प्रेरणाका रुपमा रहेका कृषकहरुको हौसला बढाउने उदेश्यले सम्मान गरिएको कार्यालय प्रमुख अर्यालले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दोर्ण बहादुर खत्रीले किसानहरुको वास्तविक उथ्थान र विकासका लागि केही कानुनी झन्झटता हटाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै किसानहरुले बिनाधिलो ऋणको व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यक्रमकै अवसरमा पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्री, पूर्व अध्यक्ष टोपलाल अर्याल, जनार्दन घिमिरे र राजधानी राष्ट्रिय दैनिकका संवाददाता हुमाकान्त पोखरेललाई पनि सम्मान गरिएको छ । आमसंचारको माध्यमबाट नागरिकलाई उद्यम विकाससम्बन्धि समाचारहरु सम्प्रेषण गरेको भन्दै जिल्लामा क्रियाशिल चार पत्रकार पनि सम्मानित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

भोजपुरमा उद्योग दर्ता वर्षेनी घट्दो, खारेजी बढ्दो