काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई ‘बीबी माइनस’ क्रेडिट रेटिङ दिएको छ । यो रेटिङका कारण नेपाल वैदेशिक लगानीका लागि कम जोखिमपूर्ण मुलुकको दर्जामा रहेको पुनः प्रमाणित भएको छ ।
वैदेशिक लगानीका लागि कति महत्वपूर्ण ?
यस रेटिङसँगै भविष्यमा नेपालले अन्तर्राष्ट्रिय बजारमा सस्तो ब्याजमा पैसा जुटाउन मद्दत गर्छ । यस रेटिङले नेपालमा केही जोखिम छन् तर देशले ऋण तिर्न सक्छ, अर्थतन्त्र कमजोर छैन, सुधारको ठूलो सम्भावना छ भन्ने सन्देश विश्वलाई दिएको छ ।
यसैगरी, यसले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल लगानीका लागि तुलनात्मक रूपमा सुरक्षित गन्तव्य भएको सन्देश दिन्छ । तर, अझ राम्रो रेटिङ पाउन सरकारले सुशासन, राजस्व, वैदेशिक क्षेत्र सुधार, उत्पादन र जवाफदेहितामा अझ कडाइका साथ काम गर्नुपर्ने देखिन्छ ।
फिचले खासमा विश्वका विभिन्न मुलुकलाई ४ वर्गमा रेटिङ गरेको हो । ‘एएए’, ‘एए’ र ‘ए’ रेटिङ पाएका मुलुक धेरै बलिया देशमा पर्छन् । ‘बीबीबी’, ‘बीबी’ रेटिङ पाएका मुलुकलाई मध्यम स्तरका जोखिम भएको देशमा गणना गरिन्छ ।
यसैगरी ‘सीसीसी’, ‘सीसी’ रेटिङ पाएमा उच्च जोखिमयुक्त र ‘डी’ रेटिङ पाएमा ऋण तिर्न नसक्ने अवस्थामा पुगेको मुलुक भनेर चिनिन्छ ।
‘बीबी’ माइनस पाएपछि के हुन्छ ?
नेपालका लागि यो रेटिङ आकर्षक संकेत पनि र चेतावनी पनि हो । यसले नेपालमा दीर्घकालीन परियोजनामा लगानी बढ्ने सम्भावनाको बाटो खुल्छ । ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि, प्रविधि क्षेत्रमा नयाँ लगानी आउँदा रोजगार र उत्पादन बढ्ने सम्भावना हुन्छ । यसैगरी, संसारले नेपालको अर्थतन्त्र स्थिर दिशामा भएको संकेत पाउँछ, जसले सरकारी निर्णय र नीतिहरूप्रति विश्वास बढ्छ ।
अब के हुन्छ ?
फिचको यो मूल्यांकन २ वर्षका लागि नेपालले राखेको प्रणालीगत आर्थिक संकेतहरूको निरन्तरता हो । अब नेपालले तेस्रो वर्षका लागि पुनः नयाँ रेटिङ कम्पनी चयन गर्नुपर्नेछ । सरकारले दोस्रो वर्षसम्म फिचसँग सम्झौता गरेको थियो । यस मूल्यांकनले सुधारका प्रमुख क्षेत्र पहिचान गरिएका छन् ।
नेपालले रेटिङमा उक्लिनका लागि राजस्व संकलनमा सुधार, खर्चको प्राथमिकता निर्धारण, सुशासन र पारदर्शिता, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन र पुँजीगत खर्च समयमै गर्ने गर्नु आवश्यक देखिएको छ ।
फिचले राजनीतिक जोखिम उल्लेख गरेकाले अब सरकारले वित्तीय अनुशासन कायम राख्नुपर्नेछ ।
दक्षिण एसियामा कुन देशले कुन रेटिङ पाए ?
फिचले नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ दिएको हो । भारतले भने ‘बीबीबी’ पाएको छ । पाकिस्तानले भने ‘बी’ पाएको छ । श्रीलंकाले भने ‘सीसीसी’ पाएको छ ।
१८ देखि २० कात्तिकसम्म ‘फिच’को टोलीले दोस्रो वर्षको क्रेडिट रेटिङको स्थलगत मूल्यांकन गरेको थियो । मंगलबार फिचले सो मूल्यांकनको रिपोर्ट सार्वजनिक गरेको हो ।
नेपालको ‘बीबी माइनस’ रेटिङले अत्यधिक सहुलियतपूर्ण सरकारी तथा बाह्य ऋणभार, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रमा आधारित ठोस मध्यमकालीन वृद्धि सम्भावनालाई देखाएको छ ।
फिचले अविकसित अर्थतन्त्र, बाह्य झट्का र प्राकृतिक प्रकोपको जोखिम साथै प्रतिव्यक्ति जीडीपी र सुशासन मेट्रिक्सजस्ता कमजोर संरचनागत विशेषताले ‘बीबी’ श्रेणीका अन्य देशको तुलनामा रेटिङलाई सीमित गरेको छ ।
यो रेटिङ कसले दियो ? किन महत्वपूर्ण ?
फिच रेटिङ्स अमेरिकास्थित विश्वप्रसिद्ध क्रेडिट रेटिङ कम्पनी हो, जसले राष्ट्र, बैंक, कम्पनीदेखि लिएर ठूला परियोजनाको जोखिम मूल्यांकन गर्छ । यसको रेटिङले अन्तर्राष्ट्रिय लगानीकर्ता, विदेशी बैंक, विकास साझेदार र दातृ निकायले कुनै देशमा पैसा लगानी गर्दा कति जोखिम हुन्छ भन्ने बुझ्छन् ।
‘बीबी माइनस’ दिनुको कारण
फिचले नेपाललाई यो रेटिङ दिँदा केही मुख्य कारणलाई सकारात्मक रूपमा मूल्यांकन गरेको छ । नेपालले लिने अधिकांश ऋण विदेशी दातृ निकायबाट कम ब्याज र लामो भुक्तानी अवधि भएको हुन्छ । यसले नेपाललाई ऋण चुक्ता गर्न सजिलो बन्ने देखाउँछ ।
नेपालले विदेशबाट आउने रेमिट्यान्स, वैदेशिक सहायता र कम आयात खर्चका कारण ठोस विदेशी मुद्रा सञ्चिति कायम राखेका कारणले पनि यो रेटिङ दिएको हो । विदेशी मुद्रा ढुक्कसँग हुँदा देशले बाह्य झटका सामना गर्न सक्छ । फिचले मध्यम र दीर्घकालीन आर्थिक वृद्धिको मुख्य स्रोत जलविद्युत्लाई देखाएको छ । भारत तथा बंगलादेशलाई हुने विद्युत् निर्यातले नेपाललाई ठूलो फाइदा हुने अपेक्षा गरिएको छ ।
फिचले केही कमजोरी देखाएकाले नेपाल अझै उच्च रेटिङ ‘ए’ ‘बीबीबी माइनस’सम्म पुग्न सकेन । यसको मुख्य कारणमा अविकसित अर्थतन्त्र रहेको छ । यसको अर्थ उत्पादन, उद्योग, निर्यात र रोजगारीको उच्चस्तर विकास हुन बाँकी छ । शासन र प्रशासनिक कमजोरीका कारण पनि माथि नउक्लिएको हो । निर्णय ढिलो हुने, आय–व्यय व्यवस्थापन कमजोर रहेकोे, परियोजना समयमै सम्पन्न नहुने समस्या निरन्तर देखिएको फिचले उल्लेख गरेको छ ।






