भोजपुरमा उद्योग दर्ता घट्दो, खारेजीमा धेरै

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको संख्या बर्सेनि घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७–७८ मा ५ सय ९१ वटा उद्योग दर्ता भएकामा, गत आवको असार मसान्तसम्म १ सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।

उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको संख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्यांकअनुसार आव २०७७–७८ मा ५ सय ९१, आव २०७८–७९ मा ४ सय ४, आव २०७९–८० मा २ सय ६४, आव २०८०–८१ मा १ सय ३३ र आव २०८१–८२ मा १ सय १० वटा उद्योग दर्ता भएका छन् ।

पछिल्ला वर्षमा उद्योग खारेजीको संख्या पनि बढेको छ । गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी १ सय १२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए ।

‘भोजपुरमा घरेलु उद्योग र वाणिज्य फर्मको दर्ता बर्सेनि घट्दो क्रममा छ,’ निमित्त प्रमुख ढकालले भने, ‘गत आवमा १ सय १० वटा मात्र उद्योग दर्ता भएका छन् भने १ सय १२ वटा उद्योग तथा फर्म खारेजी भएका छन् ।’

भोजपुरमा उद्योगतर्फ ३ हजार ६ सय ६३ र वाणिज्यतर्फ १ हजार ८३ गरी जम्मा ४ हजार ७ सय ४६ वटा उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ । तीमध्ये करिब ५० प्रतिशत हाराहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले उद्योगको प्रवर्धन तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि दर्ताको संख्या भने बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिएको छ । गत आवमा कार्यालयले उद्यमीको प्रोत्साहनका लागि मागका आधारमा ९१ वटा उपयुक्त प्रविधि हस्तान्तरण गरेको जनाएको छ ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगका माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

भन्सार एजेन्टको आन्दोलनले जाँचपास रोकियो