मानिसहरुले शुभेच्छुकहरुको सदासयतालाई कमजोरी ठान्ने गम्भीर गल्ती गर्छन् र पछि पछुताउँछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पुर्णबहादुर खडकाले पार्टीभित्र हाल देखिएको आन्तरिक विवादलाई एकताबद्ध भएर समाधान निकाल्न गर्नु भएको अथक प्रयास र शालिन सदासयतालाई पार्टीका महामन्त्रीहरुले कमजोरीको रुपमा बुझ्ने गम्भीर गल्ती गरिरहेका छन् भन्ने सुनिन्छ ।
यदि यो सत्य हो भने त्यो वहाँहरुको गम्भीर भुल हुनेछ र वहाँहरुसँग पछुतोबाहेक केही पनि हात लाग्ने छैन । पार्टी सभापतिसँग ८५ प्रतिशत भन्दा बढी केन्द्रीय कार्य समितिका साथीहरु साथमा हुँदा पनि वहाँले अत्यन्त लचकताका साथ आन्तरिक विवाद मिलाउन जसरी मिहनेत गरिरहनु भएको छ, प्रशंसनीय छ ।
यसैगरि कार्यवाहक सभापतिले – “माफ पाउँ सबैसँग बैठक सारेकोमा । गाली सबैले मलाई गर्नुस् , जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ। जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारी रहन्छु म कार्यबाहक रहेसम्म ।” भनेर सामाजिक संजालमा लेख्नु विवाद समाधानको लागि देखाउनु भएको उच्चतम सदासयता हो, जुन प्रशंसनीय छ ।
अब प्रश्न उठछ – के आन्तरिक विवाद मिलाउने दायित्व आदरणीय पार्टी सभापति र कार्यवाहक सभापति को मात्रै हो र ? यो काम महामन्त्रीहरुको पनि होइन र ? के महामन्त्रीहरुले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सदासयता देखाउनु पर्दैन र ? के यसको लागि वहाँहरुले अग्रसरता लिनु पर्दैन र ?
के पार्टीका महामन्त्रीहरु पक्ष वा विपक्षमा बाँडिन मिल्छ र ? के पार्टीका महामन्त्रीहरुले आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा यसमा समस्यामाथि समस्या थपेर विवादलाई अझ बढी जटिल बनाउन मिल्छ र ? महामन्त्रीहरुसँग पार्टीका साथीहरुले अब के अपेक्षा गर्ने- विवाद कि समाधान ?
पार्टी सभापति र कार्यवाहक सभापतिले पार्टीको आन्तरिक विवाद मिलाउन जसरी सदासयता र लचकता प्रदर्शन गर्नु भएको छ र अग्रसरता लिनु भएको छ, महामन्त्रीहरुले पनि वहाँहरु भन्दा बढी लचकता र सदासयता प्रदर्शन गर्नुपर्छ र वहाँहरु भन्दा बढी विवाद समाधान गर्न अग्रसरता लिनु पर्छ ।
कुनै पनि देशमा बाहिरी देशको आक्रमण भयो भने त्यो देशको राजनीतिक दलहरु र राजनीतिक शक्तिहरुले सबै मतभिन्नताहरुलाई त्यागेर एकताबद्ध हुन्छन् र देशको कार्यकारी प्रमुखलाई साथ मात्र दिदैनन्, युद्ध जित्नको लागि आफ्नो सम्पुर्ण शक्ति र सामर्थ्य पनि लगाईदिन्छन् । आज नेपाली कांग्रेसमाथि पनि पार्टी बाहिरका मानिसहरुले आक्रमण गरेर केन्द्रीय कार्यालयदेखि अन्य कार्यालयहरु खरानी बनाए ।
यसैगरी पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि सांघातिक आक्रमण गरेर वहाँहरुलाई मरणासन्न हुने गरी रगताम्य पारे । वहाँहरुको लगायत पार्टीका धेरै नेताहरु र साथीहरुको घरहरु जलाए । नेपालको प्रशासनिक केन्द्र सिंहदरबार, सर्वेच्च अदालत लगायत अन्य अदालतहरु र संसद भवन पनि जलाए ।
नेपाल जलेको समयमा, नेपालको संविधान मूलबाटोबाट डिरेल भएको समयमा, नेपालको लोकतान्त्रिक राजनितिको भविष्यको गम्भीर चिन्ता गर्नु पर्ने समयमा र नेपालीको उज्जवल भविष्यको लागि अथक मिहनेत गर्नु पर्ने समयमा पार्टीमा आन्तरिक विवाद उचित देखिन्दैन ।
यस्तो बिषम र कठिन बेलामा सबै मतभिन्नताहरुलाई बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र सबै तिता पलहरु थाँती राखेर हामी सबैले आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलाई साथ दिनुपर्ने र सहयोग गर्नु पर्ने हामी सबैको अधिकार, कर्तव्य र दायित्व हो ।
अहिले आन्तरिक विवादको समय होइन, प्रबल आन्तरिक एकताको समय हो । देशमा उत्पन्न बिषम परिस्थितिको कारणले नेपाली कांग्रेस पनि अत्यन्त कठिन र जटिल परिस्थितिमा रहेको छ ।
यस्तो समयमा महामन्त्रीहरुले पनि सबै तितो पलहरुलाई विस्मृतिमा राखेर पार्टीलाई सुसंगठित गर्न पार्टी सभापति र कार्यवाहक सभापतिलाई खुल्ला दिलले सहयोग गर्नुपर्छ र वहाँहरुको हरेक कदममा पुर्ण साथ दिनुपर्छ । महामन्त्रीहरुले आन्तरिक विवादमा अल्झिनु वहाँहरुको लागि शोभायमान हुंदैन । विवाद समाधान गर्ने कार्यमा महत्वपु्र्ण भूमिका नै खेल्नु पर्छ, महामन्त्रीहरुले ।
महामन्त्रीहरु पार्टीको कार्य समितिको संख्या मात्र होइन, समस्याहरुको समाधान गर्ने सहयोगीहरु पनि हुन् । यसर्थ, पार्टीभित्र विवाद चुलीमा पुर्याएर महामन्त्रीहरुको नेतृत्व कौशल देखिन्दैन । उकालो लागेको आन्तरिक समस्याको पाइलाहरुलाई समाधानको मूलबाटोमा ल्याउने कर्तव्य र दायित्व पनि महामन्त्रीहरुको हो ।
यसर्थ, महामन्त्रीहरुले पार्टी सभापति र कार्यवाहक सभापतिलाई आन्तरिक विवाद समाधान गर्न सक्रिय सहयोग गरेर वहाँहरुको सदासयता र लचकतालाई साथ दिनु नै अहिलेको समयमा उचित कदम हुनेछ ।
गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।






