हेटौंडाको सडक विस्तारको लागि सुरक्षा समिति अलर्टमा

मकवानपुर । हेटौंडाको सडक विस्तारको लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको छ । सडक विस्तारको लागि सर्वपक्षिय सहयोगको लागि जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ । बजारको सुन्दरता र आवश्यकतालाई मनन् गर्र्दै सुरु गर्न लागिएको अभियानमा सबैको साथ र सहयोग प्राप्त हुने विश्वास जिल्ला सुरक्षा समितिको छ ।

यस विरुद्ध उत्रनेहरुमाथि कुनै अप्रिय घटना नहोस् भनेर प्रशासनले जिल्ला सुरक्षा समितिको बैठकमार्फत रुलिङ गरेको छ । सडक विस्तारको लागि आफ्नो संरचना र व्यवसाय हटाउन दिइएको समयसिमा नजिकिदै गर्दा थप आक्रोशित बन्दै आएका घरधनी व्यवसायीहरुलाई विकल्पमा सहमत भएर विस्तार कार्यमा सघाउन प्रशासनले आग्रह गरेको छ ।

“हामीले आफ्नो तर्फबाट सबैलाई अनुरोध गरेका छौ, उहाँहरुले साथ दिनुहुन्छ भन्नेमा आशावादी पनि छौ” प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने “केही अप्रिय घटना नहोस् भनेर सुरक्षा दस्ता तयार गरिएको हो ।”

यसको लागि नेपाल प्रहरीबाट करिव ३ सय जना, शसस्त्र प्रहरीबाट करिब २ सय जना, र आवश्यकता अनुसारको संङ्ख्यामा आर्मी फोर्सको मोवाइल टोली परिचालन गरिनेछ । सडक सिमाभित्रको संरचना हटाउनको लागि दिइएको समयावधि मंसिर २० गते सकिदै छ । २० गते नै डिभिजन सडक कार्यालयले सडक विस्तारको लागि डोजर लगाउन सुरु गर्ने बताएको छ ।

एकैदिन फरक फरक ३ स्थानबाट डोजर सुरु गरिने तयारी भएको बुझिएको छ, यद्यपि संरचना भत्काउन कहाँबाट सुरु गर्ने भन्ने’boutमा भने सुरक्षा अवस्थालाई ध्यानमा राखेर जानकारी गोप्य राखिएको छ।

यता सडक विस्तार विरुद्ध सडकमा उत्रिएका घरधनी तथा व्यवसायीहरुले हेटौंडाका मुख्य राजमार्गमा नाराबाजी गर्दै जवरजस्ती पसल तथा व्यवसायहरु बन्द गराउँदै हिँडेका छन्। मंगलबारदेखि नियमित जसो आन्दोलन भइरहेको छ भने बिहान केही समय खुलेका पसलहरु दिन घर्किदै जाँदा आन्दोलनमा परिणत हुन्छन् ।

सामग्री ‘सेल’मा, उपभोक्ताको भीड
सडक विस्तारको क्रममा भत्किने संरचनाभित्र रहेका पसलहरुले आफ्नो सामग्री छिटो विक्रीका लागि ‘सेल’ मा बजार खुल्ला गरेका छन् । बजारका सबैजसो पसलहरुमा समान ‘सेल’ मा खुल्ला भएपछि ग्रामीण भेगका सर्वसाधारणहरुको बजारमा भीड लागेको छ । केही सर्वसाधारणहरुले सेलबाट सामग्री उठाइ रहेका छन् भने केही व्यापारीहरुले नै सामग्री उठाएको देखिन्छ ।

“जाडोको कपडा मिलाएरै दिएको रहेछ, गाउँमा सानो पसल छ, उता विक्री हुन्छ कि भनेर किनेको” सामन लोड गर्दै गरेकी मनहरीकी कल्पना लामाले भनिन् । मुख्य रागमार्गको पसल संरचना भत्किने भएपछि शाखा बाटोमा रहेका व्यापारीहरुले समेत सामन किनिरहेको देखिन्छ ।

आन्दोलनरत केही समूहले पसलको सटर जबरजस्ति तान्दै आन्दोलनमा हिड्न दवाव दिदै गर्न थालेपछि व्यवसायिहरुले नै आफ्नो सटर बन्द गरेर फुटपातमा ‘सेल’ राखेका हुन् । बजारमा दर्शै जत्तिकै भीड देखिन्छ ।

सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घर टहरा हटाउने तयारी गरेको छ । जसमा २ वटा सरकारी बैकको संरचना समेत पर्ने डिभिजन सडक कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीले बताए । यसैगरी विस्तारीत क्षेत्रमा पर्ने धार्मिक सम्पदाका संरचनाहरु निर्माण कार्य सम्पन्न भएपछि उपयुक्त स्थानमा व्यवस्थापन गरिने अधिकारीले बताए ।

मकवानपुर उद्योग वाणिज्य संघले भने २५–२५ गज भत्काउन नपाउने भन्दै व्यापारीहरुलाई जुलुसमा उतारीरहेको छ । सडक डिभिजन हेटौँडाले २५–२५ गज सडक विस्तार गर्दा हेटौँडा उपमहानगरपालिकाले विस्थापित हुने व्यवसायीलाई बजार क्षेत्रमा व्यवस्थापन गर्न सकिने जनाएको छ । सडक विस्तार गर्दा विस्थापित हुने व्यवसायीलाई आफ्नो रोजीरोटी चलाउनको व्यवसायबाटै विस्थापित हुन नपरोस् भनेर स्थानीय तहले व्यवस्थापनको ३ वटा विकल्प दिएको छ ।

जसमा हेटौँडा बसपार्कमा रहेका ४० वटा व्यापारीक सटरमा आफ्नो व्यवसाय राख्न सकिने विकल्प छ । यसैगरी हेटौँडा ११ स्थित तरकारी फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत विस्थापित व्यवसायीलाई राख्न सकिने अर्को विकल्प रहेको छ । यता हेटौंडा ४ मा रहेको भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत व्यवस्थापन गर्न सकिने विकल्प दिइएको छ । बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटमा समेत व्यवसायीलाई व्यवस्थापन गर्न सकिन्छ । विस्थापित व्यवसायीको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गर्न मकवानपुर उद्योग वाणिज्य संघलाई हेटौँडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता