अहिले हामी भूमण्डलीकरणको गाउँमा छौं । भूगोलको दूरी इन्टरनेटले निकटीकरण गरेको छ । ‘डिजिटल प्लेट फर्म’ फेसबुक, युट्युब, टिकटक, एक्स, मेसेन्जर, इन्स्टाग्रामजस्ता सञ्जालले विश्व एक बनाएको छ । संसारका हरेक कुना कन्दरामा सेकेन्डभरमै सूचना, विचार, भावना, तस्बिर, भिडियो वायुवेगमा प्रवाह भइरहेका छन् । सामाजिक सञ्जाल ‘प्लेटफर्म’मा यति ठूलो तागत छ कि यसको प्रभाव एउटाबाट अर्को महादेशसम्म, पृथ्वीको एउटादेखि अर्को कुनासम्म एउटै गाउँमा बसेसरह सम्पर्कमा बस्ने, संवाद तथा अन्तक्र्रिया गर्ने सुविधा दिएको छ ।
नेपाल अहिले राजनीतिक दलदलमा भासिएको अवस्था छ । सामाजिक सञ्जालले राजनीतिक दल र नेतृत्वकर्ता’bout कटाक्ष गर्ने, तीखो प्रहार गर्ने भूमिका खेलेका छन् । सरकार, प्रशासनतन्त्र, देशमा हुने गरेको भ्रष्टाचार, अनियमितता’bout समाजलाई सुसूचित गराएको छ । भ्रष्टाचारविरुद्ध र ‘नेपोबेबी’को सञ्जाल आन्दोलनले पैदा गरेको सामाजिक मनोविज्ञानको नतिजास्वरूप गत २३ र २४ भदौको आन्दोलन भएको हो । नेपाली समाज र राजनीतिक दलले नसोचेको घटना घट्यो । जसका कारण केपी ओली सरकार अन्त्य भयो । यो अवस्था आउनुको पछाडि सामाजिक सञ्जालको भूमिका अहम् छ । सामाजिक सञ्जालका फाइदा हुँदाहुँदै यसको दुरुपयोगका कारण मिथ्या समाचार प्रवाह हुँदा समाजमा भ्रम उत्पन्न हुने गरेका छन् । दुई दिनको विद्रोहले सरकार सत्ताच्युत भएको नेपालको इतिहासमा यो पहिलो घटना हो । राम्रो नराम्रो जे भए पनि सामाजिक सञ्जालको रापतापमा तातेको सडकका कारण निर्वाचित सरकार ढलेर गैरराजनीतिक सरकार बन्यो ।
लोकतान्त्रिक मुलुकमा राजनीतिक दल र सरकार जनताको प्रत्यक्ष निगरानीमा हुन्छन् । नागरिकले राजनीतिक दलका नेताका कार्यशैली, उनीहरूले गर्ने व्यवहार, राम्रा–नराम्रा कार्य मूल्यांकन गरिरहेका हुन्छन् । अहिले नेपाली समाज अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक भरपुर उपयोग गरिरहेको छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो । तर, समाजमा अहिले बोल्न र लेख्न पाइने नाममा ‘फेक समाचार’ बनाउने, भिडियो निर्माण गर्ने र सम्प्रेषण भइरहेको छ । सञ्जाल प्रयोगकर्ताले ‘भ्युज’बढाउनका लागि ‘फेक न्युज’ तथा भिडियो प्रसारणका कारण कतिपय राजनीतिक दल, व्यक्ति र संस्था बदनाम भएका छन् ।
तानाशाही सरकारमा जनताले बोल्न पाउँदैनन् । लेख्न पाउँदैनन् । चुपचाप राज्य व्यवस्थाको विरोध गर्छन् । राणाशासनमा पनि जनताले सरकारले थाहा नपाउनेगरी विरोध गर्थे । सरकारले विरोधी पहिचान ग¥यो भने दण्डसजाय भोग्नुपथ्र्यो । शासकले विरोध गर्नेलाई कसैलाई गोली हाने, कसैलाई झुन्ड्याएर मारे त कोही कसैलाई सर्वस्व हरणसहित आजीवन जेलमा हाले । तर, लोकतन्त्रमा जनता जनार्दन हुन्छन् । अहिले यी जनार्दनले सामाजिक सञ्जाललाई सरकारको विरोध गर्ने ‘मिसायल’का रूपमा प्रयोग गरिरहेका छन् ।
२०१७ सालपछाडि राजा महेन्द्रले ‘राजनीतिक कू’ गरेपछि पञ्चायतकालमा सरकारको विरोध गर्न पाइ“दैनथ्यो । जसले विरोध गर्थे, उनीहरूमाथि निर्मम कारबाही हुने गथ्र्यो । पञ्चायती समय ‘जनकपुर काण्ड’, ‘टिम्बुरबोटे घटना’, ‘पिस्कर हत्याकाण्ड’, ‘सुखानी प्रकरण’जस्ता हत्याकाण्ड घटेको धेरैपछि मात्र जनता थाहा पाउँथे । राज्यले गर्ने कतिपय थिचोमिचो जनताले थाहा नै पाउँदैनथे । अहिले समाज खुला छ । मिडिया, छापाखबर तथा सामाजिक सञ्जालले राजनीतिक दल र राज्यका क्रियाकलाप ‘वाचिङ डग’को काम गरिरहेका छन् । नेपाली समाजले राजनीतिक व्यवस्था परिवर्तनका लागि लामो संघर्ष गरेको छ । जनताले व्यवस्था परिवर्तन गरे पनि सत्तामा जाने नेतृत्वले देशको अवस्था परिवर्तन गर्न सकेनन् । देश विकासको ‘भिजन, मिसन र एक्सन’ भएका राजनेता भएको भए प्रजातन्त्रको ३५ वर्षमा देशले विकासमा धेरै अगाडि बढिसकेको हुने थियो । जनताको चुलोचौकोमा लोकतन्त्र अनुभूति हुने थियो । यसो हुन सकेन । फलत ः सामाजिक सञ्जालले राजनीतिक दलको कमी–कमजोरी र राज्यको कार्यशैलीलाई समाजमा बिक्ने विषयवस्तु बनाउने मौका पायो । सामाजिक सञ्जालमा गरिने सरकारको आलोचना तथा विरोध हावाको वेगमा फैल“दा यसले सत्ताबाट सडकमा र सडकबाट सत्तामा पु¥याउने काम गरेको छ ।
त्यसो त, प्रजातान्त्रिककालमा ‘केही पनि हुँदै भएन’ भन्ने टीकाटिप्पणीमा सत्यता छैन । प्रजातन्त्र पुनःस्थापना भएपछि गाउँगाउँमा विद्यालय खोलिएका छन् । प्रजातन्त्र पुनःस्थापना हुनुअगाडि देशमा दुईवटा मात्र विश्वविद्यालय थिए । अहिले १८ विश्वविद्यालय सञ्चालनमा छन् । समाजमा पढेलेखेका मानिसको संख्यामा बढोत्तरी भएको छ । गाउँगाउँमा बाटा पुगेका छन् । खानेपानी, विद्युतीकरण, सञ्चार क्षेत्र आदिमा अनुभव हुनेगरी परिवर्तन भएको छ । तर, यी परिवर्तनले मानिसको दैनिकीमा आर्थिक सुधार गर्न सकिरहेको छैन । गरिबीको दुष्चक्रबाट नेपाली समाजले छुट्करा पाउन सकेको छैन । रोजगारीको अवसर भएन । त्यसैले राजनीतिक दल र राज्यको कार्यशैलीप्रति समाजमा आक्रोश बढेको छ । यो आक्रोश पोख्नका लागि सामाजिक सञ्जाल र सडक प्रयोग भइरहेका छन् ।
अहिले गाउँगाउँमा मोबाइल र इन्टरनेट पहुँच छ । हातहातमा ‘स्मार्ट फोन’ छन् । हरेक उमेर समूहका नागरिकले मोबाइल प्रयोग गर्ने गरेको देखिन्छ । तथापि सामाजिक सञ्जालको धेरैजसो प्रयोगकर्तामा युवापुस्ता नै हो । जोश, जाँगर र उत्साहको भारी बोकेको यस उमेर समूहले सामाजिक सञ्जालका माध्यमबाट ‘जेनजी रिभोलुसन’ गर्न सफल भयो । जेनजीको सञ्जाल क्रान्ति र सडकमा भएको अराजक गतिविधिको परिणामस्वरूप सरकार ढल्यो, देश बल्यो । देशलाई माया गर्नेको मन जल्यो । यस कोणबाट हेर्दा सामाजिक सञ्जाल र सडकको तागत सकारात्मक वा नकारात्मक जे भए पनि अत्यन्त प्रभावकारी हुने गर्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले सत्यतथ्य प्रवाह नगरी अनेक प्रकारका अफवाह फैलाउने गरेका छन् । हाम्रो जस्तो बहुजात, जाति, धर्म, संस्कृति, भाषाभाषी, रीतिरिवाज तथा भिन्न राजनीतिक आस्थामा विश्वास गर्ने मानिस बसोबास भएको देशमा ‘सहिष्णुमैत्री’ व्यवहारको आवश्यक हुन्छ । देशका सबै राजनीतिक दल खराब नहुन सक्छन् । समाजका सबै मानिस पनि खराब छैनन् । तर, अहिले राजनीतिक दलका नेतालाई एउटै डालोमा हालेर आलोचना हुने गरेको देखिन्छ । सामाजिक सञ्जालमा व्यक्तिगत वा समूहगत फाइदाका लागि गरिने ‘स्टन्ट’का कारण कतिपय गलत मानिस राजनीतिमा हावी छन् भने कतिपय असल चरित्र भएका व्यक्ति एवं व्यक्तिŒवलाई हिलो छ्याप्ने काम गरिएको छ । मिडिया निष्पक्ष हुन नसक्दा ‘भिजनलेस’, ‘आउटटेड’ नेता, तस्कर, भ्रष्टाचारी र बिचौलिया मिडिया छाइरहने गरेको देखिन्छ । यसप्रकारको सामाजिक सञ्जाल प्रयोगले समाजलाई हानि पु¥याउने गरेको छ ।
हाम्रो समाजमा शिक्षास्तर कमजोर छ । स्वार्थको रोटी सेक्नेको बिगबिगी छ । युट्युब, टिकटक वा अन्य सञ्जाललाई व्यावसायिक, स्वच्छ, निष्पक्ष नबनाई कमाइखाने माध्यम बनाउँदा असत्यले ठाउँ पाइरहेको छ । सत्यतथ्य लुकेको छ । अफवाह फैलाएर ‘भाइरल’ हुने डिजिटल दुरुपयोग कार्य समाजका लागि मन्द विषसरह हुन्छ । जेनजी विद्रोहमा हजारौंको संख्यामा ‘फेक आईडी’ बनाएर समाज भड्काउने काम भएको अनुसन्धानले देखाएको छ । एआई प्रयोग गरी नेतामा कुटपिट गरेका भिडियो अझै पनि हेर्न पाइन्छ । अफवाह फैलाउने, असत्य समाचार प्रसारण प्रयोग सरकारले नियन्त्रण प्रयास गर्दा उनीहरू नै उफ्रन्छन् । ‘स्वतन्त्रता हनन्’ भयो भनी ‘स्टन्ट’ गर्छन् । अहिले विधिको शासन हराएको छ ।
सामाजिक सञ्जाल प्रयोग पछिल्लो समय मानसिक विद्रोहको आगो सल्काउने ‘मिसायल’ बनेको छ । एकातिर सामाजिक सञ्जालले मानिसलाई सडकमा वा आन्दोलनमा उतारेको छ भने अर्काेतिर कतिपय व्यक्ति वा दललाई मान, मर्दन गर्ने काम गरेको छ । समाजमा वनावटी चित्र र असल चरित्रबीच भेद छुट्याउनसक्ने क्षमता अभाव भएको हाम्रोजस्तो समाजमा सामाजिक सञ्जालको प्रभाव सकारात्मकभन्दा नकारात्मक प्रभाव बढिपरेको देखिन्छ । यस सन्दर्भमा समाजले ‘कागले कान लग्यो’ भन्दैमा कागको पछाडि कुद्न हुँदैन, कान छाम्नु पर्छ ।
सामाजिक सञ्जालमा आएका समाचार, भिडियो, टीकाटिप्पणी, आक्रोशलाई सत्यतथ्य ठानेर आफ्ना धारणा निर्माण गर्ने कार्य नगरौं । सत्यतथ्यका आधारमा राजनीतिक तथा सामाजिक विचार निर्माण गरौं । ‘ढिलै भए पनि सत्यको जित हुन्छ’ भन्ने मान्यतामा विश्वास गरौं । सञ्जाल र सडक दुरुपयोग नगराैं ।
(लेखकको यो निजी विचार हो ।)






