– वार्षिक लक्ष्य: १४ खर्ब ८० अर्ब
– मंसिरसम्मको लक्ष्य: ५ खर्ब २० अर्ब ४४ करोड, संकलन : ४ खर्ब ९ अर्ब ७८ करोड
– मंसिरको लक्ष्य: ९५ अर्ब २० करोड, संकलन : ८० अर्ब २७ करोड
काठमाडौं । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सरकारी राजस्व संकलन अपेक्षाभन्दा कमजोर देखिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालय र राजस्व विभागको तथ्यांकअनुसार वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले सोमबार २९ मंसिरसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र उठाउन सकेको छ । यो मंसिरसम्मका लागि तय गरिएको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको ७८ दशमलव ७४ प्रतिशत मात्र हो ।
सरकारले मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वास्तविक संकलन ८० अर्ब २७ करोड रुपैयाँमा सीमित रह्यो । यसअनुसार मंसिर महिनाको प्राप्ति प्रतिशत ८४ दशमलव ३१ प्रतिशतमा झरेको छ । सोमबार २९ मंसिर एकै दिन ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।
राजस्व लक्ष्यभन्दा पछाडि पर्नुको प्रमुख कारण आयात घट्नु, उपभोग कमजोर हुनु र उद्योग–व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु रहेको सरकारी अधिकारीहरू स्वीकार गर्छन् । विशेषगरी करका मुख्य शीर्षक भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क सबैमा अपेक्षित सुधार देखिन सकेको छैन ।
आयात सुस्त हुँदा ठूलो धक्का
राजस्व संकलनको महत्वपूर्ण आधार मानिने भन्सार महसुलतर्फ चालू आवमा उल्लेख्य दबाब देखिएको छ । वार्षिक लक्ष्यअनुसार भन्सार महसुलबाट ठूलो हिस्सा उठाउने अपेक्षा गरिएको भए पनि मंसिरसम्मको प्रगति कमजोर बनेको छ ।
सवारीसाधन, विलासिताका सामग्री, निर्माण सामग्री र औद्योगिक कच्चा पदार्थको आयात अपेक्षाकृत कम हुँदा भन्सार महसुल संकलन लक्ष्यभन्दा निकै तल रहेको तथ्यांकले देखाउँछ । मंसिरसम्म भन्सार शीर्षकबाट उठेको राजस्व लक्ष्यको करिब चार भागको तीन भागमै सीमित छ । अघिल्लो आवको समान अवधिसँग तुलना गर्दा आयातको परिमाण घटेकाले भन्सार महसुलमा वृद्धिदर न्यून देखिएको छ । भन्सार प्रशासनका अधिकारीहरूका अनुसार आयातमा आधारित राजस्वमा सुधार नआएसम्म समग्र राजस्व लक्ष्य हासिल गर्न कठिन हुने संकेत देखिएको छ ।
आयातमा आधारित भ्याटः दोहोरो प्रभाव
आयातमा लगाइने मूल्य अभिवृद्धि कर (भ्याट) पनि राजस्वको अर्को ठूलो स्रोत हो । तर, आयात घटेकै कारण आयात भ्याटको संकलन पनि प्रभावित भएको छ । चालू आवको मंसिरसम्म आयात भ्याटबाट उठेको रकम लक्ष्यको करिब ८५ दशमलव १९ प्रतिशत हाराहारीमा सीमित देखिन्छ ।
अर्थ मन्त्रालयका अनुसार आयात भ्याटमा आएको गिरावटले समग्र भ्याट संकलनलाई कमजोर बनाएको छ । आयात कम हुँदा भन्सार महसुल मात्र होइन, त्यससँग जोडिएको भ्याट पनि घट्ने भएकाले राजस्वमा दोहोरो असर परेको हो ।
आन्तरिक भ्याटः उपभोग कमजोर
आन्तरिक कारोबारमा आधारित भ्याट संकलन पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । बजारमा माग कमजोर रहनु, व्यापारिक गतिविधि सुस्त हुनु र उपभोक्ता खर्च घट्नुले आन्तरिक भ्याट संकलन प्रभावित भएको देखिन्छ ।
मंसिरसम्म आन्तरिक भ्याटबाट उठेको राजस्व लक्ष्यको ९१ दशमलव १४ प्रतिशत हाराहारीमा सीमित छ । उत्पादन, थोक तथा खुद्रा व्यापार र सेवा क्षेत्रमा कारोबार विस्तार नहुँदा कर आधार फराकिलो बन्न नसकेको विश्लेषण अर्थविद्हरूको छ ।
व्यावसायिक नाफा घट्दा प्रभाव
सरकारी राजस्वको अर्को मुख्य आधार आयकर पनि लक्ष्यअनुसार संकलन हुन सकेको छैन । उद्योग–व्यवसायको नाफा घट्नु, नयाँ लगानी नबढ्नु र रोजगारी सिर्जना सुस्त रहनुले आयकर संकलनमा असर परेको छ ।
व्यक्तिगत आयकर, संस्थागत आयकर र अग्रिम कर कट्टी सबै शीर्षकमा प्रगति कमजोर देखिन्छ । मंसिरसम्म आयकरबाट उठेको राजस्व लक्ष्यको ६६ दशमलव ४४ रहेको तथ्यांकले देखाउँछ । निजी क्षेत्र चलायमान नबनेसम्म आयकर संकलनमा उल्लेख्य सुधार कठिन हुने सरकारी अधिकारीहरूको बुझाइ छ ।
अन्तःशुल्कः मदिरा र सुर्तीजन्य पदार्थमा दबाब
मदिरा, सुर्तीजन्य पदार्थ, इन्धन र केही सेवा क्षेत्रमा लगाइने अन्तःशुल्क पनि चालू आवमा अपेक्षाअनुसार बढ्न सकेको छैन । करछली र अवैधानिक कारोबार हुँदा अन्तःशुल्क संकलन प्रभावित भएको अनुमान गरिएको छ ।
यद्यपि, अन्तःशुल्क शीर्षकमा मंसिर महिनामा केही सुधार देखिए पनि समग्र पाँच महिनाको प्रगति लक्ष्यभन्दा तल नै रहेको छ । अन्तःशुल्क पनि ९० दशमलव २२ प्रतिशत मात्र रहेको छ ।
अन्य कर शीर्षकहरू जस्तै– सेवा शुल्क, दस्तुर, जरिमाना तथा गैरकर राजस्वबाट उठेको रकम पनि लक्ष्यअनुसार बढ्न सकेको छैन । सरकारी सेवा प्रवाह सुस्त हुनु र आर्थिक गतिविधि कमजोर रहनुले यी शीर्षकमा पनि सीमित मात्रामा आम्दानी भएको देखिन्छ ।
तुलनामा बढी तर लक्ष्यभन्दा कमजोर
अघिल्लो आव २०८१–८२ मा वार्षिक १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएको थियो । सो वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकामा २९ मंसिरसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको थियो ।
त्यस वर्ष मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालू वर्षको मंसिर महिनाको संकलन रकम अघिल्लो वर्षको तुलनामा केही बढी देखिए पनि लक्ष्यको अनुपातमा भने कमजोर बनेको छ ।






