‘धुरन्धर’को स्वदेशमै १२ दिनमा ४२८.५ करोड कमाई

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको ‘एक्सन क्राईम’ जनराको चलचित्र ‘धुरन्धर’ले बक्स अफिसमा एक प्रकारले व्यावसायिक सुनामी ल्याएको छ । सीमित चलचित्र मात्र सफल भएको र धेरै चलचित्र असफल भएको अवस्थामा यो चलचित्रको सफलताले बलिउड चलचित्रकर्मीहरूमा उत्साह जागेको छ । चिसोमा पनि यसको बक्स अफिस अहिले दर्शक भिडले तातेको छ ।

अघिल्लो शुक्रवार रिलिज भएको यो चलचित्र यति बेला १३ औँ दिनमा प्रदर्शन भइरहेको छ । दोस्रो सप्ताहान्तको नजिक पुगेको यो चलचित्रले भारतमा मंगलवार १२ औँ दिनसम्म ४२८.५ करोड रुपैयाँ कमाएको छ ।

‘धुरन्धर’ले बाह्रौँ दिन मंगलवार मात्रै भारतमा सबै भाषाको प्रदर्शनबाट लागि लगभग ३० करोड रुपैयाँको व्यापार गरेको छ । यो व्यापारसँगै चलचित्र ‘धुरन्धर’को १२ औँ दिनसम्मको कमाई ४२८.५ करोड रुपैयाँ पुगेको हो । गत ५ डिसेम्बरमा रिलिज भएको यो चलचित्रमा रणवीर सिंहसँगै सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, सारा अर्जुन, आर माधवन र राकेश बेदीको मुख्य भूमिका रहेको छ ।

यस्तै यो चलचित्रले १२ औँ दिनमा मंगलवारसम्म भारतसहित विश्वव्यापी रूपमा ६३९ करोड रुपैयाँ कमाइसकेको छ । जसले गर्दा अभिनेता रणवीर सिंहको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र पनि ‘धुरन्धर’ नै बनेको छ । यससँगै, ‘धुरन्धर’ले रणवीरको पछिल्लो सफल चलचित्र ‘पद्मावत’को विश्व बक्स अफिसको कमाइलाई समेत पछि पारेको छ ।

सन २०१८मा रिलिज भएको चलचित्र ‘पद्मावत’ले विश्वव्यापी बक्स अफिसमा जम्मा ५६० करोड रुपैयाँ कमाएको थियो । रणवीरको चलचित्र ‘धुरन्धर’ले ६ वर्षपछि उनकै अघिल्लो चलचित्रको विश्वव्यापी कमाइलाई पछि पार्दै रणवीरको बक्स अफिसमा क्रेज अझ सशक्त रहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ ।

रमाइलो प्रसंग के भने यो चलचित्रले रिलिज भएको पहिलो हप्तामा भन्दा दोस्रो हप्तामा राम्रो व्यापार गरेको छ । ‘धुरन्धर’ले पहिलो हप्ताको अन्त्यसम्ममा भारतमा जम्मा २०७.२५ करोड रुपैयाँ कमाइ भएको थियो । जबकि दोस्रो हप्ताको चार दिनमै यो चलचित्रको कुल कमाई ४२८.५ करोड करोड रुपैयाँ भएको छ ।

आदित्य धरद्वारा निर्देशित यो चलचित्र भारतीय राष्ट्रिय भावले ओतप्रोत छ । यो चलचित्रमा पाकिस्तानको अपराध संसारमा घुसपैठ गर्ने हमजा नामका भारतीय जासुसको निकै साहसिक कथालाई प्रस्तुत गरिएको छ । यस अघि भारतीय र पाकिस्तानी जासुसको प्रेम कथामा सलमान खान र कैटरिना कैफको चलचित्र ‘एक था टाइगर’को सिक्वेलहरुले दर्शकको मन जित्दै आएको थियो ।

चलचित्र ‘धुरन्धर’मा सन २००१ मा भएको भारतीय संसद् आक्रमण र २६÷११ को मुम्बई आतंकवादी आक्रमणको कथालाई वास्तविक जीवनका घटनाहरूसँग मेल खाने गरी कथा बुनिएको छ । चलचित्र ‘धुरन्धर’को रिलिज अघि नै यसको दोस्रो सिक्वेल पनि छायांकन गरिएको थियो । अहिले ‘धुरन्धर’को व्यावसायिक सफलताले हौसिएको यसको निर्माण टोलीले दर्शकको उच्च मागलाई ध्यानमा राख्दै ‘धुरन्धर–२’ लाई आगामी १९ मार्चमा रिलिज गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी समाधान गरिँदैछ काठमाडौं उपत्यकामा खाना पकाउने ‘एलपी ग्यास’ को समस्या