सिन्धुली । सुशीला घिसिङ बम्जनको हत्याकाण्डले चर्को आन्दोलनको रुप लिएको छ । सुशीलालाई जलाईएको घरमा दिनभर आफन्त र स्थानीयले तोडफोड गरेका छन् । आफ्नै परिवारबाट पेट्रोल छर्केर आगो लगाई हत्या गरिएकी शुशिलाको घरका सबै सिसाहरु तोडफोड गरेका छन् ।
प्रहरीले घर खोल्न ताल्चा दिएको, अभियुक्तहरुले घरभित्रको सबै सामानहरु झिकेर लगेको र फेरी सामान ओसार पसार गर्न पीडक पक्ष आएको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । घटनाका क्रममा छोडिएका प्रमाणहरु नष्ट गर्न लागेको, घरका धनसम्पत्ति लुकाउन लागेको, लास नबुझी भाग्न खोजेको लगाएतका आरोप आफन्त र स्थानीयहरुको रहेको छ ।
शवको पोष्टमार्टम गरेपछि प्रहरीले घरको ताल्चा खोल्न दिएको, सामानहरु ओसारपसार गरेको भन्दै उनीहरु आक्रोशित बनेर नारावाजी समेत गरे । मृतकका देवर र हत्यामा संलग्न सासु मायाँरानीका २ बहिनी र बहिनीका २ छोरीहरुले सामानहरु लिन आएपछि स्थानीयले उनीहरुलाई निस्कन नदिई तोडफोडमा उत्रिएका थिए ।
उनीहरुका आफन्तले सामानहरु ओसार्न आएपछि उनीहरु प्रहरी र पीडक परिवारसँग आक्रोशित बनेका हुन् । कोरियामा बैदेशिक रोजगारीमा रहेका मृतकका श्रीमानलाई घरमा आउन नदिएको र घरबाट शव नै नबुझी सबै भाग्न लागेको र भगाउनमा प्रहरीको मिलेमतो रहेको उनीहरुको आरोप छ । उनीहरुले सामान लिन आएका देवर सहित ५ जना आफन्तलाई दिनभर घरभित्रै घेरेर नारावाजी गरिरहे ।
घरभित्र रहेका पाँचजनाको उद्धार गर्न गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदी सहितको टोली हत्या भएकै घरभित्र छन् । उनीहरु बाहिर निस्कन पाएका छैनन । साँझ परेपछि उक्त स्थान झनै तनावग्रस्त बनेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार प्रमाणहरु सबै संकलन भएपछि ताल्चा खोलेको बताएका छन् । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी र जनपथ प्रहरी ठूलो संख्यामा खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।






