चलचित्र निर्देशनमा हास्य कलाकारहरूको आकर्षण

काठमाडौं । हास्यव्यंग्य अभिनेता अर्जुन घिमिरे (पाँडे)ले यस पटक आफ्नो निर्देशनमा गम्भीर चलचित्र ‘झरी पछिको इन्द्रेणी’ निर्देशन गरे । अर्जुनको भनाइमा हास्यव्यंग्य क्षेत्रमा काम गरेको उनका लागि गम्भीर विषयमा चलचित्र निर्माण गर्नु निकै चुनौती थियो । यो चुनौतीलाई उनले पार लगाएका छन् । अघिल्लो शुक्रबार रिलिज भएको यो चलचित्र यति बेला दोस्रो सातामा प्रदर्शन भइरहेको छ । पहिलो साताकै लयमा दोस्रो सातामा पनि आफ्नो चलचित्रको व्यापार अघि बढेको अर्जुनले दाबी गरेका छन् । आफ्नो लोकप्रिय टेली शृंखला ‘सक्किगोनी’ छाडेर चलचित्र निर्देशन रोजेका अर्जुन अब चलचित्र निर्देशनमा नै नियमित रूपमा अघि बढ्ने बताउँछन् ।

हास्यव्यंग्य टेली शृंखलामा निर्देशन तथा अभिनय गर्दै आएका कलाकारहरू पछिल्लो चलचित्र निर्माण निर्देशनमा सक्रिय हुन थालेका छन् । यस्तै थुप्रै हास्यव्यंग्य टेली शृंखलामा अभिनयसँगै केही शृंखला निर्देशन गर्दै आएका हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) पनि यस पटक ठुलो पर्दाको चलचित्र निर्देशनमा उत्रिएका छन् । उनको निर्देशन तथा निर्माणमा नयाँ नेपाली चलचित्र ‘गोवर गणेश’ अहिले पोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ । मरिचमानका अनुसार यो चलचित्र आउँदै १ माघबाट नेपालमा रिलिज गरिँदै छ । लामो समयसम्म हास्य टेली शृंखला ‘हल्का रमाइलो’को निर्देशन गरेका मरिचमानको अर्को टेली शृंखलामा ‘जुठे’ पनि त्यत्तिकै लोकप्रिय छ । उनले यो शृंखलाको अहिले पनि निर्माण, निर्देशनसँगै यसमा अभिनय पनि गर्दै आएका छन् । यसरी लामो समयदेखि हास्य टेली शृंखलाको निर्देशन गर्दै आएका कारण यस पटक ठुलो पर्दाको चलचित्र नै निर्देशन गर्ने साहस जुटेको उनले बताए । अग्रज हास्यव्यंग्य कलाकारहरूले चलचित्र निर्देशनमा सफलता हासिल गरेका कारण पनि आफू चलचित्र निर्देशनमा आएको पनि मरिचमानको कथन छ ।

‘सक्किगोनी’ हस्यव्यंग्य टेली शृंखलाको थुप्रै भागहरु विगतमा निर्देशन गरिसकेका दीपक प्रसाद आचार्य (काकु) पनि यस पटक चलचित्र निर्देशनमा उत्रिए । दीपकले निर्देशन गरेको नेपाली चलचित्र ‘परान’ले गत साता नै सफल व्यवसायको ५१ दिन मनाइसकेको छ । यो चलचित्रले नेपालबाट १८ करोड भन्दा माथिको व्यापार गरेको छ । अब चाँडै नै दोस्रो चलचित्रको निर्देशन तयारीमा आफू जुटेको दीपकले बताए । सानो पर्दाबाट ठुलो पर्दामा उक्लिनकै लागि आफूले ‘परान’को निर्देशन गरेको दीपकको कथन छ । हास्यव्यंग्य कलाकार एवम् निर्देशकको रूपमा आफू परिचित भए पनि यस पटक ठुलो चुनौती मोलेर गम्भिर कथावस्तुमा चलचित्र ‘परान’ निर्देशन गरेको बताउँदै उनले भने,‘हामीले हँसाउन मात्र हैन, गम्भिर विषयमा पनि चलचित्र बनाउन सक्छौँ भन्ने कुरा चलचित्र परानले अहिले प्रमाणित गरिदिएको छ ।’

दीपक प्रसाद आचार्य ‘काकु’ र अर्जुन घिमिरे (पाँडे)सँगै हास्यव्यंग्य शृंखला ‘सक्किगोनी’ निर्देशन गरेका कुमार कट्टेल ‘जिग्री’ले पनि गत वर्ष चलचित्र ‘लाज शरणम’ निर्देशन गरे । उनको चलचित्र भने व्यावसायिक रूपमा त्यति सफल हुन सकेन । चलचित्रले लगानी मात्र सुरक्षित गरेको निर्माता नवीन श्रेष्ठको कथन छ । तथापि पहिलो चलचित्र निर्देशनबाट राम्रो प्रतिक्रिया पाएको कुमारको भनाई छ । अहिले उनी आफ्नो निर्देशनमा तयार हुने दोस्रो चलचित्रको लागि स्क्रिप्ट लेख्दै छन् । आफूले जानेको पेसा नै अभिनय र निर्देशन भएकाले सानो पर्दाबाट आफू ठुलो पर्दामा उक्लिएको निर्देशक कुमारले बताए ।

नेपाली हास्य कलाकारहरू मध्य ठुलो पर्दाको चलचित्र निर्देशन यात्राको श्रेय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी)लाई जान्छ । लामो समयसम्म हास्य टेली शंखलाको निर्देशन पछि मह जोडी ठुलो पर्दाको निर्देशनमा उत्रिएका हुन् । उनीहरूले निर्देशन गरेको आधा दर्जन चलचित्र मध्य ‘दाल भात तरकारी’ बाहेक बाँकी सबै जसो चलचित्रले राम्रो व्यापार गरेको छ । सानो पर्दाबाट ठुलो पर्दाको चलचित्र निर्देशनमा मह जोडीले सफलता हासिल गरेपछि अरू हास्यव्यंग्य कलाकारलाई पनि चलचित्र निर्देशनमा प्रेरणा मिलेका नयाँ पुस्ताका निर्देशकहरू बताउँछन् ।

मह जोडी पछि सन्तोष पन्त पनि चलचित्र निर्देशनमा उत्रिए । आफ्नो एक समयका लोकप्रिय टेली शृंखलालाई उनले तीन वर्ष अघि आफ्नो र छोराको निर्देशनमा हास्य चलचित्र ‘हिजो आजको कुरा’ बनाए । तर यो चलचित्रले व्यावसायिक सफलता हासिल गरेन । त्यसपछि उनले ठुलो पर्दाको चलचित्र निर्देशनमा चासो देखाएका छैनन् ।

यति बेला चलचित्र ‘ककाकिकी’ निर्देशन गरिरहेको बिक्री अग्रवाल पनि हास्यव्यंग्य कलाकार हुन् । कमेडी च्याम्पियनमा प्रतियोगी भएर हास्यव्यंग्यमा आएका उनले लामो समयसम्म ‘कमेडी नाइट विथ च्याम्पिएन’को निर्देशन गरे । अरू हास्यव्यंग्य कलाकारहरूले चलचित्र निर्देशनमा सफलता हासिल गरेको देखेपछि उनी पनि चलचित्र निर्देशनमा जोस्सिँदै उत्रिएका छन् । आफ्नो यो चलचित्र हास्य प्रधान जनरामा निर्माण भएको उनले बताएका छन् । सानो पर्दाको सफलता पश्चात् आफू ठुलो पर्दाको चलचित्र निर्देशनमा उत्रिएको पनि उनले बताए ।

अभिनेत्री दीप श्री निरौला पनि हास्यव्यंग्य कलाकारहरू चलचित्र निर्देशनमा उत्रिनु सकारात्मक कुरा भएको बताउँछिन् । चलचित्र ‘छक्का पन्जा’ शृंखलाको निर्देशन गरेर व्यावसायिक सफलता हासिल गरेकी दीपश्री आफू भन्दा पछिल्ला पुस्ताका टेली शृंखलाका हास्य कलाकारहरूले चलचित्र निर्देशनमा सफलता हासिल गर्दा आफूहरूलाई पनि त्यत्तिकै ऊर्जा मिल्ने गरेको बताउँछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

आमिर खानको विवाह बिरुद्ध मौलानाको आपत्ती