काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता डा. रूपक घिमिरेलाई समानुपातिक बन्द सूचीअन्तर्गत दलित कोटाबाट उम्मेदवारका रूपमा अघि सारेको छ ।
रास्वपाको केन्द्रीय अभियान विभाग सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क समितिका संयोजकसमेत रहेका घिमिरेको उम्मेदवारीलाई युवा पुस्ता र ‘जेन्जी’ अभियन्ताले समर्थन जनाएका छन् ।
काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र छालारोग विशेषज्ञतामा एमडी अध्ययन पूरा गरेका घिमिरे भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिमप्राप्त चिकित्सक हुन् । उनले काठमाडौं मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा अध्यापन गरिसकेका छन् भने हाल दरबारमार्गस्थित ‘आवरण स्किन क्लिनिक’मार्फत सेवा दिँदै आएका छन् ।
नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य रहँदा घिमिरेले चिकित्सकीय लापर्बाहीविरुद्ध कडा प्रभावकारी कदम चाल्नुका साथै काउन्सिलका सेवालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न भूमिका खेलेका थिए । उनी स्वास्थ्य सेवा भनेको व्यवसाय नभएर नागरिकको मौलिक अधिकार भएको बताउँछन् ।

सामाजिक सेवामा समेत सक्रिय घिमिरे २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीको समयमा प्लाज्मा बैंक स्थापना अभियान तथा जाजरकोट भूकम्पपछि राहत वितरणमा समेत सक्रिय रहेका थिए ।
आफ्नो राजनीतिक एजेन्डामा दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने, युवालाई स्वदेशमै रोजगारी र भविष्यको सुनिश्चितता गर्ने, स्वास्थ्य नीतिमा सुधार तथा पारदर्शी शासन प्रणाली निर्माण उनको प्राथमिकता हो । ‘मेरो उम्मेदवारी पहिचानका लागि मात्र होइन, अनुभव र क्षमतालाई राजनीतिमा उपयोग गर्ने उद्देश्यले हो,’ घिमिरेले भने । उनी ‘एक भोट जिम्मेवारीको, एक समर्थन परिवर्तनको’ नारासहित निर्वाचनमा होमिएका छन् । त्यस्तै, जेन्जी पुस्ताका नेता सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता डा. घिमिरेलाई समर्थन रहेको जनाएका छन् ।
गुरुङले आफ्नो फेसबुक स्टाटसमा विगतमा हामी नेपालका संस्थापक उपसभापतिका रूपमा डा. घिमिरेसँग सहकार्य गरेको स्मरण गर्दै नेपाल परिवर्तनका लागि राजनीतिभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा उनले सधैं राख्दै आएको उल्लेख गरेका छन् । ‘नेपाल परिवर्तन गर्नु छ भने पार्टीमा गएर राजनीतिभित्रै बसेर लड्नुपर्छ, किनकि देश बदल्ने सपना चिच्याएर मात्रै हुँदैन, प्रणालीभित्र प्रवेश गरेर, जिम्मेवारी लिएर, सुधारको बाटो बनाउँदै सम्भव हुन्छ,’ गुरुङले लेखेका छन् ।






