धनकुटा । स्थानीय युवाहरूले धनकुटाको छथर जोरपाटी गाउँपालिका स्थित सिधुवा बजार आसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निक्कै सुन्दर बनाएका छन् ।
परिवर्तनका लागि युवा नामक संस्थाले सेल्फी जोन, हिल टप डाँडा, हरिराज खेवा स्मृति पार्क लगायतका स्थानमा ३० वटा नेपाली राष्ट्रिय झन्डा स्थापना गरिएको स्थापना गरेका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, स्थानलाई सुन्दर बनाउने र पहिचान दिलाउने उद्देश्यले झन्डा राखिएको संस्थाले जनाएको छ । संस्थाले आफ्नै टिमका सदस्य तथा दाताहरूको सहयोगमा झन्डा स्थापना गरेको संस्थाका संयोजक खेमराज सुब्बाले जानकारी दिए।
सुब्बाका अनुसार नेपाली राष्ट्रिय झन्डा देशप्रतिको माया र आफ्नो ठाउँप्रतिको पहिचानको प्रतीक तथा झन्डाले जात–धर्मभन्दा माथि उठेर सबै नेपालीलाई एउटै भावनामा बाँध्ने तथा साना बालबालिकादेखि वृद्धसम्मले नेपाली झन्डा देख्ने बित्तिकै नेपाललाई चिन्ने भएकाले यसले राष्ट्रिय भावना बलियो बनाउने भएकाले राष्ट्रिय झन्डालाई प्राथमिकतामा राखिएको हो।
समूहले आगामी दिनमा पालिकाका अन्य पर्यटकीय स्थलमा समेत राष्ट्रिय झन्डा स्थापना गर्ने जनाएको छ । यसअघि पनि संस्थाले हलहले–पटेक डाँडा सिँढी सरसफाइ, ध्वजे डाँडा–मार्ग पोखरी–तिन जुरे डाँडा क्षेत्र सरसफाइ, सिधुवा बजार मठ–मन्दिर, सिंहदेवी मन्दिर तथा भालु खोप मन्दिर सरसफाइ, साथै मिर्गौला फेल जीवन बचाउ अभियान, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरणजस्ता सामाजिक कार्य गर्दै आएको जनाइएको छ।






