समाज परिवर्तन चेतनबाट

नेपालले नयाँ संविधान र संरचना पाएको छ । तर, नवचेतना पाउन सकेको छैन । ‘नयाँ नेपाल’ निर्माणको लडाइँ अब सडक वा संसद्मै सीमित रहेन । समाज परिवर्तनका लागि समाज र मनमा समेत लडाइँ आवश्यक छ । चेतनशील, सभ्य र नैतिक समाजबिना कुनै पनि राष्ट्रको समृद्धिको कल्पना गर्न सकि“दैन । अबको युग ‘राजनीतिक परिवर्तनको मात्र होइन, सामाजिक चेतना पुनर्जागरण’को पनि हो । नेपाल राजनीतिक क्रान्ति पूरा गरिसकेको देश हो । तर, सामाजिक क्रान्ति पूरा हुन अझै बाँकी नै छ । समाज बदल्न सरकार होइन, नागरिक चेतना चाहिन्छ । जुन दिन हरेक नेपालीले आफ्नो सोच बदल्ने निर्णय गर्नेछ, त्यसदिनदेखि नै नयाँ समाज, नयाँ विचार र नयाँ भविष्य निर्माण सुरु हुनेछ । जहाँ इमानदारी व्यवहार हुनेछ र जिम्मेवारी संस्कार ।

‘समाज के हो’ भन्ने प्रश्नको उत्तर एकदमै जटिल र बहुआयामिक छ । समाज मानिसबीचको सम्बन्ध, विश्वास, सहयोग र सहजीवनको संरचना हो । यो केवल सांस्कृतिक परम्परा वा भौगोलिक एकाइ होइन । यो नैतिक चेतना र सामूहिक उत्तरदायिŒवको अभिव्यक्ति पनि हो ।

समाज साझा मूल्य मान्यता, संस्कृति, इतिहास र भविष्यको सपना जेलिएको जीवित संरचना हो । समाजमै व्यक्तिले आफ्नो पहिचान, सुरक्षा र अर्थपूर्ण जीवन अनुभूति गर्छ । ‘समाज कस्तो हुनुपर्छ ?’ भन्ने प्रश्नको उत्तर आदर्श खोजीमा निहित छ । आदर्श समाज त्यो हो, जहाँ न्याय, समानता र सद्भाव त्रिवेणी बनेर बहन्छ । समाजको संरचाना हरेक व्यक्तिले आफ्नो क्षमताको पूर्ण विकास गर्नसक्ने, आर्थिक, सामाजिक र लैंगिक विभेदको छाया नपरेको र लोकतन्त्र केवल शासन प्रणाली नभएर जीवनशैली बनेको हुनुपर्छ । स्वस्थ समाजमा श्रम, इमान र योग्यता नै पहिचानको मापक हुन्छ ।

नेपालले इतिहासभर विभाजित समाजको रूप देखेको छ । नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सुन्दर इन्द्रेणी हो । सदियौंदेखि सद्भाव र सहिष्णुताको कडीले नेपाली समाज जोडेको छ । व्यवहारमा नेपाली समाज पुरानै ढर्रामा अड्किएको छ । अन्धविश्वास, नातावाद, भ्रातृवाद, बेइमानी, जातीय विभेद, वर्गीय असमानता, क्षेत्रीय अन्याय र लैंगिक असन्तुलनले समाजको मेरुदण्ड नै कमजोर बनाएको छ । सतहमुनि यो समाज जटिल अन्तर्विरोधले जेलि“दै गएको छ । आजको नेपाली समाज सम्भावनाले भरिएको तर गतिरोधग्रस्त छ । घरभित्र राजनीतिक वाद, सडकमा धर्मको नाममा विभाजन र प्रशासनमा भ्रष्टाचार यी तीन तहको रोगले नेपाली समाजल थिचिएको छ । नेपाली समाजमा बढ्दै गएको राजनीतिक ध्रुवीकरण र असहिष्णुतालाई नागरिकस्तरबाटै चिर्नु उत्तम हुन्छ । फरक विचार वा आस्था बोक्नेलाई शत्रुका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गरी सहिष्णुता र विविधताप्रतिको सम्मानलाई प्रवर्धन गर्न अपरिहार्य छ । समाज परिवर्तनका लागि विमर्श र बहस आवश्यक छ, वितृष्णा होइन । नेपाली समाजको परिवर्तन अपरिहार्य छ । हामी बारम्बार परिवर्तन शब्द उच्चारण गर्दै आएका छौं । राजनीतिक मञ्चदेखि चिया पसलको गफसम्म यो शब्द उच्चारण गरिन्छ । तर, साँचो परिवर्तन के हो ? के यो केवल सत्ता परिवर्तन वा संविधान फेरबदल गर्नु हो ? कदापि होइन ।

समाजलाई चेतनशील, सभ्य र नैतिकवान बनाउने कार्यमा राजनीतिक नेतृत्व र राज्यको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । समाजको चेतनाको स्तर र नैतिकताको मापदण्ड स्थापित गर्ने काम राज्यको हो । राजनीतिज्ञ र राज्यका उच्च पदाधिकारीहरू समाजका “रोल मोडेल” हुन् । यदि रोल मोडेल नै अनैतिक, भ्रष्ट र स्वार्थी भयो भने समाज नैतिकवान बन्न सक्दैन । राज्यले विधिको शासनलाई कडाइका साथ लागू गर्दै शून्य सहनशीलताको नीति अपनाउनुपर्छ ।

साँचो परिवर्तन भनेको समाजको चेतना, संस्कार, मनोविज्ञान र अन्ततः चरित्रमा आउने गुणात्मक रूपान्तरण हो । समाज परिवर्तनमा केवल कुनै एक वर्ग वा संस्थाको मात्र भूमिका रहँदैन । समाज बदल्न हरेक नागरिक, हरेक संस्था र हरेक पेसागत समूहले आफ्नो भूमिका पुनव्र्याख्या गर्न आवश्यक हुन्छ । समाज परिवर्तन कुनै एक पक्षको एकल प्रयासबाट सम्भव हुँदैन् । यो त सामूहिक संकल्प र हरेक वर्गको जिम्मेवारीपूर्ण भूमिकाबाट मात्र सम्भव हुन्छ ।

नेपाली समाजमा अझै पनि ‘कसको घर, कुन जात, कुन पार्टी’ भन्ने सोच बलियो छ । मूल्य र नैतिकताभन्दा शक्तिको पूजा गर्ने प्रवृत्ति झनै बढ्दै गएको छ । राजनीति र पैसाले समाजको दिशा निर्धारण गर्न थालेको छ । अर्थतन्त्र र शिक्षामा केही सुधार भए पनि सोच, नैतिकता र व्यवहारमा खासै सुधार आएको छैन । भ्रष्टाचार, बेइमानी र अनुत्तरदायिŒव सामान्य व्यवहार बनिसकेको छ । व्यक्तिलाई साध्य मानी व्यक्तिको हित र कल्याण नै समाजको परम उद्देश्य हुनुपर्ने, कुनै पनि आधारमा कसैलाई पनि पाखा नलगाउने र सबैलाई समान अवसर प्रदान गर्ने, परम्पराको सम्मान गर्दै अन्धविश्वास र कुरीतिलाई प्रश्न गर्ने बौद्धिक क्षमता भएको, भावी पुस्ताको आवश्यकतासमेत ख्याल गरेर प्रकृतिसँग सन्तुलित सम्बन्ध राखेको, हामीले खोजेको समाजको स्वरुप हो । तर, हाम्रो समाजको वर्तमान स्वरूप जटिल अन्तर्विरोधको संगम हो । एकातर्फ हामीले २१औं शताब्दीको लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं र प्रविधि तथा विश्वव्यापीकरण लहरमा छौं, भने अर्कोतर्फ सामन्ती सोच, सामाजिक रूढिवाद र संरचनागत विभेदका जड अझै बलिया छन् ।

नेपालमा परिवर्तन आवश्यकता राजनीति र अर्थतन्त्रमा मात्र होइन, सबभन्दा पहिले सामूहिक ‘सोच’ र ‘मनोविज्ञान’मा छ । हामी ‘अग्रगमन’को नारा लगाउँछौं, तर व्यवहारमा जातीय विभेद, लैंगिक असमानता र सामाजिक कुरीतिलाई अदृश्य रूपमा संरक्षण गरिरहेका हुन्छौं । कानुनतः जातीय र लैंगिक विभेद उन्मूलन गरिए पनि व्यवहारमा गाडिएर बसेको जातीय छुवाछुत सोच र महिलालाई दोस्रो दर्जाको नागरिक मानने पितृसत्तात्मक मानसिकता जरैदेखि उखेल्न अहिले बाँकी नै छ । अनावश्यक रूढिवाद र अन्धविश्वासमाथि वैज्ञानिक चेतना र विवेक स्थापित गर्न पनि बाँकी नै छ । ‘समाज के हो’ भन्दा पनि ‘समाज कस्तो हुनुपर्छ ?’ भन्ने दिशामा हामी उन्मुख हुन आवश्यक छ । नेपाली समाजमा धनी र गरिबबीचको खाडल फराकिलो हुँदै गएको छ । सीमित वर्गले राजनीतिक र आर्थिक स्रोतमाथि कब्जा जमाएको अवस्था छ । परनिर्भरता तोडेर कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग विकास र ज्ञानमा आधारित अर्थतन्त्रमा जोड दिनुको विकल्प छैन । युवालाई विदेश पलायन हुन बाध्य पार्ने ‘रेमिट्यान्सको अर्थतन्त्र’बाट ‘उद्यमको अर्थतन्त्र’तर्फ मुलुक मोडिनुपर्ने आजको आवश्यकता हो । गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई नाफामुखी व्यापार नभई राज्यले प्रदान गर्ने मौलिक हकका रूपमा व्यवहारमा स्थापित गर्न जरुरी छ ।

राज्यले शिक्षालाई केवल साक्षरताको साधन नभई ‘चेतनाको औजार’का रूपमा विकास गर्नुपर्छ । पाठ्यक्रममा नैतिकता, नागरिक दायिŒव, वैज्ञानिक चेतना र आलोचनात्मक सोचलाई प्राथमिकता दिनुपर्छ । भ्रष्टाचार गर्नेलाई होइन, अनुसन्धान गर्नेलाई सम्मान गर्ने संस्कृति शिक्षाले सिकाउनुपर्छ । सञ्चार माध्यमलाई लोकतन्त्रको चौथो अंक भनिएको हो । समाज बदल्न सञ्चारमाध्यमको भूमिका तटस्थ समाचार प्रेषकभन्दा माथि उठेर सामाजिक न्यायको आवाज बन्नुपर्छ । सतही सनसनीपूर्ण समाचारभन्दा माथि उठेर गहन अनुसन्धानमूलक पत्रकारितामा ध्यान दिनुपर्छ । सञ्चारमाध्यमले विवाद होइन, विचारलाई प्राथमिकता दिनुपर्छ । सञ्चारमाध्यम आफैँमा नैतिकवान, वस्तुनिष्ठ र जिम्मेवार बन्न जरुरी छ । नेपालमा लोकतन्त्र त आएको छ, तर लोकतान्त्रिक संस्कार अझै बलियो हुन सकेको छैन् । ‘लोकतन्त्र’को खोलभित्रको ‘कुलीन तन्त्र’मा समाज रुमलिरहेको छ ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी