विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर भएको मृत्यु पश्चात् उत्पन्न तनाव मत्थर पार्न प्रशासन र स्थानीय प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ।
उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पत्रमा उल्लेख छ।
प्रशासनले मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको छ। साथै, मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा उनलाई नियमानुसार आवश्यक सहयोग र सहजीकरण सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले गरिदिने पनि सहमति भएको छ।







