धनगढी । भारतको पलिया क्षेत्रमा नेपाली लागूपदार्थ सेवनकर्ताहरूको गतिविधि बढ्दै गएको छ । सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको एउटा भिडियोमा एक नेपाली युवती र केही युवाहरू उखुको खेतमा लागूपदार्थ सेवन गरिरहेको देखिन्छ ।
स्थानीय स्रोतका अनुसार पलियामा ब्राउन सुगर, स्म्याक तथा मेडिकल नशाको अवैध कारोबार खुलेआम भइरहेको छ । केही दिनअघि पलिया प्रहरीले ठूलो कारबाही गरे पनि केही समय नबित्दै अवस्था फेरि उस्तै भएको बताइएको छ ।
केही दिनदेखि सामाजिक सञ्जालमा निकै फैलिएको एक भिडियोमा धनगढी घर बताउने एक युवती ब्राउन सुगर सेवन गरिरहेको देखिएकी छन् । उनी केही युवासँगै उखुको खेतमा ब्राउन सुगर सेवन गरिरहेकी देखिएकी छन् ।
ती युवती धनगढीबाट बन्टी नाम गरेका भारतीय केटासँग पलिया गएको सम्वादमा खुलेको छ । उनी आफूसँग पैसा नभएको र गोली खाएको बताएकी छन्। धनगढीको भन्सार क्षेत्रमा बस्ने बताउने ती युवतीसँगै देखिएका युवाहरू अश्लील कुराकानी गरेको सुनिन्छ ।
चिन्ताजनक कुरा के छ भने, प्रहरी क्षेत्राधिकारी पलियाको कार्यालयबाट केही कदमकै दूरीमा नेपाली युवक–युवतीहरू लड्खडाउँदै हिँडिरहेको देख्न सकिन्छ । यसले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको स्थानीयले बताएका छन् ।
भाइरल भिडियोमा केही स्थानमा आपत्तिजनक शब्द प्रयोग गरिएको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका युवायुवती लागू औषध सेवन गर्न भारतीय सीमावर्ती बजार जाने गरेको र त्यहाँ खुलेआम मेडिकल ड्रग तथा ब्राउन सुगर बिक्री हुने गरेको स्थानीयको दाबी छ । भारतीय नागरिकहरूले नेपालसँग जोडिएको भारतीय सीमा क्षेत्रका बजारमा लागू औषधको कारोवार हुने गरेको र सुरक्षा एजेन्सीहरू मौन रहने गरेको बताएका छन् ।






