विवादै विवाद झेल्दै दलका बन्दसूची, समानुपातिकमा ६१ को नाम फिर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १७ राजनीतिक दलका ६१ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । राजनीतिक दलका आन्तरिक विवाददेखि केही क्लष्टर नमिलेका कारण यति ठूलो संख्यामा फिर्ता लिनेहरू बढेका हुन् । निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि दिएको समय सोमबार साँझसम्ममा कार्यालयमा पुगी नाम फिर्ता लिने दल र उम्मेदवारको आवश्यक कागजात परीक्षण गरी फिर्ता लिनेको नामावली मंगलबार सार्वजनिक गरिने सहायक प्रवक्ता सीता पुन श्रीषले जानकारी दिइन् ।

प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गरेका राजनीतिक दलहरूको विवादकै कारण पनि फिर्ता लिनेको संख्या बढेको हो । पुराना दलहरूले समानुपातिकमा नेताका नजिकका व्यक्ति, आफन्त, व्यापारीहरू राखेको भन्दै आरोप लगाउने नयाँ र साना भनिएका दलमा झन् विवाद देखिएको छ । समानुपातिकतर्फको बन्दसूचीका नाममा भएका विवादका कारण नाम फिर्ता लिनेको संख्या बढेको छ । समानुपातिकमा पेस भएकामध्ये सबैभन्दा धेरै नाम जनमत पार्टीबाट पेस भएका उम्मेदवारहरूले फिर्ता गरेका छन् ।

जनमत पार्टीबाट २० जनाले निवेदन दिएका छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी परेको छ । रास्वपाका १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, राप्रपाको १२ जना, नेकपा एमालेको ५ जना, विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जना रहेका छन् । निवेदन दिएका दल वा उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ताको जानकारी मंगलबार दिइने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिइएको खाली स्थानमा माघ २ गतेसम्म नयाँ उम्मेदवारको नाम पेस गर्ने र ४ गते बन्दसूचीको प्रारम्भिक नामावली आयोगले सार्वजनिक गर्ने कार्यसूची तयार रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सेलिब्रेटीदेखि व्यापारीले रास्वपामा विवाद
समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा रास्वपाले पेस गरेका नाममा सेलिब्र ेटीदेखि व्यापारी र पहुँचवालाहरू राखिएको भन्दै विरोध भएपछि धेरैले फिर्ता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता प्रक्रियाबाट आएका उज्यालो नेपाल पार्टी (उनेपा) र विवेकशील साझा पार्टीबाट प्रतिनिधित्व गर्नेहरूले पनि एकता प्रक्रियाका असन्तुष्टिलगायतका कारण उम्मेदवारी फिर्ता गरेका छन् ।

चर्चित नेतृ रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ताका लागि निवेदन दिएकी छन् । रास्वपाको विधि मानिएको प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याएकी रञ्जुलाई १० औं नम्बरमा राखेर निर्वाचन आयोगमा पेस गरेदेखि नै असन्तुष्टि व्यापक थियो । अन्ततः उनले पनि प्रतिनिधिमार्फत नाम फिर्ता गराएकी छन् ।

रास्वपाबाट खस आर्यको पहिलो नम्बरमा नाम राखेका सहमहामन्त्री विपिनकुमार आचार्य, डा.अरनिको पाँडे, आसिफ शाह, महेन्द्र लावती, डा.रामजी रामलगायत छन् भने महिलातर्फबाट उम्मेदवार भएका मोहना अन्सारी, त्रिशला गुरुङ, सिर्जना ओली (सिर्ज ‘) लगायतले फिर्ता लिएका छन् ।

जनमतका २० को फिर्ता, पार्टी त्याग्ने घोषणा
जनमत पार्टी नेपालका तर्फबाट निर्वाचन आयोगमा पेस भएको सूचीका १९ जनाले सामूहिक रूपमा फिर्ता लिएका छन् । समानुपातिकतर्फको खस आर्यमा ३–३ करोड रुपैयाँ लिएर नाम राखिएको भन्दै उम्मेदवारी फिर्ता लिने समूहले पत्रकारहरूसँग कुराकारी गर्दै आफूहरूले सामूहिक रूपमा पार्टी परित्याग गर्ने जनाएका छन् । पार्टीको खस आर्य महिला संघकी संयोजक लक्ष्मी खड्काले समानुपातिकमा आर्थिक चलखेल भएको बताउँदै पार्टी त्याग्ने घोषणा गरेकी हुन् ।

राप्रपामा कुटाकुट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिकतर्फको सिट युवा महिलाहरूले कब्जा गरेको भन्दै पाका महिलाहरूले रुवावासी गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भएको छ । राप्रपाका महिला नेतृहरू कोही अनसन बसेका छन् भने कोही नाम सच्याउन ज्ञापनपत्र बोकेर कार्यालय धाइरहेका थिए । राप्रपाले चर्चित नेतृहरू खुश्बु ओली, नेता बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाको नामले विवाद चर्किएको हो ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत महिला नेतृहरू यसको विरोधमा आन्दोलित छन् । समानुपातिकमा अन्यायपूर्ण व्यवहार भएको भन्दै अनसनमा बसेकी नानीमैयाँ आचार्यलाई पार्टी कार्यालयबाट बाहिर जान भन्दै हातपात भएको प्रवक्ता शाहीले बताएका छन् । पार्टी संस्थापन निकट महिलाहरूले हातपात गरेको आचार्य निकटले बताएका छन् । विवादका कारण राप्रपाबाट फिर्ता हुनेको संख्या १० पुगेको छ ।

नेकपामा जेनजी हटाएर नेतापत्नी र शीर्षनेता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा जेनजी स्पिरिटकी नेता मानिने पञ्चा सिंहको नाम हटाएर देवेन्द्र पौडेलकी पत्नी बलावती शर्माको नाम राखेकाले विवाद भएको थियो । बेपत्ता दण्डपाणि न्यौपानेकी छोरी निशा न्यौपाने अधिकारीको पनि नाम पछाडि सारिएको छ । नेपाली कम्युनिस्ट पार्टीमा एकता प्रक्रियामा आएका नेकपा एकीकृत समाजवादीका शक्तिशाली नेता मानिने प्रमेश हमाललाई एक नम्बरमा राखिएको छ । युरोपका पूर्व राजदूत भइसकेका नेता पार्टीभित्र निरन्तर अवसर पाइरहनेमा पर्छन् ।

उम्मेदवारी दिने जनप्रतिनिधिको पद स्वतः खारेज
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिको हकमा उम्मेदवारी दर्ता गरेबितिक्कै अघिल्लो पद स्वतः खारेज हुने प्रष्ट पारेको छ । बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा अस्पष्ट हुनु नपर्ने भन्दै आयोगले प्रष्ट पारेको हो ।

आयोगका अनुसार संघीय संसदको सदस्य, प्रदेशसभा सदस्य, गाउँसभाको सदस्य वा नगरसभाको सदस्य पदमा बहाल रहेको व्यक्तिले संघीय संसद वा प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिनेछ ।

आयोगले ‘मनोनयनपत्र दर्ता’ भन्नाले प्रत्यक्षतर्फको उम्मेदवारी मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची दर्ता भएको अवस्थालाई समेत जनाउने स्पष्ट पारेको छ । यस अर्थमा १३ पुसदेखि उम्मेदवारी दर्ता सुरु भईसकेको छ । समानुपातिकतर्फको उम्मेदवारीमा मनोनयन फिर्ताको समय भने सोमबारबाट सकिएको छ ।

समानुपातिक सूचीमा नाम समावेश भई दर्ता हुनासाथ पनि बहालवाला जनप्रतिनिधिको पद स्वतः जाने आयोगको भनाइ छ । कुनै जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्न ‘अघि राजीनामा दिएमा त्यो औपचारिकता वा नैतिक विषयमात्रै हुने प्रष्ट पार्दै स्वतः पदमुक्त हुने विषयलाई प्रष्ट पारेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम