सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा दिनदहाडै लुटपाटको घटना बढ्दै गएको छ। आइतबार दिउँसो फर्वाड माइक्रोफाइनान्स ईश्वरपुर शाखाका एक कर्मचारी लुटिएका छन्।
लालबन्दी नगरपालिका–३ जब्दीबाट कलेक्सन गरी बयलवासतर्फ आउँदै गरेकी फर्वाड माइक्रोफाइनान्स ईश्वरपुर शाखाकी कर्मचारी पूजा सरदारलाई ईश्वरपुर नगरपालिका–७ स्थित पोखरी टोल नजिक अपरिचित व्यक्तिहरूले लुटपाट गरेका हुन्। लुटेराहरूले कर्मचारीसँग रहेको १ लाख ८४ हजार ७ सय ५ रुपैयाँ नगद लुटेर फरार भएका छन्।
प्रत्यक्षदर्शी तथा पीडितका अनुसार मुख छोपेका दुई जना व्यक्ति अपाचे मोटरसाइकलमा आएका थिए। उनीहरू मोटरसाइकलबाट ओर्लिएर पेस्तोल देखाउँदै धम्की दिएर नगद रकम लुटेर फरार भएको बताइएको छ।
फर्वाड माइक्रोफाइनान्स ईश्वरपुर शाखाकी शाखा प्रमुख पवित्रा चौधरी ले घटना’bout जानकारी दिँदै लुटपाट भएको तुरुन्तै प्रहरीलाई खबर गरिएको र सोमबार ईलाका प्रहरी कार्यालय केशरगञ्ज, ईश्वरपुरमा औपचारिक निवेदन दर्ता गराइएको बताए ।
यसअघि पनि करिब पाँच दिनअघि नेरुडे वित्तीय संस्थाका एक कर्मचारी लुटिएको घटना भएको थियो। लगातार वित्तीय संस्थाका कर्मचारी लक्षित लुटपाटका घटना बढ्दै जाँदा स्थानीयवासीहरू त्रसित बनेका छन्।
ईलाका प्रहरी कार्यालय बयलवास बजारमै भए पनि ईश्वरपुर क्षेत्रमा दिनदहाडै लुटपाट भइरहनु प्रहरीको लापरवाही भएको स्थानीयवासीहरूको आरोप छ। प्रहरी गस्ती कमजोर भएकै कारण बयलवास क्षेत्रका व्यापारी तथा वित्तीय संस्थाका कर्मचारीहरू असुरक्षित बनेको स्थानीयहरूले बताएका छन्।
स्थानीयहरूले बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी गस्ती बढाउन, अपराधी पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईले घटनावारे अनुसन्धान कार्य भइरहेको बताए ।






