माघे संक्रान्ति विभिन्न जातजाति र समुदायले मौलिक शैलीमा मनाउने साझा सांस्कृतिक पर्व हो । यसलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ । सूर्य धनुबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । यो धार्मिक अनुष्ठानमात्र नभई सामाजिक सद्भाव, एकता र खानपानको विशिष्ट पर्वका रूपमा पनि स्थापित छ । मुलुकको सांस्कृतिक विविधताको सुन्दर उदाहरणमा माघे संक्रान्ति पनि एक हो । यो पर्वलाई मकर संक्रान्ति, माघी, घ्यूचाकु संल्हु, तिला संक्रान्तिजस्ता नामले चिनिन्छ । माघ महिनाको पहिलो दिन पर्ने यो चाड नेपालका हिमाल, पहाड र तराईका लगभग सबै जातजाति, भाषा र संस्कृतिका मानिसले कुनै न कुनै रूपमा मनाउने गर्छन् ।
ज्योतिषीय तथा प्राकृतिक महत्व
ज्योतिषशास्त्रअनुसार यस दिन सूर्य धनुबाट मकर राशिमा प्रवेश गर्छ । सोही कारण यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । यस दिनबाट सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ लाग्छ, अर्थात् दिन लामो हुँदै जान्छ, रात छोटो हुँदै जान्छ र क्रमशः जाडो कम हुँदै तापक्रम बढ्न थाल्छ । यस परिवर्तनले प्रकृतिमा नयाँ ऊर्जा र जीवन सञ्चार गर्छ । प्राचीनकालदेखि नै सूर्यलाई जीवनदाता मानिएको छ । नेपाली संस्कृतिमा सौर मासअनुसार गणना गरिने पर्वमध्ये माघे संक्रान्ति अत्यन्त महŒवपूर्ण मानिन्छ । ज्योतिषशास्त्रअनुसार यस दिनदेखि सूर्य उत्तरायण’ हुन्छ । भनिन्छ, सूर्य दक्षिणायन हुँदा देवताका रात र उत्तरायण हुँदा दिन सुरु हुन्छ । त्यसैले यो दिनलाई आध्यात्मिक रूपमा निकै शुभ मानिन्छ । जाडोको उत्कर्ष सकिएर दिन लामा हुन थाल्ने र न्यानोपन बढ्ने संकेतका रूपमा यसलाई लिइन्छ ।
ज्योतिषीय शास्त्रअनुसार दक्षिणायभन्दा उत्तरायणको सुरुवातलाई शुभ मानिन्छ । यसैकारण यसदिन स्नान, दान, जप, तप, ध्यानजस्ता कार्यलाई विशेष पुण्यदायी ठानिन्छ । जबकी शास्त्रमा भनिएको छ, ‘यसदिन घ्यू, चाकु, तिल, तरुल नखाने र स्नान–दान नगर्ने व्यक्ति जीवनभर रोगी रहन सक्छ ।’ वस्तुतः आयुर्वेदिक दृष्टिकोणले पनि यो खानपान निकै महŒवपूर्ण छ । आयुर्वेदिक शास्त्रअनुसार जाडोमा शरीरमा ‘कफ’ बढ्छ, जोर्नी दुख्छ, रक्तसञ्चार कम हुन्छ । त्यसलाई रक्षा गर्नका लागि घ्यूले तेल प्रदान गर्छ, चाकु र तिलले ताप दिन्छ, तरुल–खिचडीले पोषण र गर्मी आभाष दिन्छ । यी परिकारले शरीरलाई चिसोबाट जोगाउँछन् र रोग प्रतिरोधी क्षमता बढाउँछन् ।
खानपानमा पर्वको आत्मा
माघे संक्रान्तिको सबैभन्दा आकर्षक पक्ष नै यसको खानपान हो । यसमा खाएर ‘जाडो भगाऊ’ भनाइ एकातिर छ भने अर्कोतिर ‘पुसमा पाक्के, माघमा खाने’ भन्ने चलन पनि छ । जब पुसमा पाकेका कन्दमूल, तिल, उखु, चामल आदि माघमा खाने चलन छ । प्रमुख खानपानका परिकारमा घ्यू शुद्धता र तापको प्रतीक, चाकु उखुबाट बनेको, ऊर्जा दिने, तिलको लड्डु÷तिलौराले तिलले पाप नाश गर्छ भन्ने विश्वास, तरुल, सखरखण्ड, गिठा–भ्याकुर, कन्दमूल, जाडोमा पाइने प्राकृतिक शक्ति प्रदान गर्छ ।
खिचडीले तातो, पौष्टिक र सजिलो पाचन हुनुका साथै विभिन्न किसिमका हरियो सागले सागपातले शरीर शुद्ध गर्छ । यी परिकार जाडोमा शरीर न्यानो राख्न, पोषण दिन र रोगबाट बचाउनका लागि विज्ञानसम्मत पनि छन् । गाउँघरमा त परिवारका सदस्यले घरघरमा बनेका परिकार छरछिमेकमा बाँड्ने चलन अझै छ । जसले गर्दा सामाजिक सद्भाव बढीभन्दा बढी बढाएको छ ।
हाम्रो देशका विभिन्न जनजाति तथा समुदायमा मनाउने भिन्न परम्परा छ । जसमा नेपालको सुन्दरता नै यसको विविधता हो । एउटै पर्व तर विभिन्न समुदायले फरक–फरक तरिकाले मनाउँछन् । माघे संक्रान्ति दिन अलिकति अमलाको धुलो दलेर नुहाउनुपर्ने, तिल राखेर तेल लगाउनुपर्ने, छोराछोरीलाई आमाले टाउकोमा तिल राखेर तोरीको तेल लगाई दिनुपर्ने, तिल राखेर पितृ तर्पण गर्नुपर्ने, तिल आगोमा डढाउनुपर्ने, तिल खानुपर्ने अनि तिल दान गर्नुपर्ने नेवाः संस्कार र परम्परा छ । यसरी विभित्र प्रकारले तिल प्रयोग गर्नुपर्ने भएकाले नै यस संक्रान्तिलाई ‘तिल संक्रान्ति’ पनि भनिने हो ।
जाडोको समय भएकाले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागमास आदि राखेर दान दिइने गरिन्छ । घरैमा पनि पितृभाग राखेर पन्छाइन्छ । यसमा पहाडी क्षेत्रका क्षत्री, बाहुन, गुरुङ, मगरले घरमा घ्यू–चाकु–तरुल खाने, तिल दान गर्ने, नदीमा स्नान गर्ने चलन रहिआएको छ । यसरी नै मगर समुदायमा यो राष्ट्रिय पर्व हो । यसदिन धेरै ठाउँमा धनुष–बाण खेल्ने, तारो हान्ने, गोरु जुधाउने मेला लाग्छ । यसमा खासगरी मगर समुदाय तीन दिनसम्म चेलीबेटी र पितृपूजा गर्छन् ।
त्यस्तै, नेवाः समुदायमा भने ‘घ्यूचाकु संल्हु’का रूपमा मनाइन्छ । सबैभन्दा पहिला देवता र पितृलाई मानी सकेपछिमात्र आफन्त र साथीभाइलाई बोलाएर भोज खुवाउने चलन पनि नेवाः संस्कृतिभित्रै पर्छ । नेवाः संस्कृतिअनुसार विवाह गरेर पठाइसकेका छोरीलाई बोलाएर भोज खुवाउने र टाउकोमा तेल लगाई दिने परम्परा छ । सोही दिन बिहानै घ्यू, चाकु, तरुल, तिलको लड्डु खाएर परिवारसँग रमाइलो गर्ने परम्परा रहिआएको छ । यस दिनलाई नयाँ वर्ष सुरुवातजस्तै मानिन्छ । यसरी नै थारु समुदायको भने वर्षभरको सबैभन्दा ठूलो पर्वका रूपमा ‘माघी’ मनाइन्छ ।
थारु समुदायका लागि यो नयाँ वर्ष हो । यस दिनदेखि थारु संवत् सुरु हुन्छ । पुस मसान्तमा सुँगुर मार्ने, हिसाबकिताब चुक्ता गर्ने, माघीमा नाचगान, झाँकी, माछा–मासुको भोज लगाउने कार्यक्रम हुन्छ । यसरी बडघर (गाउँको मुखिया)ले सामूहिक भोज दिन्छ । यो पर्व उन्मुक्ति र नयाँ योजना सुरुवात पनि हो ।
त्यस्तै मैथिल समुदायमा भने यस पर्वलाई ‘तिला संक्रान्ति’ भन्ने गरिन्छ । यस पर्वमा तिलको विशेष प्रयोग हुन्छ । जबकी आमाबाबुले छोराछोरीलाई तिल–सख्खर खुवाएर बुढेसकालमा सेवा गर्ने बचन लिन्छन् । जुन विवाहित छोरीले माइतीमा गएर विशेष परिकार खान्छन् । किरात–लिम्बू समुदायले भने उधौली–उभौलीसँग जोडिएर पनि यो पर्व मनाइन्छ । यसलाई ‘ककफेवा तङनाम’ आदि नामले चिनिन्छ । यसप्रकार एउटै दिनमा देशभर फरक–फरक रङ, स्वाद र परम्पराले भरिएको हुन्छ ।
सामाजिक, सांस्कृतिक तथा आर्थिक महत्व
माघे संक्रान्तिले कृषि संस्कृति पनि प्रतिविम्बित गर्छ । पुसमा पाकेको अन्न माघमा खाने चलनले कृषकको कठिन परिश्रमको सम्मान गर्छ ।
गाउँघरमा छिमेकीबीच खानेकुरा बाँड्ने चलनले सामाजिक एकता बढाउँछ । तसर्थ, आधुनिक समय सहरमा पनि यो पर्व मनाउन छोडिएको छैन । जसमा यसदिन अफिस–स्कूल बिदा हुन्छन्, परिवार जम्मा भएर घ्यू–चाकु खाने चलन कायमै छ । पर्यटन दृष्टिले पनि यो समय धेरै तीर्थस्थल जस्तै देवघाट, त्रिवेणी, कालीगण्डकी, बराहक्षेत्रमा भक्तजनको भीड लाग्छ ।
माघे संक्रान्ति धार्मिक पर्वमात्र नभएर प्रकृतिसँग जोडिएको, स्वास्थ्यसँग सम्बन्धित, सामाजिक सद्भावको प्रतीक र सांस्कृतिक एकताको उत्कृष्ट उदाहरण पनि हो । माघे संक्रान्ति तिथिमात्र नभई नेपाली पहिचानको अभिन्न अंग पनि हो ।
मूलतः थारु समुदायको माघीदेखि नेवाःको घ्यू–चाकु संल्हुसम्म, यसले विविधताभित्रको एकता प्रतिविम्बित गर्दछ । आधुनिकतासँगै यसको मौलिकता हराउन नदिन हाम्रा सांस्कृतिक मूल्य मान्यता संरक्षण गर्न आवश्यक छ । यो पर्वले हामीलाई सधैं उज्यालो (उत्तरायण)तर्फ लाग्न र सामाजिक सद्भाव कायम राख्न प्रेरणा दिइरहोस् ।
जाडोको कठोरतापछि आउने न्यानोपनको स्वागत, सूर्यको उत्तरायण यात्रासँगै जीवनमा नयाँ आशा र ऊर्जा सुरुवात यही पर्वले दिन्छ । यसले हामीलाई सिकाउँछ कि विविधतामा एकता छ, प्रकृतिसँग तालमेल मिलाउन सक्यो भने जीवन सरल र सुखी हुन्छ । आजको व्यस्त र छिटो जीवनमा पनि हामीले यो साझा पर्व जोगाएर राख्नुपर्छ । किनकि यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो, हाम्रो एकताको आधार हो ।
(लेखकको यो निजी विचार हो ।)






