सतर्कता अझैं बढाऔं

कोरोना महामारीको संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा देशभित्र रोकथाम, परीक्षण र नियन्त्रणका लागि गरिएका प्रयास अझै अपुग भएको सर्वत्र महसुस गरिएको छ । प्रारम्भिक चरणका प्रयासहरू महामारीको बढ्दो संक्रमणका बेला अपर्याप्त हुनु स्वाभाविकै पनि हो । सम्भावित संक्रमणलाई मध्यनजर गरेर यसको नियन्त्रणमा मात्रात्मक तथा गुणात्मक दुवै तयारी गरिनु जरुरी थियो तर त्यही हुन सकेन । हाल यही कमजोरीका कारण अनुमान गरिएजस्तो कोरोना संक्रमणको रोकथाम हुनुको सट्टा फैलदै गयो । संक्रमण केही बढी हुन थालेको आभास भएपछि मुख्य गरी दुईवटा कुरामा हाम्रो ध्यान जान नसकेको सबैलाई महसुस भइरहेको छ । त्यो हो, मापदण्डअनुसारको क्वारेन्टाइन नबनाइनु र सीमा क्षेत्र र विदेशबाट स्वदेश फर्कनेको उचित समयमै परीक्षण र आइसोलेसन उपचारको व्यवस्था नहुनु । यसकारण क्वारेनटाइनका नाममा एउटै कोठामा दर्जनौं मानिसलाई थुनेर राखिनु, उनीहरूका लागि श्वासप्रश्वास हुँदा कीटाणु रोक्न सक्ने भरपर्दा मास्क उपलब्ध नहुनु, खाना खाने थाली तथा सुत्नका लागि छुट्टाछुट्टै बेडको व्यवस्था नहुनु, हातमा लगाउने पन्जा र स्यानिटाइजरको व्यवस्था नहुनु, नुहाउने सुविधाको अभाव हुनु, फोहर जलाउने व्यवस्था नहुनु आदिको कारण क्वारेन्टाइन आफैंमा ‘कोरोना संक्रमणका बम’ बन्दै गए ।

अर्कोतिर सीमा इलाकाबाट मानिसहरू स्वदेश फर्किइरहे । उनीहरूको आगमनमा केही रोकावट र छिमेकी देशहरूसँग बन्दाबन्दीको अवस्थामा जुन देशका नागरिक भए पनि हाल उनीहरू रहेको देशले नै क्वारेन्टाइनको व्यवस्था गर्ने र क्वारेन्टाइनका लागि तोकिएको निश्चित समय पूरा गरिसकेपछि आआफ्ना देशमा पु¥याउने काम केही मात्रामा गरिए पनि । तर, क्वारेन्टाइनमा राखिएका मानिसको स्वास्थ्य परीक्षण भने गरिएन । क्वारेन्टाइनमा १४ दिन बिताएपछि अनुमानका आधारमा उनीहरू संक्रमित नभएको विश्वाससहित आआफ्ना देश र घरघर पठाइयो । एकातिर कोरोना रोकथामका नाममा केवल सामान्य औपचारिकता मात्र पूरा गर्ने र अर्कोतिर कोरोनाले देश, काल र हावापानी तथा स्थानीय मानिसको रोग प्रतिरोधात्मक शक्तिअनुसार आफूलाई अनुकूलन बनाउँदै नयाँ रूप र संस्करणमा विकास गर्दै लैजाने गरेकाले रोकथामका लागि जानीजानी आएका मापदण्ड तथा उपायमा परिमार्जन तथा सुधारको आवश्यकता पर्दै गयो । विश्वभर फैलँदै जाँदा कोरोना थप नयाँ बन्दै, हाइब्रिड स्वरूप ग्रहण गर्दै र आक्रामक बन्दै जाने तर भर्खरै संक्रमण देखापरेका नेपालजस्ता देशहरूमा बुझाइ र गराइहरू यथास्थितिमा रहने गरेकाले संक्रमण रोकिनुको सट्टा बढ्दै जान थाल्यो ।

संसारमा आज कोरोना महामारी रोकथामका लागि औषधि पत्ता नलागेको र यसको लक्षण भाइरल ज्वरो र त्यसले पार्ने जोखिमपूर्ण प्रभावभन्दा भिन्न नदेखिएकाले यो मानव जातिसँगै जीवित रहने देखापरेको छ । चिकित्सक तथा मेडिकल विशेषज्ञका अनुसार पनि यो पृथ्वीमा विकास भइरहने भाइरसको नयाँ संस्करण भएकाले यसको सार्स, इबोलाजस्ता भाइरसजस्तै यो संसारमा अस्तित्व रहिरहने देखिन्छ । यो भाइरसविरुद्धको लडाइँमा हासिल गर्न सकिने विजय भनेको यसलाई पचाउनु हो । शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गराउनु हो । पहिलोपटक संक्रमण हुँदै गरेको अवस्था होस् वा रोग नयाँ संस्करणमा विकास भएर दोहोरिएको अवस्थामा होस् यसको रोकथाम नै पहिलो भरपर्दो विधि र उपाय हो । त्यसपछि परीक्षण र उपचारको चरण आउँछ । नेपाल यो महामारीको संक्रमणको चपेटामा पर्दै गइरहेकाले सबैले उच्च सतर्कता अपनाउनु, सरकारले रोग परीक्षण र औषधोपचारको प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु नै महामारीविरुद्धको साझा र मोर्चाबद्ध लडाइँ हुन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे