सही निर्णय गर्नमा किन ढिलाइ गर्ने ?

हाम्रो देश आज संवेदनशील मोडमा खडा छ । संविधान जारी भएको करिब दशक बितिसक्दासमेत राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्यायका सवाल पूर्णरूपमा सम्बोधन हुन सकेका छैनन् । परिवर्तन अपेक्षासहित पटकपटकको जनादेश, आन्दोलन र बलिदानको सार्थकता खोज्दै छ, देश । नेपालको वर्तमान अवस्था, आगामी सम्भावित मार्गचित्र, राजनीतिक दलको भूमिका र युवापुस्ताले चाल्नुपर्ने कदमवारे गम्भीर समीक्षा आवश्यक छ ।

राजनीतिक, आर्थिक र सामाजिक तीनै तहमा संक्रमणकालीन अवस्थाबाट देश गुज्रिरहेको छ । राजनीतिकरूपमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको भए पनि संघीयता अभ्यास, अधिकार बाँडफाँट र सुशासनका प्रश्न अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन । बरम्बार सरकार परिवर्तन, अस्थिर गठबन्धन र सत्ताकेन्द्रित राजनीतिले नीति निरन्तरतामा बाधा पु¥याइरहेको देखिन्छन् ।

त्यसो त, आर्थिक रूपमा पनि नेपाल गम्भीर चुनौतीबीच छ । उत्पादनमुखी अर्थतन्त्र विकास हुन नसक्दा आयातमा निर्भरता बढ्दो छ । वैदेशिक रोजगारीबाट आउने ‘रेमिट्यान्स’ले अर्थतन्त्र धानेको छ, तर यसले दीर्घकालीन समृद्धिको आधार तयार गर्न सकेको छैन । कृषि, पर्यटन, ऊर्जा र सूचना–प्रविधिजस्ता क्षेत्रमा ठूलो सम्भावना हुँदाहुँदै पनि नीति, लगानी र नेतृत्व कमीका कारण अपेक्षित परिणाम निस्कन सकेका छैनन् । सामाजिक रूपमा भने चेतनास्तर बढेको छ । शिक्षा, सूचना प्रविधि र सामाजिक सञ्जालले नागरिकलाई बढी प्रश्नशील बनाएको छ । तर, यही चेतना कहिलेकाहीँ निराशा र आक्रोशमा रूपान्तरण हुँदै राजनीतिक व्यवस्थाप्रति अविश्वासको कारक पनि बन्दै गएको छ ।

राजनीतिक प्रणाली स्थिर र जवाफदेही बनाउन दलभित्र लोकतन्त्र मजबुत हुन आवश्यक छ । व्यक्तिकेन्द्रित राजनीति होइन, संस्थागत अभ्यासलाई प्राथमिकता दिइनुपर्छ । संघीय संरचना प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार र स्रोत दुवै सुनिश्चित गरिनुपर्छ । अबको नेपाल उपभोगमुखी होइन, उत्पादनमुखी अर्थतन्त्रतर्फ जानैपर्छ । कृषि आधुनिकीकरण, जलविद्युत् विकास, पर्यटन विविधिकरण र डिजिटल अर्थतन्त्र प्रवर्धनमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ । स्वदेशमै अवसर सिर्जना गर्न सकेमात्रै युवाको विदेश पलायन रोकिन सक्छ । त्यस्तै, विकासका लाभ सबै वर्ग, क्षेत्र र समुदायमा समान रूपमा पुग्नुपर्छ । शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा व्यवहारमा उतार्न सकिएन भने सामाजिक असन्तुलन झन् गहिरिने खतरा हुन्छ ।

पटकपटक आन्दोलन, व्यवस्था परिवर्तन र संविधान निर्माणदेखि जेनजी विद्रोहसम्म आइपुगेका हामी आज पनि स्थायिŒव, सुशासन र समृद्धिको प्रश्नमा अल्झिरहेका छौं । आमनागरिकको जीवनस्तरमा अपेक्षित सुधार नआउनु, राज्यप्रति बढ्दो अविश्वास र युवापुस्तामा फैलँदो निराशाले वर्तमान अवस्थाको गम्भीरता प्रस्ट देखाउँछ ।

राजनीतिक दल परिवर्तनका संवाहकमात्र होइनन्, वर्तमान समस्याका प्रमुख उत्तरदायी पनि हुन् । उनीहरूले जनविश्वास गुमाउनुको मुख्य कारण व्यवहार र कार्यशैली हुन् । चुनावका बेला गरिने प्रतिबद्धता सत्तामा पुगेपछि बिर्सने प्रवृत्तिले लोकतन्त्र कमजोर बनेको छ । अब दलहरूले आत्मसमीक्षा गर्नैपर्छ । सत्ता साझेदारीको गणितभन्दा माथि उठेर राष्ट्रियहितकेन्द्रित बन्नुपर्छ । दलभित्र युवालाई नेतृत्वमा ल्याउने, नीति निर्माणमा विशेषज्ञता प्रयोग र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने हो भनेमात्रै जनविश्वास फर्किनसक्छ ।

त्यसो त, विपक्षी दलको भूमिका पनि त्यत्तिकै महŒवपूर्ण हुनुपर्छ । सत्ताको विरोधमात्र होइन, वैकल्पिक नीति र दृष्टिकोण प्रस्तुत गर्नसक्नु विपक्षको कर्तव्य हो । सशक्त संसद्, जिम्मेवार सरकार र सचेत नागरिकबीचको सन्तुलनले मात्र लोकतन्त्र बलियो बन्छ । नेपालको जनसंख्याको ठूलो हिस्सा युवा छन् । तर यही पुस्ता सबैभन्दा बढी निराश देखिन्छ । बेरोजगारी, अवसर अभाव र राजनीतिक अस्थिरताले युवालाई देशभित्र भविष्य नदेख्ने अवस्थामा पु¥याएको छ । तर, समाधान पलायन होइन, संलग्नता हो । युवापुस्ताले पहिलो कदम सोच परिवर्तनबाट सुरु गर्नुपर्छ ।

‘राजनीति फोहोर छ’ भनेर टाढा भाग्ने होइन, त्यसलाई सफा गर्ने जिम्मेवारी लिनुपर्छ । राजनीतिक दल, नागरिक समाज, उद्यमशीलता र सामाजिक अभियानमार्फत युवाले नेतृŒवदायी भूमिका खेल्न सक्छन् । शिक्षित युवाले ज्ञान र सीप देशभित्रै प्रयोग गर्ने वातावरण बनाउन अवसर दिइनुपर्छ । ‘स्टार्टअप’, नवप्रवर्तन र समस्याको समाधान खोज्ने अभ्यासले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । ‘डिजिटल युग’को फाइदा उठाउँदै युवाले तथ्यमा आधारित बहस, सचेत नागरिक अभियान र उत्तरदायी शासनका लागि आवाज उठाउन सक्छन् । सामाजिक सञ्जाल आक्रोश पोख्ने माध्यम नभई समाधान खोज्ने ‘प्लेटफर्म’ बन्नुपर्छ ।

नेपालको वर्तमान अवस्था जति चुनौतीपूर्ण छ, त्यत्तिकै सम्भावनायुक्त पनि छ । सही नेतृत्व, स्पष्ट मार्गचित्र र सक्रिय नागरिक सहभागिता भएमा देशलाई स्थिरता र समृद्धितर्फ डो¥याउन सकिन्छ । राजनीतिक दलले जिम्मेवारीबोध देखाउनुपर्छ, राज्यले अवसर सिर्जना गरिदिनुपर्छ र युवापुस्ताले निराशा त्यागेर संलग्नताको बाटो रोज्नुपर्छ । नेपाल कुनै एक दल, एक नेता वा एक पुस्ताले मात्रै बनाउने होइन, यो साझा सपना र साझा प्रयासबाट मात्रै सम्भव हुन्छ । आज चालिने सही कदमले नै ‘भोलिको नेपाल कस्तो हुने हो ?’ भन्ने निर्धारण गर्छ ।

राजनीतिक परिवर्तनका लागि पटकपटक आन्दोलन, व्यवस्था परिवर्तन र संविधान निर्माणदेखि जेनजी आन्दोलनसम्म आइपुगेका हामी आज पनि स्थायिŒव, सुशासन र समृद्धिको प्रश्नमा अल्झिरहेका छौं । आमनागरिकको जीवनस्तरमा अपेक्षित सुधार नआउनु, राज्यप्रति बढ्दो अविश्वास र युवापुस्तामा फैलँदो निराशाले वर्तमान अवस्थाको गम्भीरता प्रस्ट देखाउँछ । यद्यपि, संकटबीच नै अवसर लुकेको हुन्छ । त्यो अवसर उपयोग गर्न नेतृत्व, नीति र नागरिक तीनैतह जिम्मेवार हुनुपर्छ । राजनीतिक दलले इमानदार सुधार देखाउनुपर्छ, राज्यले अवसर सिर्जना गर्नुपर्छ र युवापुस्ताले पलायन होइन, संलग्नताको बाटो रोज्नुपर्छ । ‘हामी कस्तो नेपाल चाहन्छौं ?’ यसको जवाफ पनि सरलै छ, ‘जवाफदेही नेतृत्व, सम्मानित नागरिक र आशावादी युवा भएको नेपाल ।’ यदि आजै सही निर्णय गरियो भने त्यो असम्भव पनि छैन ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु