वीरगन्ज । दुई जना पत्रकारसहित अस्पतालमा बाँकी रहेका ४३ जना कोरोना संक्रमित ठिक भई सोमबार एकै पटक डिस्चार्ज भएपछि नारायणी अस्पताललाई सेनिटाइज गरिएको छ । कुल ७२ संक्रमित उपचार गर्दै आएको नारायणी अस्पतालमा सोमबारबाट सबै संक्रमित निको भई डिस्चार्ज भएपछि मंगलबार अस्पताललाइं सेनिटाइज गरिएको हो ।
जेनेरल अस्पतालका रुपमा नारायणीलाई पुनः संचालन गर्ने तयारी अनुसार सेनिटाइज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदनकुमार उपाध्यायले बताए । केहीदिन भित्रमा नै साविकमा झैं जेनेरल सेवा संचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
गएको चैत ३० गते ३ भारतीय जमाती पर्सामा पहिलो पटक कोरोना पुष्टि भएपछि कोरोना अस्पतालका रुपमा बिरामीलाई सेवा दिंदै आएको नारायणी अस्पतालमा अन्य जनरल सबै सेवा बन्द थिए । आगामी दिनका लागि पनि नारायणी अस्पतालकै नामले गण्डक अस्पताललाई अस्थायी कोरोना अस्पतालका रुपमा संचालनमा ल्याएपछि भने पुनः नारायणीलाई जेनेरल अस्पताल बनाउने काम अगाडी बढाइएको छ ।
गरिब विपन्नको उपचार गर्ने नारायणीलाई जेनेरल अस्पतालकै रुपमा कायम गर्न आफ्नै बिशेष पहलमा गण्डक अस्पताललाइ कोरोना उपचार गर्ने अस्पताल बनाइएको स्थानीय सरकार प्रमुख विजय कुमार सरावगीले बताए । ‘अर्को विकल्प भएपछि संक्रमित डिस्चार्ज भइसकेपछि नारायणीलाई सेनिटाइज गरिएको हो’, वीरगन्ज महानगरपालिकाका नगरप्रमुख समेत रहेका स्थानीय सरकार प्रमुख सरावगीले भने ।
महानगरका २ वटा दमकलमा सोडियम हाइपोक्लोराइडको केमिकल पानी मिक्स गरी अस्पताललाइ पुरै सेनिटाइज गरिएको उनको भनाइ छ । ‘बिरामी नराखुन्जेल दिनदिनै सेनिटाइज गर्नुपर्छ भने पनि महानगर तयार छ’, नगरप्रमुख सरावगीले भने ।
‘अस्पतालका मेसु डा. उपाध्यायले ७२ घण्टापछि संचालन गर्न मिल्छ भन्नु भएको छ । डाइलाइसिस, इमर्जेन्सि, ओपीडि लगायतका सबै वार्डमा त कोरोना संक्रमित राखिएका थिएनन् । त्यो भन्दा पनि चाडो गर्न सकिन्छ कि भन्ने कुरा पनि चल्दैछ । स्वास्थ्यकर्मीलगायतको आवश्यक प्रवन्ध गरी जति सक्दो चाँडो जेनेरल सेवा संचालन गर्ने निष्कर्ष छ’ उनले भने ।
नारायणी अस्पताल कोरोना अस्पताल घोषणा भएपछि अस्पताल विकास समितिबाट राखिएका सबै कर्मचारी हटाइएकोले फेरि कर्मचारीको प्रबन्ध गरी जति चाँडो सबै सेवा संचालन गर्ने नारायणी अस्पताल प्रशासनले पनि जनाएको छ । नारायणीकै नाममा गण्डक अस्पतालमा २८ जना कोरोना संक्रमितको उपचार हुँदैछ । त्यहाँ ७० जनासम्म बिरामीलाई उपचार गर्न सक्ने क्षमता रहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।






