इलाम । हरेक निर्वाचनमा खानेपानी, स्वास्थ्य र सडकको आश्वासन पाएका पश्चिमी इलामका जनता अहिले पनि तिनै समस्यामा छन् । हरेक निर्वाचनमा एजेन्डा बने पनि अहिले सम्म यी समस्या समाधान हुन सकेका छैनन् । सदरमुकामबाट पश्चिमी इलामको क्षेत्र नम्बर २ का बासिन्दाले स्वास्थ्य सेवामा अझ बढी सास्ती खेप्नुपरेको छ । फाकफोकथुम, माङ्सेवुङ, चुलाचुलीको साकफारा लगायतका गाउँहरूमा स्वास्थ्य केन्द्रहरू भए पनि दक्ष चिकित्सक र औषधि पर्याप्त नहुँदा स्वास्थ्य सेवामा समस्या भोगिरहेका छन् । बर्खामा कच्ची सडकबाट औषधि ढुवानीमा समेत समस्या छ भने बिरामीलाई उपचार गराउन झनै कष्ट खेप्नु परेको छ । यो क्षेत्रको मङ्गल’boutमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर बर्खामा त्यहाँ पुग्नकै लागि समस्या हुने गर्दछ ।
अझै पनि यस क्षेत्रका मतदाता स्वास्थ्य र सडककै अपेक्षामा छन् । मतदाताको अबको अपेक्षा सडक कालोपत्रे र अस्पताल नै रहेको पाइन्छ । स्वास्थ्य मात्र होइन शिक्षा र यातायातको समस्या पनि यस क्षेत्रका बासिन्दाले सधैँ समस्यामै बिताउने गरेका छन् । हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षेदेखि बिताइरहेका यस क्षेत्रका बासिन्दाको लागि अहिले पनि त्यही समस्या दोहोरिनु कुनै नौलो हैन । फाकफोकथुम गाउँपालिकाकी पवित्रा परियार गाउँमै अस्पताल, औषधि र चिकित्सक नहुँदा उपचार गर्न जोखिम मोल्नुपरेको गुनासो गर्छिन् । ‘यहाँबाट टाढाको अस्पतालमा बिरामी लैजानुपर्ने बाध्यताले बिरामी अस्पताल पुग्छ कि पुग्दैन भन्ने त्रास त छँदै छ अस्पताल पुगेपछि त्यहाँ राखेको खर्च त झन् भनिसाधे छैन ।’ ‘चुनाव लागेको बेला यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर सपना देखाउने उम्मेदवार दिनहुँ जसो घर–घर पुग्ने गर्दछन् । तर ‘अहिलेसम्म जसले चुनाव जितेर गए पनि, अरू काम त गरे होलान् तर गाउँमै राम्रो उपचार हुने व्यवस्था चाहिँ गर्न सकेनन्,’ उनी भन्छिन्, ‘गाउँमा कम्तीमा राम्रो औषधि र उपचार पाइए न अकालमा ज्यान जान्थ्यो, न यहाँबाट कोही बसाइँ हिँड्नु पर्ने थिएन ।
फाकफोकथुमकै दुर्गा दाहाल दलका उम्मेदवार चुनावमा गाउँमा भोट माग्न मात्र आउने गरेको बताउँछन् । भोट माग्न आउँदा राखेका समस्या समाधान गर्ने आशा त दिन्छन् चुनाव जितेपछि फर्केर पनि हेर्दैनन् उनले भने, अलि अलि त गरे होला तर हामीजस्ता सर्वसाधारणले कहिले गाउँमै उपचार पाउने ? कहिले गाउँका सडकमा हिउँद–बर्खा गाडी चढ्न पाउने ? कहिले हाम्रो आँगनमा धारो बन्ने र पानी आउने ?’ भन्दै प्रश्न गरे ।
उनले गाउँमा प्रसूति हुने महिलाको उपचारमा अत्यन्त ठुलो समस्या भइरहेको बताए । ‘यो गाउँमा सुत्केरी हुने बिरामी कि अस्पताल नपु¥याइ सुत्केरी हुन्छन् उनले भने, ‘एउटा मात्रै भए पनि पक्की बाटो भइदिएको भए, एउटा मात्र भरपर्दो अस्पताल र डाक्टर भइदिएको भए यो दुर्दशा हुने थिएन ।’
हरेक निर्वाचनमा चुनावी नारा बन्ने इलामको नेपालटार–मङ्गलवारे कालोपत्रे सडकको निसाना मेटिने अवस्था भएको छ । सडक कालोपत्रे भएपश्चात् मर्मत लामो समयसम्म मर्मत नहुँदा धेरै ठाउँको कालोपत्रे कच्चीमा परिणत भएको छ । १२ किलोमिटर कालोपत्रे उक्किएको सडक हिउँदमा धुलाम्मे र बर्खा हिलाम्मे हुने गर्दछ । कालोपत्रे गरेर छोडेपछि मर्मत नपाएको उक्त सडक खण्डमा बेमौसमी वर्षसँगै आएको पहिरोले धेरै ठाउँमा क्षति भएको थियो भने गत असोज १८ गतेको अविरल वर्षका कारण सडक तहस नहस बनेको छ । उक्त सडक निर्माणका लागि कोशी प्रदेश सरकारले बहुवर्षे योजना अन्तर्गत २० करोड रुपैयाँ विनियोजन गरेको छ ।
फाकफोकथुम भएर माङ्सेबुङ्ग गाउँपालिका हुँदै झापा जोड्ने राँके गैँडे सडक निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले समस्या भोगिरहेका छन् । लामो समय सम्म चर्चामा रहेको उक्त सडक शिलान्यास गरेर पनि निर्माणले गति स्थानीयले समस्या भोगिरहेका हुन । ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा सडक अलपत्र परेको हो । राँके गैँडे सडकमा पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ्ग सडक खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गर्ने गरी काम थालिए पनि निर्माणले तीव्रता पाउन नसके पछि सडक बन्दैन कि भन्ने पिरमा स्थानीयमा छ ।
माङसेबुङ गाउँपालिका स्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने सडक अलपत्र छ । निर्माण कम्पनीले काम नगरेपछि ठेक्का तोडिएको उक्त सडक अलपत्र बनेको हो । अलपत्र बनेको उक्त सडक हिउँदमा धुलाम्मे छ भने बर्खा भेल बाढीको निकास नहुँदा सडक चुँडिने गरेको कारण स्थानीयहरू समस्यामा परेका छन् ।
यता इलामको सुकिलुम्बा विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । विमानस्थल निर्माण सम्पन्न भएपछि इलाम ,पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका स्थानीयलाई समेत सहज हुने ठानिए पनि विमानस्थल सञ्चालन नभएपछि समस्या भएको हो । सुकिलुम्बाको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण गरिए पनि सञ्चालन हुन सकेको छैन ।
भूगोलका हिसाबले समेत जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढा र विकट मानिन्छ पश्चिम इलामको फाकफोकथुम, माङ्सेवुङ, चुलाचुलीको साकफार क्षेत्र । हिउँदमा मोटर गुड्ने त्यहाँका सडकमा बर्खामा निकै समस्या हुने गर्दछ । चुलाचुलीको साकफारा गाउँसम्मको यात्रा गर्दा आङ नै सिरिङ्ग हुने सो सडक चुरेको पहाडको टुप्पोबाट खोलिएको छ । पिठ्युँमा भारी थाप्लोमा नाम्लोको भरमा पैदल आउन जान दोहोरो भारी दुई दिन लाग्ने उकालो, ओरालो र खोलाको बाटो हुँदै, चारदेखि सात पुस्ताले जीवन सङ्घर्ष गरेका फुङ्नाम र आसेटारका बुढापाका बताउँछन् ।
‘पश्चिमबाट जाँदा लुवा, बुवा, नुनसरी खोला तरेर मोरङ टाँडीको साखरे हुँदै, पूर्वबाट मावा खोलाखोलै पैदल हिँडेर मधुमल्ला बजार कुचो, अदुवालगायत उत्पादन बेच्न पु¥धाउनुपर्ने अनि फर्किँदा खाने नुन, तेल, चामल लगायतको भारी लिएर फर्किनु पर्दाको बाध्यता केही हटे पनि दीर्घकालीन सडक नबन्दा हिउँदमा सहजको अनुभूति हुने गरे पनि बर्खामा उही पीडा दोहोरिने गरेको स्थानीयको दुखेसो छ ।






