पाँचौ जितको खोजीमा विष्ट, नयाँले चुनौती दिदैँ

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । विशेषगरी एमाले उपाध्यक्ष तथा पूर्व मन्त्री गोकर्ण विष्ट र नयाँहरुबीचको निर्वाचन रोचक हुने भएको हो । गुल्मी–२ मा एमाले नेता विष्ट पाँचौ जितको खोजीमा छन् भने उनीसँग भिड्ने प्रतिनिधिसभाको लागि सबै नयाँ अनुहार छन् ।

प्रतिनिधिसभा निर्वाचन गुल्मी–२

२०५६ साल वैशाखमा भएको निर्वाचनमा जित हाँसिल गर्दै विष्टले पहिलो पटक ३४ बर्षे उमेरमा संसदीय यात्रा सुरु गरेका थिए । त्यसपछि ०६४ सालमा भएको निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीका चन्द्र बहादुर थापा सागरसँग विष्ट पराजित भए ।

त्यसयता ०७०, ०७४ र ०७९ सालमा भएका निर्वाचनमा विष्टले लगातार जित हाँसिल गर्दै चौथो पटक संघीय संसदमा आफ्नो उपस्थिति जनाए । विष्टसँग ०५६ मा काँग्रेसबाट त्रैलोक्य प्रताप सेन, ०७० मा काँग्रेसबाट त्रैलोक्य प्रताप सेन र तत्कालिन माओवादी केन्द्रबाट बामदेव क्षेत्री उम्मेदवार बनेका थिए ।

०७४ मा विष्ट तत्कालिन माओवादी केन्द्र र एमालेबीचको बाम गठबन्धनबाट उम्मेदवार बनेका थिए भने काँग्रेसबाट चन्द्र केसी भीडेका थिए । त्यसैगरी ०७९ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली काँग्रेस लगायतको पाँच दलीय गठबन्धनबाट रामकुमारी झाँक्री र एमालेबाट गोकर्ण विष्टबीच प्रतिस्पर्धा भएको थियो ।

साविकको गुल्मी–३ मा ०५६ यताका सबै निर्वाचनमा कम्युनिष्टले जित हाँसिल गरेका छन् । गोकर्ण विष्टसँग उर्जा र श्रममन्त्रीको अनुभव पनि छ । एमाले नेता हिरा एसीले विष्टले लगातार जिल्लामा विकास निर्माणका काममा अग्रणी भूमिका खेलेको, पार्टीको केन्द्रिय तहमा पुगेको, यसभन्दा अगाडीको निर्वाचमा पाँचदलीय गठबन्धनलाई समेत पराजित गरेको, मन्त्री हुँदा असल कर्म गरेको जस्ता आधारमा यसपटक पनि विष्टले नै जित हाँसिल गर्ने दाबी गरे ।

नयाँको चुनौती
विष्टसँग प्रतिस्पर्धा गर्ने संसदीय फाँटमा सबै नयाँ अनुहार छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका ५९ बर्षिय भुवन प्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताको रुपमा चिनिन्छन् । प्रदेश टुक्राउने आन्दोलनमा विखण्डनको पक्षमा उनले जिल्लाबाट नेतृत्व गरेका थिए । त्यसैगरी साविक तम्घास गाविसको २०४९ देखि ५९ सम्म दुई कार्यकाल अध्यक्ष, काँग्रेसको सभापति लगायतका क्षेत्रमा काम गरेको अनुभव छ ।

त्यसैगरी तम्घास बृहत खानेपानीको अध्यक्ष भई सदरमुकाममा खानेपानीको क्षेत्रमा उल्लेख्य काम गरेको, महेन्द्र मावि, रेसुङ्गा मावि जस्ता जिल्लाका ठूला विद्यालयको अध्यक्ष भई शिक्षामा सुधार गरेको, कोरोना महामारीमा उल्लेखनीय भूमिका खेलेको जस्ता कारणले आफुले जित्ने दाबी श्रेष्ठको छ ।

सबैभन्दा कान्छा उम्मेदवार
नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका श्रीराम महत २०६३ सालमा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी ०७४ सालमा भएको स्ववियुको निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि एकीकृत समाजवादीको संस्थापक जिल्ला अध्यक्ष हुदैँ हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य छन् ।

३५ बर्षिय महत गुल्मीका सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनी गण्डकी इङ्लिस बोर्डिङ्ग स्कूलका शिक्षक एवं इन्स्योरेन्स कम्पनीमा पनि काम गर्छन । ‘जेन्जी आन्दोलनको मर्मलाई आत्मसाथ गर्न युवाको प्रतिनिधित्व गर्दै चुनावमा उठेको छु ।’ महतले भने, ‘युवा, स्पष्ट सोच र समाजलाई सही मार्गदर्शन गर्न सक्ने क्षमता भएका कारण मेरो जित निश्चित छ ।’ उनले अहिले सबै युवाको रोजाईमा आफु परेको बताए ।

रास्वपाबाट उम्मेदवार बनेका गोविन्द पन्थी पूर्व डिएसपी हुन् । अहिले जताततै रास्वपाको लहर चलेको, डिएसपी हुदाँ नक्कली भुटानी शरणार्थीको फाइल खोलेका कारण आफु लोकप्रिय बनेको पन्थीले बताए । ‘प्रशासनीक काम गरको अनुभव लिएर घरदैलोमा हिडेका छौँ ।’ रास्वपा नेता देवराज पाण्डेले भने, ‘यसपटक गुल्मी–२ मा घण्टी बज्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

सेना सवार बस दुर्घटना हुँदा २४ घाइते