काठमाडौँ । जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वस्थित लावाङ पुगेका छन्। उक्त अवसरमा उनले जनयुद्धको प्रारम्भिक चरणमा सम्पन्न महत्वपूर्ण बैठक र त्यससँग सम्बन्धित निर्णयहरूको स्मरण गरेका हुन्।
उनले जनयुद्ध आरम्भ भएको दुई दशक पूरा भई २१औँ वर्षमा प्रवेश गरेको प्रसंग उल्लेख गर्दै लावाङ गाउँले आन्दोलनको तयारीदेखि विस्तारसम्म विभिन्न चरणमा सहयोग पुर्याएको बताए। त्यतिबेला स्थानीय समुदायले सुरक्षा, बसोबास तथा व्यवस्थापनमा गरेको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनले लावाङलाई ऐतिहासिक स्थलका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार सोही स्थानमा बसेको एक बैठकले पार्टीभित्र देखिएको अनुशासनहीनता सम्बन्धी विषयमा निर्णय लिएको थियो। पार्टीका विधि र पद्धतिविरुद्ध गतिविधि भएको ठहर गर्दै तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराई विरुद्ध कारवाही गर्ने निर्णय त्यहीँ गरिएको उनले स्मरण गरे। पार्टीलाई आन्तरिक विचलनबाट जोगाउन आवश्यक कदमका रूपमा उक्त निर्णय लिइएको उनको भनाइ थियो।
‘प्रचण्ड’ले विगतका घटनाक्रमलाई वर्तमान राजनीतिक अवस्थासँग जोड्दै आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको पनि उल्लेख गरे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि महिला, दलित, आदिवासी, थारु तथा मुस्लिम समुदायको राज्य संरचनामा सहभागिता सुनिश्चित भएको दाबीसमेत गरेका छन्।








