सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हवाइ फायर गरी लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ। गएराति करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ बाट प्रहरीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ घर भएका ४७ वर्षीय ललित चन्दलाई पक्राउ गरेको हो।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
उनलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात तथा आक्रमण गरी भाग्ने प्रयास गरेका प्रहरीको दाबी छ। त्यसपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरी उनलाई नियन्त्रणमा लिएको थियो।
खानतलासी गर्दा ललितको साथबाट शुद्ध ३६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथोकीले जानकारी दिए।








