भोट माग्दा बाटाकै कुरा, घोषणापत्रमा खोई पूरा ?

इलाम । पश्चिमी इलामका ग्रामीण सडकको अवस्था दयनीय छ । बर्खा सुरु हुनासाथ कच्ची सडक हिलाम्मे हुने र पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवतजावत ठप्प हुन्छ । हिउँद त जसो त्यसो चल्छ तर बर्खामा ग्रामीण बस्ती अझै बजार, स्वास्थ्य संस्थासँग सहज रूपमा जोडिन सकेका छैनन् । यति बेला चुनावको रौनक चलिरहेको छ ।

मतदाता माझ यसो गर्छौ र उसो गछौ भन्दै उम्मेदवार पुगिरहेका छन् । दलहरूले घोषणा पत्र पनि निकाली रहेका छन् । नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा आफ्नो नेतृत्वले गरेको उपलब्धि भनेर पश्चिमी इलाममा निर्माणाधीन सडक उल्लेखै गरी पुरा गर्ने प्रतिबद्धता सार्वजनिक ग-यो ।

जसमा निर्माणाधीन दमक–चिसापानी फाल्गुनन्द सडक, राँके–रवि–भेडेटार सडक, मदन भण्डारी लोक मार्ग इलाम खण्ड, केचना–कञ्चनजङ्घा कोरिडोर, माईपोखरी–सन्दकपुर खण्ड, आत्मानन्द मार्ग, राँके–गैँडे सडक लगायतका आयोजना समावेश छन् ।

केचनादेखि कञ्चनजङ्घा सम्मको सडक खण्ड अन्तर्गत इलाम फास्ट ट्रयाक तथा माईपोखरी–सन्दकपुर, माई नगरपालिका–७ लक्ष्मी बाँधदेखि माङसेबुङसम्मको आत्मानन्द मार्ग, राँके–गैँडे सडक, गाग्रे भञ्ज्याङ–सोयाक–बेलासे सडक, मधु मल्ला–फुङनाम–साकफारा–दारे गौडा सडक, देउमाई नगरपालिका मङ्गलवारे बजारदेखि फाकफोकथुम दोकान डाँडासम्मको सडक, देउराली–विन्दुले–मङ्गलवारे र सुवास रत्न सडक निर्माणाधीन रहेको र यसलाई पूर्णता दिने प्रतिबद्धतामा उल्लेख छ ।

तर नेपाली काँग्रेस इलामले सार्वजनिक गरेको घोषण पत्रमा क्षति ग्रस्त राजमार्गको पुन निर्माण र दिगो व्यवस्थापन बाहेक अन्य कुनै योजना जोड्न सकेन । त्यसैमा वैकल्पिक मार्ग र बर्खामा पनि इलाम जिल्ला सडक सञ्जालबाट विच्छेद हुने अवस्था अन्त्य गरिने उल्लेख छ । जसका कारण गाउँमा अलपत्र बनेका सडकको अवस्था र त्यसको समाधान के गर्ने भन्ने प्रतिबद्धता नै छैन ।

स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचनसम्म विकासका ठुला–ठुला वाचा गरिँदै आए पनि नेपाली काँग्रेस इलामको घोषणा पत्रमा इलाम–२ केन्द्रित ठोस योजना देखिएन । घोषणापत्रमा राष्ट्रिय मुद्दा त समेटिए पनि क्षेत्रगत प्राथमिकता, विशेष गरी सडक उल्लेख छैनन् ।

“इलाम–२ का लागि छुट्टै दृष्टिकोण र कार्य योजना खोइ ?” भन्ने प्रश्न उठ्न थालेको छ । विशेष गरी ग्रामीण सडकको स्तरोन्नति, वर्षायाममा अवरुद्ध हुने मार्गहरूको दीर्घकालीन समाधानको योजना’bout स्पष्ट प्रतिबद्धता नआएको आरोप लागेको छ । मेची राजमार्ग भनेको दलको प्रतिबद्धतामा नपरे पनि राज्यले बर्सेनि निर्माण र मर्मत गरिरहन्छ त्यसैलाई मात्रै सडक देख्नु अन्य सडकमा चासो नदेखाउनुले काँग्रेस इलामलाई प्रश्न उठाएको छ । यस विषयमा नेपाली काँग्रेस इलामका सचिव पूर्ण गौतमले प्रतिबद्धता पत्रमा मेची राजमार्गको मात्रै कुरा आए पनि अन्य सडक निर्माणका लागि काँग्रेस पछि नहट्ने बताए ।

प्रतिबद्धता सार्वजनिक पछि काँग्रेसले “इलाम–२ का सडक देखेन” भन्ने आलोचना चर्किएको छ । उम्मेद्वारले मतदाता माझ पुगेर सडक स्तरोन्नति, कालोपत्रे र दिगो व्यवस्थापनको प्रतिबद्धता जनाइरहँदा घोषणा पत्रमा आउन नसक्नु इलाम २ का लागि दुखद रहेको मतदाता बताउँछन् । निर्माणाधीन सडकको बजेट विनियोजन ढिला हुनु, ठेक्का प्रक्रिया लम्बिनु र निर्माणको गुणस्तर कमजोर हुनुजस्ता विषयले निराश बनेका त्यहाँका मतदाता दलको घोषणा पत्रमा समेत नआँट्नुले झन् निराश बनेका छन् ।

संविधान परिमार्जनदेखि सुशासन र समृद्धिसम्म
नेपाली कांग्रेसले ‘बदलियो कांग्रेस, बदल्छौं देश’ मूल नारासहित प्रतिबद्धतापत्रमा पार्टीले पूर्वजहरूको त्याग र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको परिवर्तन चाहनालाई आत्मसात गरेको बताएको छ । कांग्रेसले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र शासकीय विकृतिलाई देशका प्रमुख दुश्मनका रूपमा चित्रण गर्दै आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र नागरिकमैत्री शासन प्रणाली स्थापना गर्ने संकल्प गरेको छ ।

संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै राष्ट्रिय सहमतिमा आवश्यक परिमार्जनका लागि पहल गर्ने घोषणा गर्दै बजेट कार्यान्वयनमा पारदर्शिता, जनसहभागिता र नियमित सार्वजनिक परीक्षणलाई अनिवार्य बनाइने प्रतिबद्धता जनाइएको छ । मालपोत, नापी, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र स्थायी लेखा नम्बरजस्ता आधारभूत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धतापत्रमा ‘एक घर–एक धारा’ अवधारणाअनुसार स्वच्छ खानेपानी वितरण सुनिश्चित गरिने उल्लेख छ । प्रत्येक पालिकामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बहुउद्देश्यीय खेलमैदान निर्माण गरी खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै कृषिमा आधुनिक प्रविधि विस्तार, सिँचाइ र बीउबिजनको सहज उपलब्धता तथा उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । चिया, कफी, अलैँची, अदुवा, अकबरे खुर्सानी, किवी, जडीबुटी, दुध र फलफूल जस्ता स्थानीय उत्पादनको प्रशोधन र बजारीकरणका लागि ‘एक पालिका–एक उद्योग’ अवधारणा अघि सारिएको छ ।

‘गाउँमै रोजगारी, स्वदेशमै उद्यम’ नारासहित युवालाई डिजिटल मार्केटिङ, एआई टुल्स लगायतका सीपमूलक तालिम प्रदान गरी उद्यमशीलता विकास गरिने उल्लेख छ । बाँदर, दुम्सी लगायत वन्यजन्तुबाट हुने कृषिजन्य क्षति न्यूनीकरणका लागि वैकल्पिक कृषि प्रणाली अध्ययन गरी कार्यान्वयनमा ल्याइने योजना पनि समेटिएको छ । त्यसैगरी इलामको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई आधार मानी नयाँ पर्यटन करिडोर विकास गर्ने योजना प्रस्तुत गरिएको छ । इको टुरिजम, एग्रो टुरिजम र सीमापार पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गरिने जनाइएको छ ।

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न हरित ऊर्जा प्रवद्र्धन, जलवायु–स्मार्ट कृषि र विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ । मेची, जोगमाई, माई, पुवामाई र देउमाई खोलाको संरक्षण तथा उपयोगका लागि स्थानीय पानी साझेदारी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । इलामलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्यसहित सूचना प्रविधि (आईटी) सम्बन्धी उच्च शिक्षा उपलब्ध गराउने, प्राविधिक शिक्षालयको क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा र उपकरण व्यवस्थापन गरी अधिकांश उपचार सेवा इलाममै उपलब्ध गराउने, ट्रमा सेन्टर स्थापना गर्ने र गैरसंक्रामक रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति, सहिद परिवार तथा विपद्पीडित नागरिकका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्याको दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने