लस एन्जलस । हलिउडका दिग्गज अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा अमेरिकी समय अनुसार आइतबार बेलुका निधन भयो । उनकी पत्नी लुसियाना पेद्राजा डुभलले पारिवारिक शोक वक्तव्य मार्फत् निधनको पुष्टि गरेकी हुन् । परिवारका अनुसार अभिनेता रोबर्ट केही समययता वृद्धावस्थासम्बन्धी स्वास्थ्य समस्याबाट पीडित थिए । अभिनेता रोबर्टको प्राकृतिक कारणले शान्तिपूर्वक निधन भएको पनि उनकी पत्नीले जनाएकी छिन् ।
अमेरिकी समय अनुसार सोमबार अपराह्न लस एन्जलसस्थित निजी समाधि स्थलमा पारिवारिक परम्पराअनुसार उनको अन्त्येष्टि सम्पन्न गरिएको छ । समारोहमा परिवारका सदस्य, निकट आफन्त तथा हलिउडका केही सहकर्मी कलाकारहरूको उपस्थिति रहेको उनको परिवारले जनाएका छन् । हलिउडको चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले विज्ञप्ति जारी गर्दै उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विश्व प्रसिद्ध अभिनेता रोबर्टको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै संसारभरका उनका प्रशंसकले उनी प्रति सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । हलिउडकर्मीहरूले उनको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । रोबर्ट डुभलको निधनसँगै हलिउडले आफ्नो एक युगको प्रतिनिधि कलाकार गुमाएको विभिन्न चलचित्रकर्मीहरूले बताएका छन् ।
५ जनवरी सन् १९३१ मा अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोमा जन्मिएका रोबर्ट डुभलले रंगमञ्च तथा चलचित्र क्षेत्रमा करिब ६ दशकभन्दा लामो अभिनय जीवन व्यतीत गरेका थिए । डुभलले रंगमञ्चबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । स्टेजमा उनको प्रभावशाली अभिनय देखेर टेलिभिजन कार्यक्रममा प्रस्ताव गरिएको थियो । त्यसपछि उनले टेलि चलचित्र हुँदै चलचित्रमा लामो समय मुख्य चरित्रमा अभिनय गरे । उनले अभिनयसँगै चलचित्र निर्देशन क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याए । यि अभिनेताले जीवनकालमा ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।
अभिनेता रोबर्ट डुभललाई विश्वभर चिनाउने महत्त्वपूर्ण चलचित्र ‘द गड फादर’ हो । सन् १९७२ मा प्रदर्शन भएको यो चलचित्रमा उनले टम हेगनको भूमिका निर्वाह गरेका थिए । यो ‘क्लासिक’ जनराको चलचित्र हलिउड चलचित्र इतिहासकै उत्कृष्ट कृतिमध्ये एक मानिन्छ ।
त्यसै गरी सन् १९७९ मा प्रदर्शन भएको ‘एपोक्यालिप्स नाउ’ पनि उनको अर्को प्रभावशाली चलचित्र हो । यो चलचित्रमा उनले लेफ्टिनेन्ट कर्नेल किलगोरको प्रभावशाली भूमिका निर्वाह गरे, जुन उनको करियरकै चर्चित पात्रमध्ये एक हो ।
यस्तै सन् १९८३ मा प्रदर्शन भएको अर्को चलचित्र ‘टेन्डर मर्सीज’ पनि त्यत्तिकै सफल एवम् लोकप्रिय बनेको थियो । यो चलचित्रबाट नै अभिनेता रोबर्टले एकेडेमी पुरस्कार (ओस्कार)मा त्यो वर्षको सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका थिए । यो चलचित्रमा उनले जीवनबाट निराश भइसकेका एक देशी गायकको संवेदनशील भूमिका प्रस्तुत गरेका थिए । यही भूमिकाले उनलाई विश्व स्तरमा अझ उच्च सम्मान दिलायो ।
आफ्नो जीवनकालमा रोबर्टले धेरै वटा चलचित्रहरूमा नायकको रूपमा उदाहरणीय चरित्र निर्वाह गरेका थिए । उनी चार पटक ओस्कारका लागि मनोनीत भएका थिए भने गोल्डेन ग्लोब र एमी पुरस्कारसमेत जितेका थिए । यस्तै ‘द अपोस्टल’ चलचित्रमा समेत उनको अभिनय उल्लेखनीय मानिन्छ ।
सहकर्मीहरूका अनुसार उनी अत्यन्त अनुशासित, अध्ययनशील र समर्पित कलाकार थिए । डुभललाई स्वाभाविक अभिनय शैली, गहिरो भाव अभिव्यक्ति र चरित्रमा पूर्ण रूपमा डुबेर काम गर्ने कलाकारका रूपमा चिनिन्थ्यो । उनले अभिनयमार्फत सिर्जना गरेका पात्रहरू र कालजयी चलचित्रहरूले उनलाई विश्व चलचित्र इतिहासमा सधैँ अमर बनाइरहने विश्वास हलिउडको छ ।








