शिव भजनमा ‘नमो नमो शंकरा…’को नयाँ रेकर्ड

मुम्बई । शिव भगवानको भजनहरू मध्ये सर्वाधिक धेरै पटक युट्युबमा हेरिएको तथा सुनिएको भजनको रेकर्ड ‘नमो नमो शंकरा…’ले राखेको छ । यो गीत महाशिवरात्रिको अवसरमा सर्वाधिक सुनिने बलिउड चलचित्र गीत पनि बनेको छ । जसको कथावस्तु भगवान् शिवसँग जोडिएको कारण पनि हरेक शिवरात्रिमा यो गीत सर्वाधिक बढी बज्ने गरेको छ ।

लोकप्रिय शिवभक्त भजन ‘नमो नमो शंकरा…’ सन् २०१८ मा रिलिज भएको बलिउड चलचित्र ‘केदारनाथ’ मा समावेश गरिएको छ । यस चलचित्रमा सुशान्त सिंह राजपूत र सारा अलि खान मुख्य भूमिकामा देखिएका छन् । सारा अलि खानले यही चलचित्रमार्फत बलिउडमा डेब्यू गरेकी थिइन्। चलचित्रको छायांकन केदारनाथ क्षेत्रमा गरिएको थियो ।

युट्युबमा करोडौँ दर्शकले हेरेको यो लोकप्रिय गीतले हालसम्म करिब ९७ करोड ६० लाखभन्दा बढी भ्यु प्राप्त गरिसकेको छ । लामो समयसम्म संगीत चार्टमा शीर्ष स्थानमा रहेको यस गीतका शब्द गीतकार अमिताभ भट्टाचार्यले लेखेका हुन् । यति बेला यो गीत बलिउड गीतहरुको ट्रेन्डिङमा युट्युवमा शिर्ष स्थानमा परेको छ ।

यो भजनमा संगीतकार अमित त्रिवेदीको रचना तथा गायन रहेको छ । गीतमा मुख्य अभिनेता सुशान्त सिंह राजपूतले भक्तहरूलाई केदारनाथ मन्दिरतर्फ लैजाने दृश्य देखाइन्छ । जहाँ उनी शिव भक्तिमा डुबेर मधुर स्वरमा यो गीत गाउँदै हिँडेको देख्न पाइन्छ ।

यो चलचित्रमा मुख्य अभिनेता सुशान्त सिंह राजपूत स्वयं भगवान् शिवका गहिरा भक्तका रूपमा प्रस्तुत भएका थिए । चलचित्र रिलिज भएको दुई वर्षपछि अभिनेता सुशान्तको रहस्यमय निधन भएको थियो । यो भजनको भिडियो हेर्दा अहिले पनि उनलाई दर्शकले याद गर्छन् ।

हुन पनि सुशान्त सिंह राजपूत २०२० मा निधन भएपछि यो भजन मार्फत भगवान् शिवका एक निष्ठावान् भक्तका रूपमा झन परिचित बने । त्यसो त सुरु देखिनै सामाजिक सञ्जालमा शिव भक्तिप्रतिको उनको झुकाव प्रायः देखिने गथ्र्यो । मुस्लिम परिवारकी सारा अलि खानले पनि सुशान्तको प्रेरणाबाट आफू शवभक्त बनेकी बताएकी छिन् । उनी पटक–पटक केदारनाथ मन्दिर दर्शनका लागि पुग्ने गर्छिन् र अझै पनि सुशान्तलाई उनले यसको श्रेय दिने गरेकी छिन् । ‘केदारनाथ’ चलचित्र ५० करोड बजेटमा निर्माण गरिएको थियो । यस चलचित्र बक्स अफिसमा करिब ८५ करोड आम्दानी गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती