नयाँ वर्षमा आफ्नै दुई चलचित्र आउँदा विपिनलाई तनाव

काठमाडौँ । आगामी नयाँ वर्षमा अभिनेता विपिन कार्कीको चार दिनको अन्तरमा दुई वटा चलचित्र रिलिज हुने भएका छन् । उनले शीर्ष भूमिका निर्वाह गरेको नेपाली चलचित्र ‘काजी’ आगामी २७ चैतमा रिलिज हुँदै छ । निर्माण पक्षले यो चलचित्रको छायांकन सम्पन्न गरेर अहिले पोस्ट प्रोडक्सनको काम गरिरहेको छ । लक्ष्मण रिजाल निर्देशित चलचित्र ‘काजी’मा विपिन कार्कीसँगै केकी अधिकारी, गरिमा शर्मालगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्र ग्रामीण जीवन र वैदेशिक रोजगारीको कथामा आधारित छ ।

नयाँ वर्षको अवसर परेर २७ चैतमा चलचित्र ‘काजी’ रिलिज हुने भएपछि उनी यो चलचित्रको प्रचारमा व्यस्त हुन थालेका थिए । तर त्यसको चार दिनपछि निर्देशक तुलसी घिमिरेले आफ्नो नयाँ चलचित्र ‘पहाड’ को प्रदर्शनी घोषणा गरेका छन् । तुलसी घिमिरेले यो चलचित्र आउँदो नयाँ वर्षको अवसर पारेर १ वैशाख २०८३मा रिलिज गर्ने भएका छन् । चलचित्र ‘पहाड’ पनि वैदेशिक रोजगारीको कथामा आधारित रहेको छ । जसमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु समेटिएको छ ।

चलचित्र ‘पहाड’मा पनि विपिन कार्कीकै मुख्य भूमिका रहेको छ । यसरी अब नयाँ वर्षको लागि आफ्ना राम्रो भनिएका दुवै चलचित्र रिलिज हुने भएपछि विपिन तनावमा परेका हुन् । यो चलचित्रमा विपिनसँगै दिवंगत कलाकार सुनिल थापा र अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ पनि शीर्ष भूमिकामा रहेका छन् । यो चलचित्रमा रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउदै छन् ।

वितरकहरूको सल्लाह अनुसार चलचित्र ‘पहाड’लाई नयाँ वर्षको अवसर पारेर १ वैशाखमा रिलिज गर्न लागिएको तुलसी घिमिरेले बताएका छन् । यसरी यस पटकको नयाँ वर्षमा अभिनेता विपिन कार्कीका दुई वटा चलचित्र चार दिनको अन्तरमा रिलिज हुँदै छन् । जसका कारण विपिनलाई चलचित्रको प्रचार प्रसारमा भ्याई नभ्याई हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध