धनगढी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिबेला उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा तथा प्रतिबद्धतापत्र लिएर मतदाताका घरदैलो धाइरहेका छन् । दल तथा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।
कैलाली क्षेत्र नं. ५ मा निर्णायक रहेका रानाथारू भन्छन्, हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पायौं
उम्मेदवारहरूबाट पटकपटक आश्वासन मात्रै पाएका मतदाता भने यस पटकको निर्वाचनमा आश्वासन नभई विकास र रोजगारीको आधार खोजिरहेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँकी जाना रोकाया गाउँको विकास गर्ने आधार लिएर आउनेलाई मात्र मत दिने बताउँछिन् । विगतमा जस्तो चुनावका बेला जे पनि गरिदिन्छौँ भनेर आश्वासन दिने तर पछि पूरा नगर्ने र त्यसका लागि दबाब नदिने उम्मेदवारलाई मत नदिने उनको भनाइ छ ।
रोकायाले भनिन्, ‘हाम्रो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । कच्ची सडक हुनाले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । चुनावको समयमा नेताहरूले यीलगायत समस्या समाधान गर्ने बाचा गर्छन्, विगतमा पनि यस्तै आश्वासन पाइन्थ्यो । समस्या यथावत छन्, त्यसैले यसपटक समाधानको आधार खोजी गरिरहेका छौँ ।’
सोही ठाउँकी विनमति थापाको पनि उस्तै गुनासो छ । उनले भनिन्,‘यहाँ हामीले सोचेअनुसार विकास भएन । रोजगारी नहुँदा छोराछोरी विदेशिनुपरेको छ । त्यसैले अब हामीलाई यी समस्या समाधान गर्ने नेता चाहिएको छ ।’
चुरे गाउँपालिका–४ जगातीकी बविता विकले गाउँका आधारभूत समस्या समाधान गर्ने नेतालाई जिताउनुपर्ने बताइन् । उनले गाउँमा खानेपानी, पुलपुलेसा, सडक, स्थानीय उत्पादन वृद्धि र बजारीकरणलगायत समस्या रहेकाले समाधानका लागि आफ्नो प्रतिनिधिले विश्वासयोग्य बाचा गर्नुपर्ने धारणा राखिन् ।
विकले भनिन्, ‘चुनावका बेला गाउँ, टोल, घरघरमा आएर नेताहरुले अनेक बाचा गर्छन्, चुनावपछि बिर्सिन्छन् । रोजगारी नहुँदा युवाहरू अर्काको देशमा सस्तोमा श्रम गर्न बाध्य छन् । हामीलाई विकाससँगै रोजगारी र हाम्रा कृषिउपजको उत्पादन वृद्धि तथा बजारीकरण गरी गरिखान सघाउने सरकार र प्रतिनिधि चाहिएको छ ।’
कैलाली क्षेत्र नं. ५ मा निर्णायक रहेका रानाथारू भन्छन्, हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पायौं
कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । कैलालीको क्षेत्र नम्बर ५ मा रानाथारू समुदाय निर्णायक मानिन्छ । बस्तीमा विकासका लागि प्राथमिकता दिने उम्मेदवारलाई भोट दिने यो समुदायका मतदाताको भनाइ छ ।
बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् ।
गाउँमा भएको समस्या समाधान गर्ने भनेर दल र नेताले हरेक चुनावमा आफ्नो समुदायको भोट बटुल्दै आए पनि जितेर गएपछि समस्या समाधानतिर ध्यान नदिने गरेको सो समुदायका मानिसको गुनासो छ । धनगढी उपमहानगरपालिका–७, मनेहरागाउँका विवेक रानाले भने , ‘नेताले आएर यो गर्ने, त्यो गर्ने भनेर भोट माग्छन् तर जितेर गएपछि भनेको काम गर्दैनन् । खाली झुटो आश्वासन मात्रै दिने गरेका छन् ।’ उनले आफ्नो गाउँमा कुलो र सडकको समस्या रहेको उल्लेख गरे । गाउँको मुख्य सडक अहिलेसम्म बन्न नसकेको रानाको गुनासो छ ।
मनेहरा–भुइँयाघाट जोड्ने सडक धेरै ठाउँमा बिग्रिएको छ । सोही सडकको मनेहरागाउँ खण्डमा राम्रो बाटो छैन । कालोपत्रे सडक निर्माण गर्नका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएर नेताले विगतको चुनावमा भोट मागे पनि जितेर गएपछि बिर्सेको स्थानीय चमरु रानाले गुनासो गरे । उनले भने, ‘बजेट उपलब्ध गराउने भनेका थिए, तर अहिलेसम्म सडक निर्र्माणका लागि बजेट आएन । बजेट नभएर सडक बनेको छैन ।’
सडक निर्माणका लागि डिपिआर भए पनि काम नभएको स्थानीयको गुनासो छ । यसै गरी भुइँयाघाट–धनगढीगाउँ जोड्ने कृषि सडक पनि बेहाल अवस्थामा छ । २०७४ सालको निर्वाचनदेखि चुनावी मुद्दा बन्दै आएको यो सडक बिग्रेको कैयौँ वर्ष भइसकेको छ । नेताले सडक बनाउने भनेर भोट मागे पनि काम नभएको मनहेराकै वीरमति रानाले गुनासो गरे ।






