बद्लिएका मतदाता

लोकतन्त्रको आधारशिला हो– निर्वाचन । यसले नागरिकका इच्छा र आवाज संस्थागत गर्छ । मतपत्रमा राखिने एउटा सानो छापले प्रतिनिधि चयनमात्र गर्दैन, यसले नागरिकले ‘कुन मूल्यलाई प्राथमिकता दिन्छन्, देशलाई कुन दिशातर्फ अघि बढाउन चाहन्छन् र शासनसँग कस्तो सम्बन्ध राख्न चाहन्छ ?’ भन्ने दर्पणको काम गर्छ । विशेषगरी नेपालजस्तो बहुभाषिक, बहुजातीय,बहुधार्मिक र भौगोलिक विविधताले भरिएको देशमा निर्वाचन औपचारिक प्रक्रियामात्र होइन, यो नागरिक चेतना, सामाजिक समझदारी र लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष परीक्षण हो ।

आसन्न आमनिर्वाचनले देशको राजनीतिक वातावरणमा निर्णायक मोड ल्याउने अपेक्षा गर्न सकिन्छ । पछिल्ला वर्ष राजनीतिक अस्थिरता, आर्थिक चुनौती, बेरोजगारी, सुशासनसम्बन्धी असन्तुष्टि र जनआस्थामा कमी देखिए । यस्तो अवस्थामा यो निर्वाचन सत्ता परिवर्तनको माध्यममात्र होइन, राष्ट्रिय चेतना र दीर्घकालीन विकासको परीक्षण बन्ने छ । मतदाताले प्रतिनिधि चयन गर्दा अब यक्तित्व वा दलको लोकप्रियता हेर्ने छैनन्, उनीहरूले व्यवहार, कार्यक्षमता, पारदर्शिता, जवाफदेहिता र दीर्घकालीन दृष्टिकोण मूल्यांकन गर्ने छन् । मतदाताका चेतनामा आएको परिवर्तन विगतका दशकसँग तुलना गर्दा उल्लेखनीय रहेको अनुभूति हुन थालेको छ । पहिले मतदाताका निर्णय परम्परा, भावनात्मक प्रभाव वा समुदायीय निष्ठामा आधारित हुन्थ्यो । आजको मतदाता तथ्यमूलक विश्लेषण गर्छ, प्रश्न सोध्छ, सम्भावित परिणामको तुलनात्मक मूल्यांकन गर्छ र दीर्घकालीन प्रभावका आधारमा निर्णय गर्छ । प्रवासमा रहेका युवा, शिक्षा र सीप पहुँच, डिजिटल सूचनाको सहज उपलब्धताले मतदातालाई सजग र विवेकी बनाएको छ । यही कारण आगामी निर्वाचनले मतदाताका चेतना कसरी प्रयोगमा ल्याइन्छ ? भन्ने परीक्षण गर्नेछ ।

नेपालको सामाजिक र भौगोलिक विविधताले निर्वाचनलाई बहुस्तरीय बनाएको छ । ग्रामीण क्षेत्रमा मतदाताको मुख्य चासो प्रायः कृषि, सिंचाइ, खानेपानी, स्थानीय पूर्वाधार, स्वास्थ्य सेवा र शिक्षाजस्ता दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयकेन्द्रित हुन्छ । सहरी क्षेत्रका मतदाता यातायात व्यवस्थापन, प्रदूषण नियन्त्रण, कर प्रणाली, रोजगारी, सेवा– सुविधा र जीवनस्तर सुधारका विषयमा बढी संवेदनशील हुन्छन् । आसन्न निर्वाचनले यी फरक प्राथमिकतालाई राष्ट्रिय निर्णय प्रक्रियामा कसरी समेट्न सकिन्छ ? भन्ने चुनौती प्रस्तुत गरेको छ ।

युवा भूमिका आजको निर्वाचनमा निर्णायक बनेको छ । नेपालमा ४० वर्ष मुनिका मतदाताको ठूलो हिस्सा रहेको छ र उनीहरूको मतले राजनीतिक परिणाममा ठोस प्रभाव पार्ने क्षमता राख्छ । युवाका ध्यान पारम्परिक राजनीतिक दृष्टिकोणमै छैन, उनीहरू रोजगारी, सीप विकास, प्रवास वैकल्पिकता, डिजिटल अर्थतन्त्र, नवप्रवर्तन, शिक्षा सुधार र वातावरणीय सुरक्षाजस्ता विषयमा केन्द्रित छन् ।

युवा भूमिका आजको निर्वाचनमा निर्णायक बनेको छ । नेपालमा ४० वर्ष मुनिका मतदाताको ठूलो हिस्सा रहेको छ र उनीहरूको मतले राजनीतिक परिणाममा ठोस प्रभाव पार्ने क्षमता राख्छ । युवाका ध्यान पारम्परिक राजनीतिक दृष्टिकोणमै छैन, उनीहरू रोजगारी, सीप विकास, प्रवास वैकल्पिकता, डिजिटल अर्थतन्त्र, नवप्रवर्तन, शिक्षा सुधार र वातावरणीय सुरक्षाजस्ता विषयमा केन्द्रित छन् । उनीहरूले उम्मेदवारको विगतको व्यवहार, कार्यक्षमता र दीर्घकालीन दृष्टिकोण मूल्यांकन गर्छन् । यही सक्रिय युवापुस्ताले निर्वाचन प्रक्रियालाई शक्ति प्रतिस्पर्धा नभई नागरिककेन्द्रित प्रक्रिया बनाएको छ ।

सामाजिक सञ्जालले निर्वाचनको स्वरूपमा ठूलो प्रभाव पारेको छ । यी ‘प्लेटफर्म’ले मतदातालाई सूचनामा पहुँच दिएको छ, बहस र तथ्य समीक्षा गर्ने क्षमता बढाएको छ । तर यसको दुवै पक्ष पनि प्रशस्त रहेका छन् । असत्य सूचना र भ्रामक प्रचार फैलिन सक्छ, जसले मतदातामा भ्रम ल्याउन सक्छ । यही कारण मतदाताले सूचना विश्लेषण गर्ने, प्रमाणमा आधारित निर्णय गर्ने र रणनीतिक विश्लेषण गर्ने क्षमता विकास गर्नु आवश्यक भएको छ । निर्वाचनमा यही प्रक्रिया प्रयोग गरेर नागरिकले नेतृत्व र दलको मूल्यांकन गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचन जनप्रतिनिधिको जवाफदेहिता परीक्षण गर्ने माध्यम पनि हो । पाँच वर्षभरिका काम, नीति कार्यान्वयन, सार्वजनिक सम्पर्क र निर्णयको पारदर्शिताको मूल्याङ्कन मतदानकै क्रममा हुन्छ । मतदाताले प्रतिनिधिलाई अब नेताका रूपमा होइन, सेवकका रूपमा हेर्न थालेका छन् । प्रतिनिधिको मूल्यांकन ‘कति बोलेमा होइन, कति गरे’मा केन्द्रित हुँदै गएको छ । यही दृष्टिकोणले नेतृत्वमा जवाफदेहिता र पारदर्शिता प्रवर्धन सम्भावना बलियो बनाएको छ ।

निर्वाचनले सामाजिक एकता र लोकतान्त्रिक संस्कृतिलाई पनि मजबुत बनाउँछ । मतपत्रमा उभिएका फरक आयु, पेशा, जाति, समुदाय र भाषाका मानिसले समान अधिकार र अवसरसाथ मतदान गर्दा लोकतन्त्रको वास्तविक शक्ति प्रकट हुन्छ । निर्वाचनले मतदातालाई मतदानकर्ताका रूपमा होइन, राष्ट्रनिर्माणको सक्रिय सहभागीको रूपमा उभ्याउँछ । निर्वाचनले दललाई सुधारको अवसर पनि प्रदान गर्नेछ । स्पष्ट नीति, व्यवहारिक योजना, समयसीमा, स्रोत व्यवस्थापन र परिणामकेन्द्रित नेतृत्वले मात्र नागरिक अपेक्षा पूरा गर्न सक्छ । मतदाताले भाषण, नारा वा भावनात्मक अपिलमा मात्र होइन, कार्यान्वयनयोग्य योजना, व्यावहारिक दृष्टि र दीर्घकालीन प्रतिबद्धतामा आधारित मूल्यांकन गर्ने छन् ।

निर्वाचनको सार नागरिक चेतना उदय हो । मतदाताले आफ्नो अधिकार परम्परागत कर्तव्यको रूपमा भन्दा पनि राज्य निर्माण र सामाजिक प्रगतिको सशक्त उपकरणका रूपमा प्रयोग गर्न थालेका छन् । लोकतन्त्रको यात्रा लामो, चुनौतीपूर्ण र कहिलेकाहीँ निराशाजनक पनि हुन सक्छ । तर जब नागरिक सचेत रहन्छन्, आफ्ना अधिकार र जिम्मेवारी प्रयोग गर्दै राज्यका कामकाज र निर्णय प्रक्रियामा सतर्क रहन्छन् । त्यसपछि लोकतन्त्र स्वाभाविक रूपमा बलियो र दिगो हुन्छ र भविष्यका लागि विवेकपूर्ण निर्णय गर्छन् अनि लोकतन्त्र स्वतः स्वस्थ र दिगो हुन्छ ।

यस निर्वाचनले नागरिक चेतना, अपेक्षा र दीर्घकालीन विकास परीक्षण गर्ने क्षणका रूपमा काम गर्नेछ । मतदाताले विवेकपूर्ण निर्णय गरे, नागरिक उत्तरदायित्वको गहिरो भावना प्रदर्शन गरे भने नेपालको लोकतन्त्र अझ सशक्त, पारदर्शी, समावेशी र भविष्यमुखी बन्नेछ । निर्वाचन राजनीतिक प्रतिस्पर्धामात्र नभई नागरिक चेतना, सामाजिक जिम्मेवारी र लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष दर्पण पनि हुन सक्छ ।

लोकतन्त्रको सफलतामात्र नेतृत्वको क्षमतामा निर्भर हुँदैन, यसमा नागरिक चेतना, सहभागी भूमिका, जवाफदेहिता, पारदर्शिता र दीर्घकालीन सोचको भूमिका सर्वोपरी हुन्छ । निर्वाचन यही सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ र यसले देशको राजनीतिक, सामाजिक र आर्थिक दिशा निर्धारण गर्न निर्णायक भूमिका खेल्ने छ ।

मतदाता सचेत रहँदामात्र लोकतन्त्र स्वस्थ र दिगो रहन्छ । जब उनीहरूले सूचना विश्लेषण, योजना मूल्यांकन, जवाफदेहिता माग र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकता दिन्छन्, त्यतिबेला नेतृत्व पनि उत्तरदायी र पारदर्शी बन्न बाध्य हुन्छ । यही कारण नागरिक चेतना नै लोकतन्त्रको सबल आधार हो । निर्वाचनले देशका नागरिकलाई मत प्रयोग गर्ने क्षमतालाई गहिरो रूपमा बुझ्ने अवसर दिनेछ । मतदाताले विवेकपूर्ण निर्णय गरे, लोकतन्त्र स्वाभाविक रूपमा बलियो हुनेछ र देश दीर्घकालीन विकास, सामाजिक समानता र समावेशीताको मार्गमा अग्रसर हुनेछ । निर्वाचनको वास्तविक अर्थ यही हो । मतदाताका चेतना, अपेक्षा र भविष्यप्रतिको प्रतिबद्धता सशक्त भएपछि लोकतन्त्र बलियो बन्नेमा दुई मत नहोला ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय