धनकुटा । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि धनकुटा आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी थालिएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी माघवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका १ सय ६६ वटै मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरि १ सय ६६ पोका बनाइएको छ ।
निर्वाचनका लागि तयार पारिएको सामग्री मतदान केन्द्रमा १६ गते पठाइने अधिकारीलेले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ९ दिन मात्र बाँकी रहँदा धनकुटामा निर्वाचन तयारी तीव्र रुपमा भइरहेको हो । धनकुटामा निर्वाचन आयोगबाट मतपत्र तथा आवश्यक निर्वाचन सामग्री आइसकेको छ भने मतदान केन्द्रमा निर्वाचन सामग्री ढुवानी तयारी गरिएको छ ।
“मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने काम भइसकेको छ ।’’, उनले भने, “फागुन १४ र १५ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकेपछि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सामना सहित पठाउने छौँ ।’’ मौन अवधि अघि कर्मचारी पुगिसक्नुपर्ने र धेरै काम पूरा भइसकेको उनले बताए । यसपटक निर्वाचनमा प्रयोग हुने ५२ प्रकारका सामग्रीमध्ये १५ प्रकारका निर्वाचन आयोगबाट प्राप्त भएको र ३७ प्रकारका जिल्ला निर्वाचन कार्यालयले खरिद गरेको अधिकारीले जानकारी दिए ।
विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन पनि तीव्र रुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र तोकिएका छन् । जसमा १६ मतदानस्थललाई अति संवेदनशील, ४९ संवेदनशील र ५४ सामान्यमा वर्गिकरण गरिएको छ भने २१ अति संवेदनशील, ६७ संवेदनशील र ७८ सामान्य मतदान केन्द्र रहेका छन् । यस्तै निर्वाचनमा नखटिएका कर्मचारीका लागि र कैदीबन्दीका लागि गरि २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा कर्मचारी खटिएपछि सुरक्षाको टिमसँगै सामग्री ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
उनका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रूपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ । सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले पनि अनुगमन गरिएको उनको भनाइ छ ।
निर्वाचन नजिकिँदै जाँदा धनकुटामा सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १४ राजनितिक दल र ३ स्वतन्त्र गरि १७ जना उम्मेदवार चुनावी मैदानमा रहेको छन् भने धनकुटामा एक लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् ।
सम्बन्धित समाचार
सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा
मुसा चिन्हसहित घर–घरमा यमुना केसी
मोरङ–३ मा कडा प्रतिस्पर्धा : ‘लालकिल्ला’को इतिहासबीच डा. सुनिल शर्मालाई बहुपक्षीय चुनौती
गुल्मी–१, आलोपालोको निरन्तरता कि ब्रेक ?
गाउँघरमा पुगेर मतदाता फकाउँदै भोजपुरका उम्मेदवार
मोरङ–६: स्थानीय नेताको प्रवेशसँगै चुनावी माहोल ततिँदै
इलाम बनाउने सुहाङको सङ्कल्प






