लमजुङ । लमजुङमा यस पटकको प्रतिनिधि सभा निर्वाचनमा रोचक प्रतिस्र्धा भइरहेको छ । त्यो हो बिरासत धान्ने र तान्नेका बीचको प्रतिष्पर्धा । लमजुङ यसअघि नेपाली काँग्रेस र नेकपा एमालेको किल्लाका रुपमा परिचित थियो । २०७९ को निर्वाचनमा संघीय संसदमा नेकपा एमाले र प्रदेश निर्वाचनमा दुवैतर्फ नेपाली काँग्रेसले जित हासिल गरेर त्यस्तो पुष्टि गरेका थिए ।
२०७९ को निर्वाचनमा एमालेबाट विजयी भएका ६८ वर्षीय पृथ्वीसुब्बा गुरुङ संघमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री भएका थिए भने सो दलको उपाध्यक्ष छन् । प्रदेशतर्फ विजयी हुने काँग्रेसका डा. टकराज गुरुङ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रीका साथै नेपाली काँग्रेसको जिल्ला सभापति छन् भने भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री तथा काँग्रेसको महासमिति सदस्य रहेका छन् ।
२०४८– ५१ साल ताका लमजुङलाई काँग्रेसको किल्लाका रुपमा हेरिन्थ्यो र काँग्रेसका नाउँमा लौरो उभ्याए पनि जित्छ भन्ने प्रचलन थियो । १० वर्ष लामो सशस्त्र द्वन्द्वले त्यो स्थितिमा उलट पुलट गरिदियो । परिणाम स्वरुप २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा एमाले र माओवादीले १÷१ सिटमा जित हासिल गरे । फलस्वरुप काँग्रेसको किल्ला भत्किन थाल्यो । त्यसपछिका निर्वाचनमा एमालेले पनि जित्न थाल्यो ।
दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका चन्द्रबहादुर कुँवर र एमालेका जमिन्द्रमान घलेले जित हासिल गरे । २०७४ सालमा भने एमाले– माओवादी गठबन्धनमा माओवादीका देवप्रसाद गुरुङले जित हासिल गरेका थिए । २०७९ सालमा भएको निर्वाचनमा भने एमालेका पृथ्वीसुब्बा गुरुङले जित हासिल गरे । २०७९ को निर्वाचनमा पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउँदा तत्कालीन नेपाली कांग्रेस (माओवादी केन्द्र) गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ३१ हजार ७ सय ८१ मतमा सीमित भई मतान्तर ३ हजार १ सय ८८ थियो ।
लमजुङ सम्पन्न २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा (एमाले) ले ३१ हजार १७८ मत ल्याउँदै पहिलो स्थान हासिल गरेको थियो । नेपाली कांग्रेसले २७ हजार ७९६ मतसहित दोस्रो स्थानमा रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २१७ तेस्रो स्थान पायो भने माओवादी केन्द्रले ६ हजार ४८३ मत पाई चौथोमा सीमित भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ हजार ३०८ मत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका धर्म केसीले ९ हजार १२९ मत पाएका थिए ।
यतिबेला फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन संघारमा छ । सो निर्वाचनमा लमजुङमा मुख्य तीन दल एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।
एमालेका उपाध्यक्ष समेत रहेका निवर्तमान सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ हेवीवेट उम्मेदवार मानिन्छ । तर उनी यो पटक नवौं पटक निर्वाचन लडिरहेको, जेन्जी विद्रोह निम्त्याएको तथा रास्वपाको संगठन विस्तारले गर्दा गुरुङका लागि यो निर्वाचन फलामको च्यूरा सावित हुने स्थितिमा छ । कांग्रेसका तर्फबाट पार्टीमा लामो समयदेखि क्रियाशील रहँदै आएका गमप्रसाद गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । उनी धेरै सरल मानिन्छन् । पृथ्वीसुब्बा र गमप्रसादको जन्मथलो एउटै क्ब्होलासोंथर गाउँपालिका भएबाट पनि उनीहरू बीचको प्रतिस्पर्धालाई पनि रोचक मानिदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०७९ सालकै प्रत्यासी इन्जिनियर धर्मराज केसीलाई यो पनि पटक उम्मेदवार बनाएको छ ।
२०७९ सालमा संगठन बिना ९ हजार बढी मत ल्याएकोमा यो पटक गाउँ– गाउँमा संगठन विस्तार गरेको हुँदा कम्तिमा पनि तेब्बर मत बढ्ने सो दलका जिल्ला नेताहरू बताउँछन् र जित निश्चित हुने भएकोमा ढुक्क जस्तै देखिन्छन् ।
त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले युवानेता हरिजङ तामाङलाई उम्मेदवार बनाएको छ । उनी पनि उत्साहित देखिन्छन् । जनजाति र जेन्जीको प्रतिनिधि दावी गर्ने तामाङले पाउने मतले पनि निर्वाचन परिणामलाई फरक पार्न सक्ने आंकलन गरिएको छ । त्यसो त २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रले समानुपातिकतर्फ ६ हजार ४८३ मत र तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले ५८२ मत पाएका थिए । यी दुई दलसहित १७ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा लमजुङमा दुई दल मात्र अस्तित्वमा थिए ।
लमजुङमा २७ हजार मत कटाउने उम्मेदवारको जित हुने आंकलन बुद्धिजीवीहरूले गरिरहेका छन् । मस्र्याङदी बहुमखी क्याम्पसका निवर्तमान सहप्राध्यापक रमाराज खनियाले यो पटक ८०– ८५ हाराहारीमा मत खस्ने र २७ हजार मत कटाउन सक्ने पार्टीको उम्मेदवारले जित्ने बताए । उनका अनुसार पुराना भनेका दुई दल काँग्रेस र एमाले तथा नयाँ दलको रुपमा उदाएको रास्वपाका बीचको प्रतिस्पर्धा चर्को छ । उनी भन्छन्, ‘यी तीनै दलबीच १,२ हजार मत अन्तर पर्ला कस्ले जित्छ भन्न सकिन्न ।’
यसैगरी, सामाजिक अभियन्ता कृष्णराज ओलियाले नयाँ दल रास्वपाले नसोचेको प्रगति गरेको अनुभूति भएको छ । दलहरू आफ्ना मत सुरक्षित गर्ने होडमा देखिन्छन् । तरल मत जस्ले तान्न सक्छ उसैले जित्छ । मतदाताहरू पनि धेरै बाठा भइसकेका छन् । आफ्नो गाउँमा आएका सबै दलका उम्मेदवारलाई उही ढंगले माला लगाएर स्वागत गरेको देखिन्छ । मूलतः काँग्रेस, एमाले र रास्वपाका बिचको टक्कर उस्तै उस्तै देखिन्छ, को अघि हुन्छ भन्ने त निर्वाचन परिणामलाई नै पर्खनु पर्छ होला उनले भने ।
लमजुङमा एक स्वतन्त्र सहित १२ जना चुनावी मैदानमा छन् । चर्चामा रहेका उल्लेखित चार दल बाहेक नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका– १०, भक्तपुर निवासी गुजेश्वरी प्रजापती मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राइनास नगरपालिका– ६, लमजुङ निवासी रविन्द्र नखोला, श्रम संस्कृती पार्टीबाट दोर्दी गाउँपालिका– ७, लमजुङ निवासी कोषलाल गुरुङले लमजुङमा उम्मेदवारी रहेको छ ।
त्यस्तै, मस्र्याङ्दी गाउँपालिका– २, लमजुङ निवासी केबिन्द्रजङ गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, दोर्दी गाउँपालिका– ४, लमजुङ निवासी भरत गुरुङले नेशनल रिपब्लिक नेपालबाट, राइनास नगरपालिका– ३, लमजुङ निवासी मिलन बास्कोटाले जनादेश पार्टीबाट र पोखरा महानगरपालिका– १०, कास्की निवासी विकास गुरुङले मंगोल नेशनल अर्गनाईजेशनबाट चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लमजुङमा यो निर्वाचनका लागि १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता तथा ६७ हजार ६०० जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए ।
मतदानका लागि १३० मतदानस्थलमा १८६ मतदान केन्द्र निर्धारण गरिएको छ ।






