ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले क्षेत्रकेन्द्रित प्रचारलाई अन्तिम रूप दिएका छन् । ललितपुर क्षेत्र नम्बर–३ मा आसन्न आमनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
घरदैलो तथा अन्तक्र्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई प्रश्नै प्रश्नले घेरेका छन् । पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी कार्कीलाई मतदाताले ‘संसद् भवनदेखि मन्त्री क्वार्टर जलाउने जुलु ुसको अगुवाइ किन गरेको ?’ भन्नेदेखि ‘चुनाव जितेपछि किन निर्वाचन क्षेत्र नफर्किएको ?’ भन्दै प्रश्न सोधेका छन् ।
रास्वपाकी उम्मेदवार डा. कार्कीलाई अघिल्लो निर्वाचनको मत परिणाम जोगाउँदै जितलाई निरन्तरता दिन नेपाली कांग्रेसका जितेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले चुनौती दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सन्दन थापामगर पनि यो क्षेत्रका प्रभावशाली उम्मेदवार हुन् ।
यस क्षेत्रमा निर्वाचनका लागि राप्रपाका सविनकुमार खड्का, जनता समाजवादी पार्टी (जसपा)का कृष्णदेवी महर्जन, उज्यालो नेपाल पार्टीका विजय पन्त, नेकपा संयुक्तका यज्ञप्रसाद पन्तलगायत २० उम्मेदवार चुनावी मैदानमा छन् ।
दलका तर्फबाट १५ र ५ स्वतन्त्र उम्मेदवार रहेको क्षेत्रमा १ लाख २ हजार ४ सय ३७ मतदाता छन् । १ सय १४ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र रहेको ललितपुर क्षेत्र नम्बर–३ को आसन्न निर्वाचनमा विगतभन्दा राम्रो उत्साह देखिएको छ ।
गत निर्वाचनको अंकगणित
२०६४ सालको निर्वाचनपछि ललितपुर क्षेत्र नम्बर–३ का मतदाताले कसैलाई पनि लगातार दोस्रो जित दिएका छैनन् । २०६४ सालमा नेकपा माओवादीकी पम्फा भुसालले जितेको यस क्षेत्रमा २०७० सालमा नेपाली कांग्रेसका मदनबहादुर अमात्यले जितेका थिए भने २०७४ सालमा बाम गठबन्धनका तर्फबाट पम्फा भुसालले जितिन् । २०७९ सालमा रास्वपाकी डा. कार्कीले जितेको यो क्षेत्र आगामी २१ फागुनको निर्वाचनमा इतिहास कायम हुने वा खोसिने निकै चासोको विषय बनेको छ ।
गत निर्वाचनमा रास्वपाबाट कार्की ३१ हजार १ सय ३६ मत प्राप्त गरेर विजयी भएकी थिइन् । यो मत निकटत्तम उम्मेदवारभन्दा झण्डै तीन गुणा बढी थियो । कार्कीसँग पराजित निकटत्तम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गरेकी थिइन् ।
२०७९ सालको समानुपातिकतर्फ रास्वपाले १६ हजार ६ सय ५० मत प्राप्त गरेको थियो भने एमालेले १२ हजार २ सय ९७, राप्रपाले ८ हजार ७ सय ८९, नेपाली कांग्रेसले ८ हजार २ सय ४७ र माओवादी केन्द्रले ६ हजार ५ सय ३१ मत प्राप्त गरेको थियो । रास्वपालाई देशभरकै लहर आउँदा पनि ललितपुर क्षेत्र नम्बर–३ मा सन्तोषजनक नभएको कार्यकर्ता तहमै छलफल हुन थालेपछि कार्कीले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्रद्र शाहलाई एकपटक निर्वाचन क्षेत्रमा ‘रोड शो’ गरिदिन आग्रह गरेकी छन् ।
कार्कीलाई लहरको फाइदा हुने भए पनि गगन थापाको ‘खास शक्ति’ बनेर कांग्रेस विशेष महाधिवेशनमा खटिएका नेपाली कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई जिताउन एकताबद्ध भएको पार्टी चुनौती बनेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एकठाउँ उभिएर श्रेष्ठलाई ‘जसरी पनि जिताउने’ अभियानमा लागेका छन् ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, संविधानसभा सदस्य तथा पूर्वजिल्ला सभापति मदनबहादुर अमात्यदेखि पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठसमेतको प्रतिष्ठा विषय बनाएर कांग्रेस प्रस्तुत भएको छ । अघिल्लो चुनावमा १८ हजार मतान्तरले जितेकी कार्कीले प्रतिस्पर्धी पार्टीभित्रका अन्तरविरोधका कारण विगतमा पाएको मत यसपटक जोगाउन नसकेको खण्डमा पराजय व्यहोर्नुपर्ने अवस्था पनि आउनसक्ने कार्यकर्ता तहमै समीक्षा भएको छ ।
जातीय कार्डदेखि भोट बैंकसम्मका चर्चा
यस निर्वाचन क्षेत्रमा विभिन्न नेवाः गुठी तथा जातीय समूह ‘भोट बैंक’का रूपमा रहेको भन्दै नेपाली कांग्रेस र नेकपाले त्यसमा तानातान गरेको बुझिएको छ । महर्जन उम्मेदवार भएका कारण ज्यापु समुदायले नेकपाका उम्मेदवार महर्जनलाई अलिक बढी समर्थन गरेको चर्चा छ । ललितपुर महानगरपालिका प्रमुख महर्जनको प्रभावका कारण विभिन्न गुठीले कांग्रेस उम्मेदवारलाई सघाउन सक्ने आकलन गरिएको छ ।
४० वर्षमुनिका ३२ प्रतिशत मतदाता निर्णायक
जेनजी आन्दोलनपछिको निर्वाचन भएका कारण स्वाभाविक हिसाबले नै ४० वर्षमुनिका मतदाताको विवेक यस निर्वाचनको प्रमुख निर्णायक शक्ति हो । यो उमेर समूहका मतदाताको आकर्षणमा ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपा र नेकपा बराबरजस्तै देखिएका छन् ।
रास्वपा नेतृ डा. कार्की अघिल्लोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएको र निर्वाचन क्षेत्रमा देखिनेगरी कामको नेतृत्व लिन नसकेको असन्तुष्टि पोख्दै युवाले नेकपाका महर्जन र अन्य युवा उम्मेदवारलाई समर्थन गर्ने सम्भावना उस्तै बढेको छ ।
ललितपुर क्षेत्र नम्बर–३ मा ४० वर्षमुनिका मतदाता ३२ प्रतिशत छन् । यही निर्णायक हुने देखिएको छ । १८ देखि २५ वर्ष उमेर समूहका ६ प्रतिशत मतदाता छन् भने २६ देखि ४० वर्ष उमेर समूहका २६ प्रतिशत छन् । ४१ देखि ६० वर्ष उमेर समूहका ३९ प्रतिशत तथा ६० वर्षमाथिका २७ प्रतिशत मतदाता छन् ।






