काठमाडौं । स्वच्छ निर्वाचन प्रभावित पार्ने उद्देश्यले निर्माण गरिएका ६१२ टक्सिक सूचना’लाई कारबाही गरिएको छ । निर्वाचन आयोगले साप्ताहिक पत्रकार सम्मेलनक्रममा शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो । निर्वाचन सूचना सम्प्र ेषण तथा समन्वय केन्द्रमा आएका उजुरीका आधारमा स्वच्छ निर्वाचनलाई प्रभावित पार्ने त्यस्ता ‘टक्सिक सूचना’लाई विभिन्न नियामकसँगको समन्वयमा कारबाही गरिएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
कारबाही सिफारिस गरेका ‘टक्सिक सूचना सामग्री’मा ५४ प्रतिशत एआई निर्मित छन् । त्यस्ता सामग्रीमध्ये ५ सय ४५ वटालाई नेपाल प्रहरीको साइबर ब्युरो सिफारिस गरिएको छ । आयोग केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा १ सय २१ वटालाई पठाइएको र ७४ सामग्री प्र ेस काउन्सिलसमक्ष सिफारिस गरिएको छ ।
आयोग प्रवक्ता भट्टराईका अनुसार सिफारिस गरिएकामध्ये नेपाल प्रहरीले १ सय ३२ वटा, प्रेस काउन्सिलले ३२ वटा, केन्द्रीय आचारसंहिता इकाइले ९० वटालाई कारबाही गरेका छन् ।
मतगणना साँझबाटै
निर्वाचन आयोगले २१ फागुनको निर्वाचनमा मतगणना सकिएलगत्तै मतपेटिका संकलन र गणना सुरु गर्ने भएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोग प्रवक्ता भट्टराईले बताए । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीव्र पारेको हो । ‘निर्वाचन आयोगले यसपटक विगतका अनुभव पनि लिएर मतदानपश्चात् मतपेटिका संकलन गर्ने टाइम घटाउन थालेको छ,’ भट्टराईले भने, ‘हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौं । त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ ।’
आयोगमा ४ हजारबढी जिज्ञासा
निर्वाचन आयोगले संचालन गरेको कल सेन्टरमा ४ हजारभन्दा बढी जिज्ञासा आएको आयोग प्रवक्ता भट्टराईले जानकारी दिए । गत ५ माघदेखि सुरु कल सेन्टरमा १४ फागुनसम्म ४ हजार ३८ गुनासा तथा जिज्ञासा आएका हुन् । प्राप्त जिज्ञासामध्ये १ हजार ९ सय ५८ जिज्ञासा मतदाता नामावलीसँग सम्बन्धित छन् ।
अटेरी दल र उम्मेदवार, न्यून बैंक खाता
आयोगले निर्वाचन खर्च पारदर्शी बनाउनका लागि लागू गरेको बैंक खाता सञ्चालनसम्बन्धी व्यवस्था दल तथा उम्मेदवारले अटेर गरेका छन् । आयोगले निर्वाचन खर्चका लागि दल तथा उम्मेदवारले अलग्गै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरे पनि १४ फागुनसम्म ११ राजनीतिक दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोलेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
७ दिनअघिदेखि मदिरा निषेध, पासबेगरका सवारीलाई रोक
निर्वाचन आयोगले निर्वाचन मितिको ७ दिनअघिदेखि मदिरा विक्री वितरणमा रोक लगाएको छ । आयोगको निर्देशनअनुसार देशभर मदिरा विक्रीवितरण रोकिएको छ । निर्देशनअनुसार सवारी पास पाएका व्यक्तिबाहेक कसैले पनि २० फागुन मध्यरातदेखि २१ फागुन मतदान सम्पन्न नहुञ्जेलसम्म सवारी साधन चलाउन नपाइने आयोगले जनाएको छ । त्यसका लागि सवारी पास व्यवस्था सार्वजनिक गरिएको छ ।






