चुनावी सभा छाडेर घरदैलो र फेसबुक प्रचारमा उम्मेदवार

धनकुटा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५ दिनमात्रै बाँकी छ । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवार र दलका नेताहरूले पनि सक्रियतालाई बढाइरहेका छन् । विगतको निर्वाचनको भन्दा यो निर्वाचनमा उम्मेदवारहरूले मत माग्ने, सभा गर्ने परिपाटीमा समेत परिवर्तन गरेका छन् ।

गत निर्वाचनमा धनकुटाका सातै स्थानीय तहका केन्द्रमा चुनावी सभा वा सम्मेलन गर्ने गरेतापनि यो निर्वाचनमा सभा सम्मेलन भन्दा पनि जनताको घर घरमा उम्मेदवार आफंै पुग्ने गरेका दृश्यहरू देखिएका छन् । धनकुटामा उम्मेदवार रहेका १७ जनाले अहिलेसम्म चुनावी सभा गरेका छैनन् । धनकुटामा ३ स्वतन्त्र र १४ जना दलीय उम्मेदवार चुनावी मैदानमा छन् ।

धनकुटामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले एउटा पनि चुनावी सभा नगरेका हुन् ।

रास्वपाले धनकुटामा चुनावी सभा तथा सांगीतिक कार्यक्रम गर्ने तयारी गरेपनि रातको समयमा भएर प्रशासनले अनुमति नदिएपछि स्थगित भएको थियो । रास्वपाले ८ फागुनमा गायक तथा रास्वपा समानुपातिक उम्मेदवार प्रकाश सपुतको उपस्थितिमा दिनको ४ बजेबाट कार्यक्रम तय गरेको थियो । तर, प्रकाश सपुत आउँदा केही ढिलो भएकाले कार्यक्रम सुरु हुन ढिला हुने भएपछि कार्यक्रम नभएको हो । सांगीतिक कार्यक्रम भएपनि चुनावी सभा नै भएकाले आचारसंहिताले साँझको ७ बजेपछि कार्यक्रम गर्न नमिल्ने भएकाले अनुमति नदिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

रास्वपाबाहेकका अन्य उम्मेदवारले चुनावी सभाको कुनै पनि कार्यक्रम नै तय गरेका छैनन् । हरेक मतदाताको घर पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर घरदैलो अभियान सञ्चालन गरिएको रास्वपा सभापति बालानन्द दाहालले बताए ।

यस्तै, राप्रपाले शनिबार धनकुटामा चुनावी सभाको तयारी गरेको थियो । तर, अन्तिम समयमा आएर स्थगित भएको छ । राप्रपाले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतको उपस्थितिमा चुनावी सभा गर्ने तय भएपनि लिङ्देन नआउने भएपछि कार्यक्रम स्थगित भएको राप्रपा धनकुटा अध्यक्ष कुमारबहादुर थापाले जानकारी दिए ।

यस्तै, नेकपा एमाले धनकुटाले पनि चुनावी सभाको आयोजना नगरेको सचिव पर्शुराम नेपालले जानकारी दिए । उनले सभाभन्दा पनि जनताको घरदैलोमा पुग्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘अरू दलले पनि गरेको सुनिएन, हाम्रो पनि योजना छैन,’ उनले भने ।

यता नेपाली कांग्रेसका सचिव विजयसञ्तोषी राईले चुनावी सभाको कार्यक्रम नराखेको बताए । धनकुटाका धेरैजसो स्थानीय तहमा घरदैलो कार्यक्रम सकिएको उनको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख गोपाल बराइलीले चुनावी सभाको योजनामा नरहेको जानकारी दिए । उनले आन्तरिक रणनीति बनाएर घरदैलो कार्यक्रममा क्रियाशील रहेको जानकारी दिए ।

प्रचारमा सामाजिक सञ्जालमा सदुपयोग

चुनावी सभा छाडेर घरदैलामा लागेका धनकुटाका उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । उनीहरूले घरदैलोदेखि सामाजिक सञ्जाल प्रयोगसम्मलाई प्रचारको माध्यम बनाएका छन् । उम्मेदवारहरूको चुनावी एजेन्डामा गाँजा खेती वैधानिकीकरण, धरान–मुलघाट सुरुङमार्ग निर्माण, विकासका पूर्वाधार विस्तार तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय समेटिएका छन् ।

एमाले उम्मेदवार राजेन्द्र राईले टोली गठन गरेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालबाट प्रचार तीव्र बनाएका छन् । १५ माघबाट सुरु भएको अभियान अन्तिम चरणमा रहेको उनले बताए ।

कांग्रेस उम्मेदवार दिनेश राईले घरदैलोका साथै सामाजिक सञ्जाल प्रयोगलाई प्राथमिकता दिएका छन् । उनले केही दिन अघिसम्म बिहान ७ बजे र साँझ ७ बजे फेसबुक लाइभमार्फत मतदाता र प्रयोगकर्तासँग संवाद गर्ने गरेका थिए । केही दिनयता भने व्यस्तताले फेसबुक लाइभ बस्न नपाएको उनी बताउँछन् । फेसबुकमा प्रचार भइरहेको भएपनि लाइभमा धेरैसँग साक्षात्कार हुँदा सहज भएको उनले बताए । प्रत्यक्ष भेटघाट हुन नसकेकासँग संवाद गर्न यो माध्यम उपयोगी भएको उनको अनुभव छ ।

नेकपा उम्मेदवार धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले पनि घरदैलोसँगै सामाजिक सञ्जालबाट प्रचारलाई तीव्र बनाएका छन् । स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले भ्रष्टाचार अन्त्यलाई प्रमुख चुनावी मुद्दा बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि आङ्खनो धारणा राख्दै जिल्लाका विभिन्न स्थानमा पुगेर मत मागिरहेका छन् । धनकुटामा उनीहरूसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता