संखुवासभा । आगामी आमनिर्वाचन २०८२ को सन्दर्भमा संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला विशेष चासोको केन्द्रमा छ। यस क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका डा. अर्जुन कुमार कार्कीलाई यसपटक बलियो र जित सुनिश्चित गर्न सक्ने उम्मेदवारका रूपमा हेरिन थालिएको छ।
तीन दशकभन्दा बढी समय सामाजिक अभियन्ता, शिक्षक र शान्ति अभियानकर्मीका रूपमा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई अनुभव र दृष्टिकोणको बहसतर्फ मोडेको छ। विद्यार्थी आन्दोलनबाट सार्वजनिक जीवन सुरु गरेका उनले अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै सामाजिक रूपान्तरणलाई आफ्नो राजनीतिक मूल मन्त्र बनाएका थिए।
द्वन्द्वकालीन असहज परिस्थितिमा उनले “गाउँबाट शान्ति र विकास” अभियान सञ्चालन गर्दै ६० जिल्लाका करिब १५ लाख परिवारसँग प्रत्यक्ष सहकार्य गरेको तथ्यलाई उनका समर्थकहरूले बलियो आधारका रूपमा प्रस्तुत गरिरहेका छन्। समुदायमा मेलमिलाप, संवाद र पुनर्निर्माणको पहलमार्फत उनले स्थानीय तहमा विश्वास र सहभागिताको आधार विस्तार गरेका थिए ।
संखुवासभामा मात्रै २५ हजारभन्दा बढी परिवारसँग सशक्तिकरण तथा समुदाय विकास कार्यक्रम सञ्चालन गरेको उनको अनुभवले उनलाई ‘मैदानमै खटिएको नेता’का रूपमा स्थापित गरेको स्थानीय कार्यकर्ताहरूको दाबी छ।
उनको राजनीतिक जीवनको अर्को महत्वपूर्ण पाटो कूटनीतिक अनुभव हो। कार्कीले संयुक्त राज्य अमेरिका का लागि नेपालको राजदूतको जिम्मेवारी सम्हाल्दै विकास सहकार्य, आर्थिक कूटनीति र प्रवासी नेपालीसँग सम्बन्ध सुदृढ गर्न भूमिका खेलेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरिसकेको अनुभवले नीति निर्माण र राष्ट्रिय हित संरक्षणमा परिपक्व नेतृत्व दिन सक्ने क्षमता उनीसँग रहेको एमाले नेताहरू बताउँछन्।
संखुवासभाको भूगोल, विकासको चुनौती र संघीय समन्वयका सवालमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आएका कार्कीले चुनावी अभियानमा शान्ति, समावेशिता, आर्थिक सशक्तिकरण र प्रभावकारी प्रतिनिधित्वलाई प्राथमिकतामा राखेका छन्। उनका अनुसार संसद् केवल राजनीतिक बहसको थलो मात्र होइन, जनताको आवाजलाई नीति र कार्यक्रममार्फत परिणाममा रूपान्तरण गर्ने जिम्मेवार संस्था हो।
स्थानीय तहदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको अनुभव समेटेको उनको प्रोफाइलका कारण यसपटक संखुवासभामा एमालेको जितको सम्भावना बलियो बनेको विश्लेषकहरूको आकलन छ। संगठनात्मक मजबुती, व्यक्तिगत छवि र दीर्घकालीन सामाजिक योगदानको संयोजनले उनलाई प्रतिस्पर्धामा अग्रस्थानमा राखेको देखिन्छ।
अन्ततः निर्णय मतदाताको हातमा भए पनि अनुभव, शान्ति प्रक्रिया, समुदाय विकास र कूटनीतिक दक्षताको संगम बोकेको नेतृत्वका रूपमा डा। अर्जुन कुमार कार्की संखुवासभाबाट विजयी हुने आधार तयार हुँदै गएको राजनीतिक वृत्तमा चर्चा छ।
२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारले ३२ हजार ६५९ मत ल्याएका थिए भने निकटतम प्रतिद्धन्द्धीले ३१ हजार ६३९ मत ल्याएका थिए । २०७९ मा संखुवासभामा समानुपातिक मत एमालेको २५ हजारभन्दा धेरै थियो भने कांग्रेसको २२ हजार मात्रै थियो । तत्कालिन केपा माओवादी केन्द्रको ७ हजार, रास्वपाको २४ सय, जसपाको ८ सय, राप्रपाको ६ सय मत आएको थियो । यसबाट पनि प्रष्ट हुन्छ कि संखुवासभामा एमालेको मत धेरै छ ।






