काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रचारप्रसार भइरहँदा काठमाडौं क्षेत्र नम्बर–५ ले देशलाई अभिभावक दिनसक्ने भन्दै मतदातामाझ चासो बढेको छ । एमालेबाट उम्मेदवार भएका ईश्वर पोखरेल एमालेका ओलीपछिको संसदीय राजनीतिका अनुभवी र सिनियर नेता हुन् भने कांग्रेसबाट उम्मेदवार भएका प्रदीप पौडेल गगन थापापछिका युवाबीचका लोकप्रिय नेता हुन् ।
संसदीय राजनीतिमा यी दुवै नेतामध्ये जसले जिते पनि देशको अभिभावक हुने विश्लेषण गरिएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका ईश्वर पोखरेलले पुरानो राजनीतिक प्रणालीको विरासत र पार्टीभित्र उठाएको पुस्तान्तरण र जेनजी आन्दोलनपछिको राजनीतिक रूपान्तरणको एजेन्डालाई उठाएको जस पाउने सम्भावना बढेको छ ।
जेनजी आन्दोलनताका सरकारको स्वास्थ्यमन्त्री रहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गत निर्वाचनबाट जितेको यस क्षेत्रमा हरेक निर्वाचनमा जितिरहेको भन्दा अर्कोलाई छान्ने ‘स्विङ’ मतदाता रहेका कारण पौडेललाई अनेक खाले प्रश्नहरू उठेको पाइन्छ । यद्यपि कांग्रेसभित्रको रूपान्तरण पक्षधर भएका कारण उनी पनि बलियो प्रतिस्पर्धी रूपमा छन् ।
नयाँ राजनीतिक माहौलले आकर्षित भएका मतदाताको मन विभाजित हुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)का उम्मेदवारले सशक्त घरदैलो अभियान चलाएका छन् । गलोपाकी उम्मेदवार निशा अधिकारीको पक्षमा राम्रो माहौल बनेको देखिन्छ भने राष्ट्रिय राजनीतिको माहौलले रास्वपा उम्मेदवार सस्मित पोखरेलको पनि उस्तै सशक्त उपस्थिति छ ।
नयाँ तथा युवा मतदाता र ‘स्विङ भोटर’ रास्वपा र गलोपामा विभाजित हुँदा कांग्रेस एमालेको संगठनमा आधारित मत नै प्रतिस्पर्धाको बलियो आधार बन्ने देखिएको हो । वैकल्पिक राजनीतिको खम्बा बनेर अघिल्लो निर्वाचनमा उम्मेदवार भएका रास्वपाका प्रणयशम्शेर राणाले पार्टी छाडेसँगै रास्वपाको ग्राउन्ड कमजोर भएको विश्लेषण गरिएको छ भने आम जनता पार्टीका उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै एमालेमा समाहित भएकी छन् ।
यसले पनि पोखरेलको पक्षमा सकारात्मक प्रभाव परेको देखिन्छ । सांगठानिक आधारका आधारमा हुने प्रतिस्पर्धामा अघिल्लो पटक कांग्रेस उम्मेदवार पौडेलले जितेका कारण यसपटक पोखरेलतिर मतदाताको मन ढल्किने सम्भावना भएको पाका मतदाताको समेत अभिव्यक्ति पाइन्छ ।
‘ओलीसँग पनि टक्कर दिने नेता पोखरेल हुन्, उनलाई जिताइयो भने देशकै अभिभावक बन्न सक्ने देखिन्छ,’ महाराजगञ्ज क्षेत्रका एक स्थानीयले भने । राप्रपाका तर्फबाट कमल थापाको उम्मेदवारी पनि यसपटक राजावादी सेन्टिमेन्ट तान्ने र स्विङ मत प्रभावित पार्ने अर्को बलियो पक्ष हुनसक्ने देखिएको छ ।
यस्तो छ विगतको अंक गणित
पछिल्ला दुई निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसले आलोपालो जितेका हुन् । २०७४ सालमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २३ हजार मत ल्याएर चुनाव जितेका थिए । त्यतिबेला नेपाली कांग्रेसले यस क्षेत्रमा डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको थियो । महतले भन्दा पोखरेलले १३ हजार मत बढी पाएका थिए ।
यस क्षेत्रमा वैकल्पिक राजनीतिको प्रभाव सुरु गरेका उज्ज्वल विक्रम थापा विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए । थापाले झन्डै ७ हजार मत पाएका थिए । नेकपा एमालेबाट चुनाव जितेका पोखरेल उपप्रधान तथा रक्षामन्त्री समेत भए । त्यसपछिको निर्वाचनमा एमालेको विभाजन र बाम लोकतान्त्रिक गठबन्धनका प्रभावले अवस्था उल्टियो । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट २०७९ सालमा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले चुनाव जिते ।
पौडेलले १५ हजार २ सय ६९ मत ल्याउँदा पोखरेलले अघिल्लो निर्वाचनमा आफैँले ल्याएको मतभन्दा १३ हजार कम अर्थात् १० हजार १ सय ९० मत पाएर पराजित भए । एमालेका पोखरेलले अघिल्लो निर्वाचनमा पाएको मत र बाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेस र बाम पार्टीहरूले असन्तुष्टि जनाएको मत राष्ट्रिय स्वतन्त्र पार्टीमा थुप्रियो ।
२०७९ को चुनावका लागि खुलेको पार्टी रास्वपाका उम्मेदवार प्रणयशम्सेर राणाले साढे पाँच हजार ४ सय ७७ मत पाए । राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १ सय ६२ मत पाए । वैकल्पिक राजनीतिको वकालत गर्दै स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ, सुशान्त श्रेष्ठ र हेमराज थापाले २ हजारभन्दा बढी मत ल्याए ।
अंक र अवस्था
काठमाडौं क्षेत्र नम्बर ५ मा आगामी २१ फागुनका लागि मतदान गर्न योग्य ७८ हजार १ सय १४ मतदाता रहेका छन् । २०७९ को निर्वाचनमा ६४ दशमलव ८९ प्रतिशत अर्थात् ४६ हजार १६ मत खसेको यस क्षेत्रमा यसपटक मतदातामा उत्साह बढी भएकाले बढी मत खस्ने अनुमान गरिएको छ । २५ उम्मेदवार चुनावी मैदानमा रहेको आगामी निर्वाचनमा ५ स्वतन्त्र र २१ जना दलका तर्फबाट उम्मेदवार भएका छन् ।






