प्रतिनिधिसभा निर्वाचन आजः जनअदालतमा ६ हजार ५४१ उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि आज (बिहीबार) देशभर एकसाथ निर्वाचन हुँदैछ । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ जना प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर एकसाथ निर्वाचन हुन लागेको हो । गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनपछि बनेको सरकारको सिफारिसमा प्रतिनिधिसभा भंग भएपछि हुन लागेको निर्वाचनको सबै तयारी सकिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुखआयुक्त रामप्रसाद भण्डारीले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएका निर्वाचनस्थलका निर्वाचन केन्द्रमा पुगेर मतदान गर्न अपील गरेका छन् । आयोगले निर्वाचनका लागि मतपत्र, मतपेटिका, सुरक्षा प्रवन्धलगायतका सबै आवश्यक तयारी गरिएकाले ढुक्क भएर मत हाल्न मतदातालाई अपिल गरेको छ ।

निर्वाचनलक्षित सरकारले बुधबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन देशभरको मौसम अवस्था सामान्य रहेको बताएको छ भने सरकारले सुरक्षा अवस्थामा निश्चिन्त हुन अपिल गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला, २ सय अन्य र १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता रहेका छन् ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी मतदान केन्द्रमा ढुवानी गरिसकेको आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गर्न आयोगले १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको पनि आयोगले जनाएको छ । अस्थायी मतदाताका लागि १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।

सरकारले तीन घेरामा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेअनुसार निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन सुरक्षा प्रयोजनमा ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धानका राष्ट्रसेवक परिचालन भएका छन् । आयोगले निर्वाचन सम्पन्न गर्न २ लाख १५ हजार कर्मचारी खटाएको छ । यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षण अनुमति दिइएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्दै छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् भने प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सरकारले भन्यो: सुरक्षा व्यवस्थामा ढुक्क हुनू
सरकारले निर्वाचनका दिनको शान्ति सुरक्षामा ढुक्क हुन आग्रह गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित रुपमा सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।

बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिएपछि सकरारले सुरक्षामा ढुक्क हुन भनेको हो । मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेका अनुसार बैठकमा सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ भएको थियो । सोहीअनुसार सबै ‘युनिट’मा आवश्यक बन्दोबस्तीका सामग्री पुगिसकेको, योजनाअनुरुप सबै सुरक्षा निकाय परिचालन भएका छन् ।

एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सबै व्यवस्थापन भएको सरकारको भनाइ छ । सरकारले यसपटक पनि तीनघेरे सुरक्षा रणनीति तय गरेको छ । संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने र कानुनविपरीतका गतिविधि भए कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

कारबाही पनि हुन्छ
निर्वाचन आयोगले यसपटक निर्वाचन आचारसंहितामा कडाइ गर्दै मतदातादेखि उम्मेदवारसम्मलाई कारबाही गर्ने व्यवस्था ल्याएको छ । मतदानको लाइनमा उभिएकालाई मत माग्ने उम्मेदवारदेखि मतदातासम्मलाई तत्काल पक्राउ गरी कारबाही गर्नेदेखि उनीहरूका मोबाइल र प्रचार सामग्री नियन्त्रणमा लिनेसम्मको कारवाही हुने आयोगले जनाएको छ ।

त्यसैगरी मृत्यु भएका, अनुपस्थित भएका व्यक्तिको नाममा अनधिकृत रुपमा मत हालेको पुष्टि भए २५ हजार रुपैयाासम्म जरिमाना हुने आयोगको भनाइ छ । मतपेटिका, मतपत्र र निर्वाचनका अन्य सामग्री लुट्न, नष्ट गर्न खोज्नेलाई २ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिमाना हुने चेतावनी पनि आयोगले दिएको छ ।

कार्की अठोट र राजधानी दैनिकको विश्वास
राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने ‘म्यान्डेट’सहित सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको आज १७१ दिन पूरा भएको छ । राष्ट्रपति पौडेलले सुम्पेको अभिभाराअनुसार प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले चुनाव घोषणा ग¥यो ।

संसद् विघटन भएर संवैधानिक प्रावधानबाहिरबाट नियुक्त प्रधानमन्त्रीले ‘चुनाव गराउन सक्छ कि सक्दैन ?’ भन्ने संशयबीच प्रधानमन्त्री कार्कीले चुनाव गराउने बाचा गरिन् । चौतर्फी अविश्वासबीच राजधानी दैनिकले चुनाव घोषणा भएकै दिनबाट चुनावी ‘काउन्टडाउन’ सुरु गर्दै लेख्यो, ‘प्रतिनिधिसभा निर्वाचन अब १७२ दिन बाँकी ।’

यसरी सुरु ‘काउन्टडाउन’ले मूर्तरूप लिँदै देश आज मत हाल्ने अवस्थामा आइपुगेको छ । जेनजी आन्दोलनपछिका त्रासदीपूर्ण दिनमा सरकारको नेतृत्व सम्हाल्दै गर्दा निर्वाचन हुन्छ भन्ने पक्षमा सरकारमात्रै थियो । यस्तो अवस्थामा ताजा जनादेशको विकल्प छैन भनेर राजधानी दैनिकले चुनावका पक्षमा माहोल बनाएको थियो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा चुकेको सरकारलाई निर्वाचन गराउनेबाहेकका एजेन्डामा हामीले सधैं आलोचनात्मक दृष्टिकोण नै राख्यौं । भविष्यमा पनि यस्ता खबरदारी र दृष्टिकोण निरन्तर हुनेछ । निर्वाचनमा सुशीला कार्कीले देखाएको अठोटमा राजधानी दैनिकको विश्वास, भरथेग र खबरदारी मूल्यांकनको जिम्मा भने आदरणीय पाठकमा नै छाड्न चाहन्छौं ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम