चुनौती चिर्दै पाँचौंपटक संसदमा प्रचण्ड

काठमाडौं । नेपाली राजनीतिमा गणतन्त्र युगको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् प्रवेश गर्ने एक्लो पूर्वप्रधानमन्त्री हुने भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहाल रुकुम पूर्वबाट निर्वाचित भएसँगै संसद् ्मा प्रतिनिधित्व गर्ने एक्ला पूर्वप्रधानमन्त्री बन्ने भएका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्ड निकटतम् प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मत ल्याएर विजयी भएका हुन् ।

प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग धेरै मतान्तरले पछि छन् भने अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर–१ मा पाँचौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रचण्डलाई टक्कर दिन तत्कालीन नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् । यही २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द उम्मेदवार नै भएनन् ।

तत्कालीन नेकपा माओवादीले आह्वान गरेको १२ वर्षे जनयुद्धको जगमा राजनीतिको मूलप्रवाह प्रवेश गरेका प्रचण्ड २०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट पहिलो पार्टीका रूपमा जनमत लिएर पहिलोपटक संसद् प्रवेश गरेका थिए ।

नेपालको ३३औं प्रधानमन्त्रीका रूपमा पहिलोपटक ३१ साउन २०६५ मा नियुक्त भएका थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभा निर्वाचन भएपछि ठुलो दलको अध्यक्षको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रधानसेनापति प्रकरणमा ११ जेठ २०६६ सालमा राजीनामा दिएका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनपछि प्रचण्ड दोस्रोपटक २० साउन २०७३ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्ति भएर २४ जेठ २०७४ सम्म कायम रहे । तेस्रोपटक प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । तीनपटक पूर्वप्रधानमन्त्री रहेका प्रचण्ड आगामी संसद््मा समेत आफ्नो भूमिका हुने दाबी गर्दै निर्वाचनमा होमिएका थिए । संसदीय यात्रामा उनको यो पाँचौं सफलता हो ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ