काठमाडौं । २१ फागुनमा भएको निर्वाचनमा मधेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मय बनेको छ । लामो समयदेखि मधेसवादीसहित अन्य दलको बाहुल्यता रहँदै आएको मधेस प्रदेशमा यसपटक रास्वपाका घण्टी छापका उम्मेदवार विजयी भएका छन् । मतपरिणाम घोषणा हुन बाँकी क्षेत्रमा पनि रास्वपाका उम्मेदवार भारी मतले अघि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको पुर्खौली घर महोत्तरी हो । शाह झापा क्षेत्र नम्बर ५ मा ऐतिहासिक मतका साथ विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार बढी मतान्तरले हराएका बालेन्द्रकै कारण मधेस यसपटक घण्टीमय बन्यो ।
रास्वपाले जनकपुरको आमसभामार्फत शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेपछि लामो समयदेखि मधेसवादी दल र परम्परागत दलको पकडमा रहेको मधेस यसपटक घण्टीमय बनेको हो ।
मधेस प्रदेशमा राम्रो प्रभाव राखेका मधेसवादी दलका ‘कमान्डर’हरू ले नै यसपटकको निर्वाचनमा पराजय भोग्नु परेको छ । मधेसवादी दलका प्रमुख मात्रै नभई यसपटक मधेसवादी दलका कोही पनि नेता मधेसबाट विजयी नहुने देखिएको छ ।
रास्वपा उम्मेदवार अधिकांश ठाउँमा विजयी भएका छन् । विजयी घोषणा नभएको क्षेत्रमा पनि रास्वपाकै उम्मेदवार ठूलो मतान्तरसहित अग्रस्थानमा रहेका छन् । रौतहट–२ मा कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन् । मधेस प्रदेशमा ३२ सिट छ । ३२ मध्ये ३१ सिटमा रास्वपाकै उम्मेदवारले निश्चित छ । रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार फिरदोष आलम यो समाचार तयार पार्दासम्म निकै अग्रस्थानमा छन् । योबाहेक सबै क्षेत्रमा रास्वपाको वर्चस्व छ । इतिहासमै पहिलोपटक मधेसी मूलका नेता प्रधानमन्त्री बन्ने आसमा पनि रास्वपाप्रतिको आकर्षण बढेको स्थानीयको भनाइ छ ।
यसका साथै मधेसवादी दलका नेताहरूले मुद्दा भन्दा सधैँ सत्ताको राजनीतिमा रुमलिएका कारण पनि उनीहरूको पराजय देखिएको हो । मधेसवादी मात्रै नभई नेपाली कांग्रेस, एमाले, नेकपाबाट सधैँ उही उम्मेदवार भएकाले समेत यी दलले समेत राम्रो मत पाउन सकेका छैनन् ।
सप्तरी–४ मा रास्वपा उम्मेदवार सीताराम साह ३६ हजार ४ सय १२ मतसहित विजयी भएका छन् । धनुषा–३ मा ४३ हजार ९ सय ८८ मतसहित रास्वपा प्रवक्तासमेत रहेका मनिष झा विजयी भएका छन् । झासँग कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि र एमाले नेतृ जुलीकुमारी महतो प्रतिस्पर्धामा थिए । निधिले १६ हजार ६ सय ५२ मत ल्याएर दोस्रो र महतो ८ हजार ७८६ मत ल्याएर तेस्रो भएका छन् ।
महोत्तरी– १ मा रास्वपा उम्मेदवार प्रमोदकुमार महतो ३४ हजार ६ सय ३६ मत ल्याएर विजयी भएका छन् । सर्लाही–१ मा रास्वपा उम्मेदवार नितिमा भण्डारी (कार्की) ४४ हजार १ सय ८१ मत ल्याएर विजयी भएकी छन् ।
सर्लाही–२ मा रास्वपा उम्मेदवार रबिन महतो ४२ हजार ५ सय १२ मतसहित विजयी भएका छन् । मधेसवादी दल राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ५ हजार ९ सय ९२ मतसहित चौथो भएका छन् ।
लामो समयदेखि मधेसवादी राजनीतिमा लागेका महेन्द्रराय यादवले सप्तरी–२ मा नेकपाबाट उम्मेदवारी दिएका थिए । तर उनी ८ हजार ५ सय २३ मतसहित दोस्रो स्थानमा छन् ।
यो समाचार तयार पार्दासम्म सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंह भारी मतसहित पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छन् ।
रौतहट–१ मा रास्वपा उम्मेदवार राजेशकुमार चौधरी २८ हजार ९ सय ४६ मतसहित विजयी भएका छन् । सोही क्षेत्रमा प्रतिस्पर्धामा रहेका नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ७ हजार ६ सय ६९ मतसहित चौथो स्थानमा छन् ।
लामो समय मधेसवादी दलमा आबद्ध रहेर राजनीति गर्दै आएका अनिलकुमार झा चुनावअघि नेपाली कांग्रेसमा प्रवेश गर्दै उम्मेदवारी दिएका थिए । तर झाले ८ हजार ५ सय ७४ मतसहित तेस्रो स्थानमा र एमाले उम्मेदवार अजयकुमार गुप्ता १० हजार ६ सय ९३ मतसहित दोस्रो स्थानमा छन् ।
रौतहट–३ मा रास्वपा उम्मेदवार रवीन्द्र पटेल पहिलो स्थानमा छन् । सोही क्षेत्रबाट उम्मेदवार रहेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह तेस्रो स्थानमा छन् ।
रौतहट–४ मा रास्वपा उम्मेदवार गणेश पौडेल पनि पहिलो स्थानमा छन् । सोही क्षेत्रमा आजपाबाट उम्मेदवारी दिएका आजपा नेता एवं पत्रकार ऋषि धमलाले ६ सय मत मात्र कटाउन सके ।
बारा–१ मा रास्वपा उम्मेदवार गणेश धिमाल ३९ हजार ९ सय ९८ मतसहित विजयी भएका छन् । बारा–३ बाट अरविन्द साह ४० हजार ६ सय ९७ मत सहित विजयी भएका छन् । कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री फरमुल्लाह मन्सुर १० हजार ५२ मत सहित दोस्रो भएका छन् ।
बारा–४ मा रहबर अन्सारी ४१ हजार २ सय मतसहित विजयी भएका छन् । पर्सा–१ मा रास्वपा उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २ सय ७४ सय मतसहित विजयी भएका छन् । पर्सा–२ बाट रास्वपा उम्मेदवार सुशीलकुमार साह ३० हजार ७ सय ४० मतसहित विजयी भएका छन् ।
सप्तरी–२ मा रास्वपा उम्मेदवार रामजी यादव पहिलो, जसपामा उम्मेदवार उमेशकुमार यादव दोस्रो छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउत तेस्रो स्थानमा छन् ।
सप्तरी–३ मा रास्वपा उम्मेदवार अमरकान्त चौधरी पहिलो, जसपा अध्यक्ष उपेन्द्र यादव दोस्रो स्थानमा छन् । महोत्तरी २ मा रास्वपा उम्मेदवार दीपककुमार साह पहिलो स्थानमा छन् भने जसपा नेता शरतसिंह भण्डारी दोस्रो स्थानमा छन् ।
महन्थ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर जसपाबाट महोत्तरी क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी थिइन् । यो क्षेत्रमा रास्वपा उम्मेदवार उज्ज्वलकुमार झा पहिलो हुँदा जसपा उम्मेदवार ठाकुर छैठौं स्थानमा छिन् ।






