रेखाको निर्देशनमा ‘माया भनकै यस्तो होला’ को छायांकन सुरु

काठमाडौं । अभिनेत्री रेखा थापा यति बेला चलचित्र निर्देशनमा उत्रिएकी छिन् । उनले सोमबारबाट नेपाली चलचित्र ‘माया भनकै यस्तो होला’ को छायांकन सुरु गरेकी हुन् । आफ्नो गृह ब्यानरमा निर्माण भइरहेको र आफैँ निर्माता रहेको चलचित्र ‘३६को आँकडा’का पोस्ट प्रोडक्सनको काम निर्देशक सविर श्रेष्ठलाई सुम्पेर रेखा अहिले यो चलचित्रको निर्देशनमा लागेकी हुन् ।

यो चलचित्रको ३ फागुनमा महाशिवरात्रिको अवसर पारेर काठमाडौँमा एक कार्यक्रमबिच निर्माण घोषणा गरिएको थियो । यो चलचित्रलाई आगामी तीजको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्देशक रेखाले राजधानीलाई बताएकी छिन् ।

यसैबिच सोमबार ललितपुरको रोयल ट्युलिप होटेलमा पहिलो दृश्यको छायांकन गरेर चलचित्रको औपचारिक छायांकन सुरु भएको छ । पहिलो दृश्यमा अभिनेत्री नीति शाह र अभिनेता दिल श्रेष्ठको ‘टेक’ लिएसँगै छायांकन थालिएको पनि रेखाले जनाएकी छिन् ।

दीया र अमु फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कलाकारहरू दिल श्रेष्ठ, नीति शाह, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतका कलाकारहरूको मुख्य भूमिका रहने छ ।

पत्रकार ध्रुव लम्सालद्वारा लिखित कथामा आधारित यो चलचित्रलाई हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्दै छन् । यसको छायांकन सुदीप बरालले गरिरहेका छन् भने संगीतमा प्रशान्त सिवाकोटी छन् । चलचित्र पत्रकार राजन घिमिरे यो चलचित्रमा संयोजकको रूपमा संलग्न छन् ।

निर्देशक रेखा थापाका अनुसार यस चलचित्रले प्रेमकथामा आधारित नेपाली समाजको विभिन्न भावनात्मक पक्ष र वातावरणलाई चित्रण गर्नेछ । रेखा थापा लगभग आठ वर्षपछि फेरि निर्देशनमा फर्किएकी छिन् । यसअघि उनले ‘हिम्मत वाली’ र ‘मालिका’ गरी दुई चलचित्र निर्देशन गरिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ