काठमाडौंमा अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी सुरु

फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा आजदेखि ‘आइज टु एज’ शीर्षकमा अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइनआर्ट क्लब, भारतको आयोजनामा सुरु भएको अन्तरराष्ट्रिय कला प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका कलाकारका सिर्जनाहरू समावेश गरिएको छ ।

प्रदर्शनी उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र भारतबीचको सांस्कृतिकसम्बन्ध प्राचीन विरासतदेखि नै गहिरो बताउँदै यस्ता प्रदर्शनीले थप प्रगाढ बनाउने बताए ।

उनले हिमवत्खण्डदेखि नै दुई देशबीच भाइचाराकोसम्बन्ध कायम रहेको उल्लेख गर्दै वैदिक कालदेखि नै सांस्कृतिक र कलात्मक सूत्रहरू जोडिँदै आएको र दक्षिण एसियाली कलामा यसको उल्लेखनीय प्रतिविम्ब देखिने गरेको बताए ।

भारतीय कलाकार एवं प्रदर्शनीका क्युरेटर मनोज भिएनले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबीच परम्परागत रूपमा कला र संस्कृतिका धेरै विषयहरू मिल्दाजुल्दा भएकाले पनि प्रदर्शनी प्रभावकारी भएको बताए ।

कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस किसिमका प्रदर्शनीले दुई देशको कला, संस्कृतिको आदानप्रदानमा सहयोग पुग्ने बताए । उनले आपसी सम्बन्धर संस्कृति विस्तारकै लागि यो प्रदर्शनी गरिएको बताए ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले कोचिनसँगको सहकार्यले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताए । उनले भारतसँग धेरै विषय मेल खाने र संस्कृति पनि समानप्रकारका रहेको बताए ।

भारतीय कलाकार पवल पागलले नेपाल भारतको सांस्कृतिक महत्व एकैखालको रहेको स्मरण गर्दै कार्यक्रममा कविता वाचन गरेका थिए । अर्का कलाकार उदय राजले भारतको कालजयी गीत बाँसुरी बजाएर प्रस्तुत गरेका थिए ।

नेपाल, भारत र बङ्गलादेशका कलाकारका ३० कलाकृति रहेको यस प्रदर्शनी फागुन ३० गतेसम्म चल्ने छ । प्रदर्शर्शीत कलाकृति समसामयिक, धार्किक, साँस्कृतिक र जनजीवनसँग सम्बन्धित रहेका छन् । कला प्रदर्शनीका लागि भारतबाट पाँच जना कलाकार नेपाल आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी