काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसका त्यस्ता नेता हुन्, जसको नाममा नेपालमा सबैभन्दा बढीपटक प्रधानमन्त्री बनेको रेकर्ड छ । पाँचपटक प्रधानमन्त्री बनेका देउवा’bout छैटौँपटक पनि प्रधानमन्त्री बन्ने ज्योतिषीय भविष्यवाणी अझै भाइरल छ ।
ज्योतिषीय भविष्यवाणीभन्दा उनको राजनीतिक इतिहास अझ रोचक छ । संकटका बेला नेतृत्व गर्ने, आफूलाई अस्वीकार गरिएको ठाउँमा विद्रोह गर्ने र पराजयपछि पनि फेरि राजनीतिको केन्द्रमा फर्किने उनको विशेषताजस्तै छ ।
कोइराला परिवारको प्रभावशाली छायाबाट निस्केर कांग्रेसभित्र आफ्नै शक्ति निर्माण गरेका देउवा अहिले फेरि छोरा पुस्ताका कांग्रेस सभापति गगन थापासँग आमनेसामने छन् ।
विगतमा गिरिजाप्रसाद कोइरालासँगको शक्ति संघर्षले कांग्रेस फुटाएका देउवा अहिले थापा नेतृत्वको कांग्रेसको समानान्तर संगठनात्मक प्रक्रियामा छन् । थापा नेतृत्वको कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले पनि अलग्गै अधिवेशन प्रक्रिया सुरु गरेको छ ।
सत्ताका लागि कहिले एमाले त कहिले माओवादीसँग सहकार्य गरेको भन्दै आलोचना खेपेका देउवाको राजनीतिक शैली गठबन्धन बनाउन सक्ने नेताका रूपमा पनि चिनिन्छ । स्थार्य अनुकूल काम नहुँदा विगतमा संसद् विघटनको सिफारिससमेत गरे । २०५९ सालमा पार्टीको निर्णयसँग मतभेद भएपछि कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । पाँच वर्षपछि त्यही पार्टी मूल कांग्रेसमा विलय गराएर उनी फेरि कांग्रेसको मूलधारमा फर्किए ।
थोरै बोल्ने तर राजनीतिक गणित परसम्म हेर्ने नेताको छवि बनाएका देउवा अहिले जीवनको अर्को कठिन मोडमा छन् । उनले दुईपटक नेतृत्व गरेको पार्टीको आधिकारिक नेतृत्व गगन थापा पुस्तामा पुगेको छ । देउवा पक्षले भने त्यसलाई स्वीकार नगरी आफ्नैै संगठनात्मक प्रक्रिया अघि बढाएको छ ।
नेपाली कांग्रेसभित्रको राजनीतिमा शेरबहादुर देउवा र गगन थापाबीचको द्वन्द्व दुई व्यक्तिबीचको टकराव मात्र होइन, पञ्चायतकालीन परम्परागत शक्ति संरचना र रूपान्तरण खोजिरहेको जेनजी पुस्ताबीचको विचार र सत्ता संघर्ष हो ।
नेपाली कांग्रेसभित्रको राजनीतिमा शेरबहादुर देउवा र गगन थापाबीचको द्वन्द्व दुई व्यक्तिबीचको टकराव मात्र होइन, पञ्चायतकालीन परम्परागत शक्ति संरचना र रूपान्तरण खोजिरहेको जेनजी पुस्ताबीचको विचार र सत्ता संघर्ष हो ।
इतिहासमा दोस्रोपटक कांग्रेस फुटाएको अपजस बोकेर देउवा अब राजनीतिक जीवनको उत्तरार्धमा पुगेका छन् । जेनजी आन्दोलनमा कुटाइ खाए, तर राजनीतिक मैदान छाडेका छैनन् । सभापति बन्दिनँ, नेतृत्व गर्दिनँ भन्ने बताएका उनी अहिले आफूले अलग्याएको धारको नेतृत्वमा आफैं अनुकूलका नेतालाई अघि सार्ने मनस्थितिमा देखिन्छन् । उनका सारथीहरू भने धमाधम साथ छाडिरहेका छन् । उनी क्रमशः एक्लिँदै छन् ।
संगसंगै पत्नी आरजु राणा देउवासँग जोडिएका विवादले पनि उनलाई पछ्याइरहेको छ । माओवादी सशस्त्र द्वन्द्वदेखि राजतन्त्र र जेनजी आन्दोलनसम्मका फरक–फरक राजनीतिक उथलपुथलमा आलोचनाको केन्द्रमा परेका देउवाको राजनीतिक जीवन उपलब्धि र विवाद दुवैले भरिएको छ । राष्ट्र र लोकतन्त्रका लागि उनले गरेको योगदान जति चर्चामा रह्यो, सत्ताका क्रममा विवादित बनेका निर्णय र राजनीतिक कदम पनि उत्तिकै चर्चामा रहे ।
समानान्तर महाधिवेशनको तयारीमा जुटेका देउवामाथि प्रश्न छ—पार्टी विभाजनको अर्को अपजस बोकेर केही समयमै राजनीतिक दृश्यबाट ओझेल पर्दैछन् कि फेरि नयाँ शक्तिका साथ उदाउनेछन् ? फेरि उदाउने आधार तत्काल स्पष्ट देखिँदैन । जेनजी आन्दोलनपछि कमजोर बनेको कांग्रेसलाई थप कमजोर अवस्थामा छाडेर देउवा सक्रिय राजनीतिबाट विश्रामतिर जाने सम्भावनाको चर्चा पनि छ ।
गत १ असोजदेखि समानान्तर कांग्रेसको वडा अधिवेशन सुरु भयो । शुक्रवार देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा–१ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । महाधिवेशनबाट निर्वाचित सभापति स्वतः प्रतिनिधि बन्न सक्ने बाटो हुँदाहुँदै उनले वडा तहबाटै प्रतिनिधि बन्ने बाटो रोजे ।
विद्यार्थी आन्दोलनबाट विद्रोही नेतासम्म
देउवाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । उनी नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य हुँदै दोस्रो अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । पञ्चायतविरुद्धको आन्दोलनमा पटक–पटक पक्राउ परे र लामो समय जेल बसे ।
लोकतान्त्रिक आन्दोलनमा करिब एक दशक जेल जीवन बिताएका देउवा २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसभित्र तीव्र शक्तिमा आए । २०४८ सालमा कांग्रेस सरकार बनेपछि उनी गृहमन्त्री भए ।
त्यतिबेला कांग्रेसको नेतृत्व गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको वरिपरि थियो । देउवा त्यही संरचनाभित्र अर्को शक्ति केन्द्रका रुपमा चिनिन थालिसकेका थिए । अन्ततः गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद बढ्दै गयो । पार्टीभित्रको शक्ति संघर्षले उनलाई कांग्रेसको स्थापित नेतृत्वविरुद्ध उभिने नेताका रूपमा स्थापित ग¥यो ।
देउवाको प्रधानमन्त्री यात्रा पाँचवटा फरक राजनीतिक परिस्थितिबाट निर्माण भयो । २०५१ सालको मध्यावधि निर्वाचनपछि बदलिएको संसदीय अंकगणितमा देउवा पहिलोपटक प्रधानमन्त्री बने । उनले राप्रपासहितको गठबन्धन सरकारको नेतृत्व गरे । तर आफ्नै दलका सांसदको अनुपस्थितिका कारण विश्वासको मत गुमाएपछि २०५३ सालमा सरकारबाट बाहिरिए ।
गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पद छाडेपछि देउवा कांग्रेस संसदीय दलको नेता निर्वाचित भए र प्रधानमन्त्री बने । यही कार्यकालमा माओवादी सशस्त्र द्वन्द्व चर्किँदै गयो । सरकारले संकटकाल घोषणा ग¥यो । संकटकाल लम्ब्याउने विषयमा देउवा र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाबीच गम्भीर मतभेद भयो । पार्टीको निर्णयविपरीत सरकार अघि बढेको भन्दै देउवामाथि अनुशासनको कारबाही भयो । त्यसपछि २०५९ सालमा उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरे । निर्वाचन हुन सकेन । राजाले उनलाई प्रधानमन्त्रीबाट हटाए ।
राजा ज्ञानेन्द्रले फेरि देउवालाई प्रधानमन्त्री नियुक्त गरे । तर २०६१ माघ १९ गते राजाले प्रत्यक्ष शासन सुरु गर्दै देउवा सरकार हटाए । त्यसपछि देउवा नजरबन्दमा परे । शाही आयोगमार्फत उनीमाथि मेलम्चीसम्बन्धी अनियमितताको आरोपमा कारबाही अघि बढाइयो । सर्वोच्च अदालतले उक्त आयोग नै खारेज गरेपछि उनी रिहा भए ।
पार्टी फुटाएर पार्टीमै
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको शक्ति संघर्ष चरममा पुगेपछि देउवा पार्टीबाट निष्कासित भए । उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे र आफैं सभापति बने । यो कांग्रेसको इतिहासमा देउवासँग जोडिएको पहिलो ठूलो पार्टी विभाजन थियो । तर विभाजन लामो समय टिकेन ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनका कारण २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) एकीकृत भए । देउवा एकीकृत कांग्रेसमा वरिष्ठ नेताका रूपमा फर्किए । त्यसवेला फुटाउने मात्र होइन फुटेको कांग्रेसलाई फेरि जोड्ने नेताका रुपमा पार्टीभित्र उनको प्रसंसासमेत भयो । यसपटक पनि विभाजनपछि कुनै बिन्दुमा पुगेपछि देउवाले नै पुनः एकीकरणको बाटो खोल्छन् भन्ने झिनो आसमा छन् कांग्रेस शुभचिन्तक ।
२०६७ सालमा सभापतिको चुनावमा सुशील कोइरालासँग पराजित भएका देउवाले २०७२ सालमा १३औँ महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गरे । २०७८ सालमा १४औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई दोस्रो चरणमा पराजित गर्दै सभापति निर्वाचित भए ।
देउवासमक्ष सिमित विकल्पमात्र देखिदैछ–कांग्रेसभित्रै शक्ति पुनर्गठन गर्ने, पार्टीको स्थायी विभाजन गर्ने या राजनीतिक विश्राम लिने
२०७४ सालमा देउवा चौथोपटक प्रधानमन्त्री बने । पुष्पकमल दाहालसँग भएको सत्ता साझेदारीको सहमतिअनुसार उनले सरकारको नेतृत्व सम्हाले । २०७८ सालमा उनी पाँचौँपटक प्रधानमन्त्री बने । सर्वोच्च अदालतको आदेशपछि बनेको सरकारको नेतृत्व गर्दै उनले स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गराए ।
राजनीतिक गठबन्धनमा माहिर देउवाले पहिलोपटक राप्रपासँग सत्ता सहकार्य गरे । माओवादी द्वन्द्वका बेला माओवादीसँग वार्ता गरे । चौथो कार्यकालमा माओवादी केन्द्रसँग सत्ता साझेदारी गरे । पाँचौँपटक प्रधानमन्त्री बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनको नेतृत्व गरे ।
परिस्थितिअनुसार शक्ति समीकरण बनाउन सक्ने खुवी भएका देउवालाई आलोचकहरूले राजनीतिक सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने नेताका रुपमा व्याख्या गर्छन् ।
जेनजी आक्रोशको घान
२०७२ सालको संविधान कार्यान्वयनपछि पाँचपटक प्रधानमन्त्री बनेका देउवा २०८२ सालको जेनजी आन्दोलनपछि भने इतिहासकै कमजोर राजनीतिज्ञका रुपमा चिनिए ।
२४ भदौ २०८२ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारी प्रवेश गरेर श्रीमती आरजु राणा देउवासमेतलाई कुटपिट गरे । त्यसपछि देउवाले पार्टी सभापतिको पदमा नरहने घोषणा गरेर लामो समय बिदेश बसेर फर्किएर समानान्तर पार्टी सत्ताको गृहकार्यमा छन् ।
२०८२ को आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान जारी राखेको छ । सर्वोच्च अदालतले २०८३ जेठमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतबाट लिइएको अनुमति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनी हाल राजनीतिक गतिविधिमा केन्द्रीत छन् ।
देउवाको सबैभन्दा राजनीतिक टकराव अब नयाँ पुस्तासँग छ । गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ । देउवा पक्षले भने विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वलाई स्वीकार नगरी समानान्तर अधिवेशन सुरु गरेको छ ।
सर्वोच्च अदालतले यसअघि थापा नेतृत्वलाई मान्यता दिएको फैसला पुनरावलोकन गर्न अनुमति दिए पनि अघिल्लो फैसला तत्काल निष्क्रिय भएको छैन । अदालतले पुनः सुनुवाइका लागि निस्सा दिएको छ । यही कानुनी विवादबीच दुवै पक्षले आ–आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाएका छन् ।
पुराना सारथीमध्ये ठूलो समूह थापा नेतृत्वको कांग्रेसमा फर्किए पनि देउवाले मैदान छाडेका छैनन् । २०५९ सालमा पार्टी फुटाउँदा देउवासँग बलिया संगठनकर्ता र सारथि थिए । तर अहिले अवस्था फरक छ । उनले विश्वास गरेका अधिकांश सारथि गगन थापा कित्तामा पुगिसकेका छन् ।
अब देउवासमक्ष सिमित विकल्पमात्र देखिदैछ–कांग्रेसभित्रै शक्ति पुनर्गठन गर्ने, पार्टीको स्थायी विभाजन गर्ने या राजनीतिक विश्राम लिने । देउवाले यी मध्ये कुन विकल्प रोज्छन् भन्ने विषयले सबैभन्दा पुरानो र बलियो लोकतान्त्रिक दल कांग्रेससँगै परम्परागत राजनीतिक शक्तिको भविष्य निर्धारण गर्नेछ ।
सम्बन्धित समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
एमाले कार्यदलको तेस्रो प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय गायब
प्रदीपलाई छाडेर शंकर रोज्दा ओलीको दाँतमा ढुंगो !
अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सम्पन्न
संसद् बैठकमा रचना खतिवडा किन राेइन धुरुधुरु…
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली





