मुख्यमन्त्री शाहमाथि ५ लाख घुस मागेको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार भट्टलाई पत्र पठाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टिकरण, विपक्षद्वारा निष्पक्ष छानबिनको माग

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मुख्यमन्त्रीविरुद्ध घुस मागिएको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसको वास्तविकता स्पष्ट पार्न भट्टसँग जवाफ मागिएको हो ।

भट्टले एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । उनले सो रकम दिन अस्वीकार गरेपछि आफूलाई धनगढीस्थित डिभिजन वन कार्यालयबाट सरुवा गरिएको दाबी गरेका छन् ।

मन्त्रालयले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ ।

यता मुख्यमन्त्री शाहले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आवश्यक परे छानबिनका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच मुख्यमन्त्री शाहमाथि पाँच लाख रुपैयाँ घुस मागेको आरोप सार्वजनिक भएपछि उक्त विषयमा निष्पक्ष छानबिन गर्न माग उठेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्रीले आफूबाट पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छानबिनको माग गरेको हो ।

नेकपा संसदीय दलका नेता खगराज भट्टले एक कर्मचारीले सार्वजनिक रूपमा लगाएको गम्भीर आरोपलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । उनले यस्तो संवेदनशील विषयमा मुख्यमन्त्री स्वयं अघि बढेर छानबिनको पहल गर्नुपर्नेमा त्यसो नगरेको भन्दै प्रश्न उठाए ।

उनका अनुसार यस्तो विषयमा केवल सञ्चारमाध्यममार्फत स्पष्टिकरण दिनु पर्याप्त हुँदैन । संसदको सार्वजनिक लेखा समिति, प्रदेशस्तरीय अख्तियार लगायतका निकायमार्फत तथ्यगत छानबिन हुनुपर्ने उनले बताए । प्रतिपक्षले यस विषयमा खुला छलफल र संवाद चाहेको पनि उनले बताए ।

उल्लेखनीय छ, आर्थिक विवादकै कारण गत असारमा मुख्यमन्त्री शाहले तत्कालीन वनमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसयता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब