कांग्रेसको नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. प्रकाशरण महतले पार्टीभित्र स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेपछि महतले मानसिक र भौतिक रूपमा एकीकृत नहुँदा पार्टी बलियो बन्न नसक्ने र वर्तमान चुनौतीपूर्ण परिस्थितिमा यो अझ कठिन हुने स्पष्ट पारेका छन्।

उनले पार्टीभित्र फैलिएको निराशाको भावलाई सकारात्मक आशामा परिवर्तन गर्न आवश्यक रहेको पनि जोड दिएका छन्। निवर्तमान प्रवक्तासमेत रहेका महतले पार्टीमा सहमति र समन्वयको वातावरण निर्माणमा आफ्नो स्तरबाट योगदान गर्न सधैँ तयार रहेको बताएका छन्।

आम निर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उनको ठम्याइ छ । अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ । उनले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रस्ताव गरे ।

आगामी २२ गते अदालतबाट आउने निर्णयले कानुनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उनले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?