सुदूरपश्चिम प्रदेशसभाः हिउँदे अधिवेशन अझै अन्योलमा

धनगढी । कानुन निर्माण गर्ने प्रमुख थलोका रूपमा रहेको सुदूरपश्चिम प्रदेशसभा लामो समयदेखि निष्क्रियजस्तै बन्दा प्रदेशको समग्र शासन प्रणालीमै नकारात्मक असर देखिन थालेको छ । परम्पराअनुसार पुस–माघमै आह्वान गरिनुपर्ने हिउँदे अधिवेशन यस वर्ष भने अझै सुरु हुन सकेको छैन, जसले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको छ ।

गत वर्ष जेठ ११ गतेदेखि सुरु भएको बजेट अधिवेशन माघ २५ गते अन्त्य गरिएपछि नयाँ अधिवेशन बोलाउने’bout कुनै ठोस पहल भएको देखिएको छैन । प्रदेश सरकारले अधिवेशन सञ्चालनका लागि आवश्यक सिफारिस नगर्दा प्रदेशसभा लामो समयदेखि ठप्पजस्तै बनेको हो ।

प्रदेशसभा गतिविधि प्रभावित हुनुमा ‘जेन–जी’ आन्दोलन पनि एक प्रमुख कारणका रूपमा देखिएको छ । उक्त आन्दोलनका क्रममा प्रदेशसभा भवनमै आगजनी भएपछि लामो समयसम्म बैठक सञ्चालन हुन सकेन । भवन मर्मतपछि पुस दोस्रो साताबाट मात्रै बैठक सञ्चालन गरिएको थियो । त्यस अवधिमा जम्मा चारवटा बैठक बसेका थिए, जसमा तीनवटा विधेयक पारित तथा सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । त्यसपछि भने सरकारले अधिवेशन अन्त्य गरिदियो। हाल प्रदेशसभामा आठवटा विधेयक दर्ता अवस्थामा छन् । तर, सदन सञ्चालन नहुँदा ती विधेयकमाथि छलफल र पारित प्रक्रिया अघि बढ्न सकेको छैन । यसले कानुन निर्माण प्रक्रिया पूर्णरूपमा प्रभावित बनेको छ ।

प्रदेशसभाका विषयगत समितिहरू पनि निष्क्रियजस्तै बनेका छन् । नीति कार्यान्वयनको अनुगमन, मूल्यांकन तथा सुझाव दिने जिम्मेवारी पाएका यी समितिहरूको सक्रियता पछिल्लो समय निकै न्यून देखिएको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालमा कुल ६७ वटा कानुन निर्माण भएका थिए । जसमा ४४ नयाँ, १२ संशोधन र अन्य सालबसाली कानुन समावेश थिए । तर, दोस्रो कार्यकालमा भने हालसम्म केवल दुईवटा नयाँ कानुन मात्रै निर्माण भएका छन् । ती हुन् – सामूहिक राजस्व संकलन सम्बन्धी र प्रदेश स्थानीय तह गठन तथा सेवा सञ्चालन सम्बन्धी कानुन । यसबाहेक ६ वटा कानुन संशोधन र ६ वटा सालबसाली कानुन रहेका छन् ।

नयाँ आर्थिक वर्षको बजेट तयारीको समय नजिकिँदै गर्दा पनि अधिवेशन सुरु नहुनु थप चिन्ताको विषय बनेको छ । संसद् सञ्चालन नहुँदा बजेट कार्यान्वयन, खर्चको पारदर्शिता, तथा सुशासनका विषयमा प्रभावकारी छलफल हुन सकेको छैन । सांसदहरूले पनि सदन नचल्दा जनताका समस्या उठाउन नपाएको गुनासो गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल अधिवेशन आह्वान गर्न माग गरेको छ ।

नेकपा संसदीय दलकम उपनेता अक्कल रावलले प्रदेश सरकारको गतिविधि सुस्त रहेको आरोप लगाएका छन् । उनका अनुसार बजेट खर्चको अवस्था कमजोर बन्दै गएको छ र सरकार विभिन्न विषयमा आलोचित हुँदै गएको छ । ‘सदन नै नचल्दा सरकारले आफू माथि उठ्ने प्रश्नबाट बच्न खोजेको देखिन्छ,’ रावलले भने, ‘हामीले चैते दशैंपछि सदन सञ्चालन गर्न अल्टिमेटम दिएका छौं । त्यसपछि पनि अधिवेशन सुरु नभए थप दबाबका कार्यक्रम ल्याउनेछौं ।’

सुदूरपश्चिम प्रदेशसभाको लामो निष्क्रियताले कानुन निर्माण मात्र होइन, नीति निर्माण, कार्यान्वयनको निगरानी र सुशासनमा समेत गम्भीर असर पारिरहेको छ । समयमै अधिवेशन आह्वान नगरे यसले प्रदेशको विकास र प्रशासनिक कार्यक्षमतामा दीर्घकालीन असर पर्ने सरोकारवालाहरूको चिन्ता छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

सुधन गुरुङ गृहमन्त्री बन्दै