ओली र लेखकलाई आज अदालत लगिँदै


काठमाडौं । हिजो शनिबार बिहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज आइतबार प्रहरीले अदालत पेस गर्ने भएको छ ।

शनिबार अदालत बिदा भएकाले उनीहरूलाई आज प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीले दुवैलाई अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गरिने छ ।

ओली र लेखक दुवै जना प्रहरीको हिरासतमा छन् । ओली शिक्षण अस्पताल महाराजगन्जमा प्रहरी निगरानीमा छन् भने लेखकलाई महराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कार्की आयोगले लापरबाही र हेलचेर्क्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका पूर्वसीडीओ रिजाल पक्राउ