बर्दिया । रुकुम पश्चिम चौरजहारीमा भएको घटनाको विरोधमा बर्दियामा पनि प्रदर्शन गरिएको छ । जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिकालगाएतका स्थानमा दलित अधिकारकर्मीहरुको अगुवाइमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।
हत्यारालाई कारवाही गर, मानवअधिकारको रक्षा गर, घटनाको सत्यतथ्य छानविन गरलगायतका प्ले कार्ड र व्यानरसहित विरोध प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय र विभिन्न पालिकाका नगरप्रमुखहरु मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको नगर स्तरिय दलित उत्थान सञ्जाल ठाकुरबाबाका अध्यक्ष रामप्रसाद वादीले बताए । रुकुमको घटनाले सिंगो मानव समाज आक्रोशित हुनुका साथै दलित सञ्जाल स्तव्ध भएको र उक्त घटनाले संविधान र लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गरेको अध्यक्ष वादीले बताए ।
ज्ञापन पत्र बुझाउँदै दलित सञ्जालका अध्यक्ष रामप्रसाद वादीले अन्तरजातिय प्रेम सम्वन्ध र दलित भएकै कारण कथित माथिल्लो जातीबाट यस्तो अमानविय कार्य हुनु निकै दुखद भएको बताए ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा यही जेठ १० गते भएको घटनामा जाजरकोट भेरी नगरपालिका –४ राना गाउँका नवराज विकलगाएत ५ जनाको ज्यान गएको थियो । भेरी नगरपालिका–११ का एक जना अझै बेपत्ता छन् ।







